गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताएका छन् । उनले फेक इन्काउन्टर हल्ला मात्र भएको समेत बताएका छन् ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री बादलले ११ वर्षीय बालक निशान खड्का अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गरे ।
फेक इन्काउन्टर भएको चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘सरकारले आफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेका छन् ।’
गृहमन्त्री थापाले अपहरणकारीहरु प्रहरीको गोलीबाट मारिएकोमा सन्तोष प्रकट गर्दै भने, ‘२४ घण्टाभित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ, मूल कुरा त्यो हो । ’
यसैवीच गृहमन्त्री बादलले समयमै काम नगर्ने ठेकेदारहरुलाई सरकारले सचेत गराएको बताए । सरकारको कदमबाट ठेकेदारहरुले समयमा नै काम सक्ने गरी काम गर्ने तदारुकता देखाउन थालेको उनले बताए ।