सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद तथा संसदीय सुनुवाइ विशेष समितिकी सदस्य निरु पालमाथि भएको भनिएको सांघातिक आक्रमणबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद पालमाथिको आक्रमणबारे अनुसन्धान अगाडि बढाएको हो । बिहीवारको प्रतिनिधिसभा बैठकमा समेत सांसद पालले आफूमाथि आक्रमण भएको विषय उठाएपछि प्रहरीले अनुसन्धान शुरु गरेको हो ।
‘पीडित पक्षबाट उजुरी त आएको छैन । तर संसदमा समेत कुरा उठिसकेको भएकाले अनुसन्धान अगाडि बढाइएको हो,’ महागनरीय प्रहरी परिसर काठमाडौंका एक वरिष्ठ अधिकारीले लोकान्तरसँग भने, ‘यसअघि विभिन्न अपराधिक घटनामा संलग्न रहेका व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान अगाडि बढाइएको छ ।’
घटनाको अनुसन्धान गर्न सादा पोषाकमा ८० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । प्रहरीले घटनास्थलको सिसिटीभि फूटेज समेत चेक गरेर शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइरहेको छ ।
प्रहरीले बिहीवार अपराह्नसम्म ७५ जनालाई नियन्त्रणमा लिइसकेको छ । अझै थप व्यक्तिलाई नियन्त्रणमा लिइने प्रहरीले जनाएको छ ।
प्रहरीले यसअघि हतियार मुद्दामा पक्राउ परेर छुटेका, फरार प्रतिवादी र विभिन्न क्षेत्रमा टोले गुण्डाका रुपमा चिनिएका व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमध्ये केही राजनीतिक पार्टीका सदस्य समेत रहेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले उनीहरुको नाम उल्लेख गर्न नमिल्ने प्रहरीले जनाएको छ ।
सांसद पालले मंगलवार साँझ ८ ः १५ बजे दूध लिन बाहिर निस्किएका बेलामा आफूले बस्ने घर (बानेश्वर) क्षेत्रमा एक युवकले घाँटीमा पेस्तोल राखेर सुनुवाइ समितिको वैठकमा गए ज्यान मार्ने धम्की दिएको बताएकी थिइन् ।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको सुनुवाइ गरिरहेको अवस्थामा पालमाथि सांघातिक आक्रमणको प्रयास भएको घटना सार्वजनिक भएको हो ।