उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नागरिकको गुनासो तत्काल सुनुवाइ गर्न टेलिफोन संवाद कार्यक्रम सुरु गरेका छन् ।
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पुनले शुक्रबारबाट सिधै नागरिकको गुनासो सुनुवाइ गर्न मन्त्रालयबाटै टेलिफोन संवाद गर्न सुरु गरेका हुन् ।
त्यस अवसरमा उनले देशका विभिन्न भागका नागरिकको गुनासो सुनुवाइ गर्दै जलविद्युत आयोजनाको परिचालनबाट सबै भेगका नागरिकलाई समृद्ध बनाउने योजना अघि सारे । मन्त्री पुनले हिमाल, पहाड र तराईका नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउन सरकारले झण्डै ३ हजार ५ सय मेगावाट क्षमताको १६ वटा जलविद्युत आयोजना छनौट गरेको उल्लेख गर्दै त्यसले जनतालाई समृद्ध बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
उनले विद्युत आपूर्तिलाई सहज बनाउन नेपाल विद्युत प्राधिकरणलाई चुस्त बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । मन्त्री पुनले विद्युत महशुल उठाउने विषयलाई सहज बनाउन थप गृहकार्य गर्ने आश्वासन पनि दिए ।
मन्त्री पुनसँग सेवाग्राहीहरुले जलविद्युत क्षेत्रको विकासमार्फत् जनतालाई समृद्ध बनाउने योजना के छ भनि टेलिफोनमार्फत जिज्ञासा राखेका थिए ।
यता, मन्त्री पुनले मुलुकलाई एकतावद्ध बनाउन पनि सबै क्षेत्रको जनताको सहभागितामा जलविद्युत आयोजना निर्माणको काम अघि बढाउने योजना अघि सारेको जवाफ दिएका थिए ।