नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को चीन र भारतभ्रमण तय भएको छ । स्रोतका अनुसार प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् भने असोज १ मा साता व्यापी चीन भ्रमणका लागि बेइजिङ जानेछन् ।
एमाले र माअोवादीबीच एकतापछि प्रचण्डको यो पहिलो राजनीतिक भ्रमण हुनेछ । प्रचण्डको भ्रमण पहिला आफ्नो देशबाट गराउने विषयमा काठमाण्डुस्थित भारतीय र चिनियाँ दूतावासले दौडधूप थालेका थिए । तर, प्रचण्डको पहिलो भ्रमण भारतबाट हुने तय भएको छ ।
भारत भ्रमणका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा छलफल गर्नेछन् । प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट गर्नेछन् ।
यस अघि गत जेठमा प्रचण्डले विकासका मोडलका बारेमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला कुराकानी गरेको भन्दै उनले समय लिएर विकासका एजेण्डामा कुराकानी गर्न आउन निम्तो दिएको पनि बताएका थिए । त्यसबेला नै प्रचण्डले छिट्टै आफू भारत र चीनको भ्रमणमा जाने तयारी गरेको पनि बताएका थिए ।
त्यसबाहेक प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकासका मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको जानकारी दिएका थिए । साउन दोस्रो साता नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले प्रचण्डसँग भेटवार्ता गरि चीन भ्रमणको निमन्त्रण दिएका थिए ।