एक सिङ्गो दलित परिवार नै नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित रहेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर, यथार्थ यही नै हो ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं ५ मोहनपुरका गोनर सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्ने ठूलै कसरतमा छ । नेपालमै जन्मिएको र हुर्किएको भएपनि अहिलेसम्म उनले आफू नेपाली नागरिक भएको कुनै पहिचान पाउन सकेका छैनन् । यही चिन्ताले ४५ वर्षीय गोनरलाई निरन्तर सताइरहेको छ ।
घरकै मूली गोनरको नागरिकता प्रमाणपत्र बन्न नसक्दा ४५ वर्षीया श्रीमती अमिरका देवीको पनि बन्न सकेन । दम्पतीकै नागरिकता नभएर जेठो छोरो २८ वर्षीय सचिन्द्र, माइलो छोरो २१ वर्षीय रामकुमार, कान्छो छोरो १५ वर्षीेय सुनिल, बुहारी २५ वर्षीया आशा, छोरी १२ वर्षीया दुर्गा देवी, नातिनी १० वर्षीया सृजना, नाति ८ वर्षीय प्रेम र ५ वर्षीय सुरेन जन्म दर्ता र नागरिकता प्रमाणपत्रबाट वन्चित छन् ।
नेपाली भएको मुख्य पहिचान नागरिकता प्रमाणपत्र नै नपाएका उक्त परिवारका सबै सदस्य अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै प्रकारका सेवा सुविधाबाट वञ्चित छन् । स्थानीय साहुमहाजनकोमा खेतीपातीको काम गर्दै आएका गोनरले नागरिकता पाउन थुप्रै सरकारी निकायमा धाए । जता गएपनि आश्वासन बाहेक केही नपाएको गोनरको दुःखेसो छ ।
जन्मे लगत्तै कानूनी रुपमा राज्यका नागरिकहरुको फेहरिस्तमा नाम जोडिनु पर्छ र यो हरेक नागरिकको नैसर्गिक अधिकार हो । बुवा महेन्द्र सदाकै नागरिकता प्रमाणपत्र बन्न नसकेका कारण अहिले गोनरको पूरै परिवार नै पहिचानविहीन छ ।
उनी भन्छन् – ‘बुवाको नागरिकता नहुँदा मेरो जन्म दर्ता बन्न सकेन । अहिले मेरो नागरिकता नहुँदा श्रीमती, छोराछोरी, नातिनातिनीसम्मको पहिचान बन्न नसकेको हो ।’ जन्म दर्ता नबन्दा गोनरका छोराछोरीहरु विद्यालय पनि जान पाएका छैनन् भने नाति नातिनीले त्यो अवसर पाउने कुरै भएन ।
आर्थिक विपन्नताका कारण केही समय भारतको पञ्जाबमा काम गरेर परिवारका केही सदस्यसहित हालै फर्कनुभएका गोनर स्वदेशमै मिहिनेत गर्ने चाहना भएपनि नेपाली भएको कुनै पहिचान नहुँदा समस्या भइरहेको सुनाउनुहुन्छ ।
गाउँमा नागरिकता टोली आएका बखत पनि उनी पञ्जाबमै थिए । गोनर भन्छन् – ‘त्यति बेला छरछिमेकको नागरिकता बन्यो, हामी छुटिहाल्यौं ।’ त्यसयता नागरिकताका लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म सिफारिश पाउन धाउँदै गरे तर, पाउन सकेका छैनन्।
‘नागरिकताको सिफारिशका लागि जन्म दर्ता खोज्छन् तर, आफ्नो जन्म दर्ता छैन,’ अमिरका देवी भन्छिन् – ‘नेपालमै जन्मिए तर, नेपाली भएको कुनै प्रमाण नहुँदा आफ्नो जीवन नै व्यर्थ भएको महसुश भइरहेको छ ।’
नागरिकता नबन्दै ससुरा महेन्द्रको पाँच वर्षअघि मृत्यु भएपछि आफूहरु झन् समस्या फसेको अमिरका देवीको भनाइ छ ।
नागरिकता नहुँदा समाज र समुदायबाटै पनि अलग थलग हुनुपरेको पीडा उनीसँग छ । अमिरका देवी भन्छिन् – ‘नागरिकताकै अभावमा गाउँ स्तरमा बन्ने कुनै पनि समूहको सदस्यता पाउन सकिरहेकी छुइनँ ।’
यो समस्या सप्तरीको शम्भुनाथ नगरपालिकामा मात्रै होइन, सप्तरी र सिरहाका विभिन्न स्थानीय तहहरुमा विद्यमान रहेको पाइएको छ ।
सिरहा र सप्तरीमा जन्म दर्ता, विवाह दर्ता र नागरिकताको ठूलै समस्या पाइएपछि व्यक्तिगत घटना दर्ता तथा नागरिक शिक्षा कार्यक्रमसमेत शुरु गरिएको छ । युएसएडको सहयोगमा समग्र विकास सेवा केन्द्रले सिरहा र सप्तरीमा नागरिक शिक्षा तथा व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरेको छ ।
अभियानका क्रममा सिरहा र सप्तरीका विभिन्न स्थानीय तहमा नागरिकताबाट वञ्चित व्यक्तिहरुको तथ्याँक संकलन सँगसँगै नागरिकता बनाउन समेत पहल गरिने सेवा केन्द्र सप्तरीका संयोजक अरुण कुमार चौधरी बताउछन् ।
संयोजक चौधरीका अनुसार सिरहाको लहान नगरपालिका, कर्जन्हा नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिका, कञ्चनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका र कृष्णासबरण गाउँपालिकामा तथ्याँक संकलनको कार्य शुरु गरिएको छ ।
तथ्याँक संकलनसँगै स्थानीय जनप्रतिनिधि र सरोरकारवाला निकायका प्रतिनिधिहरुसँग स्थानीय तहमा देखिएको नागरिकतासम्बन्धी समस्या र नागरिक शिक्षाका बारेमा छलफल र अन्तक्र्रियासमेत गर्ने गरिएको छ ।
जन्म दर्ताबाट वन्चित व्यक्तिहरुमध्ये अधिकांशले यस्ता छलफलमा जन्म दर्ता प्रमाणपत्रकै अभावमा पढ्न नपाएको दुःखेसो पोखेका थिए ।
नागरिकता र जन्म दर्ताको महत्व नबुझेर पूर्वजले समयमै जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता प्रमाणपत्र बनाउन वेबास्ता गर्दा अहिलेको सन्ततिले नराम्ररी दुःख पाइरहेको सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ चौधरीले बताए । उनले भने –‘एकातिर जनचेतनाको अभावले नागरिकताको समस्या देखिएको छ भने अर्कोतर्फ २०६५ सालमा गाउँगाउँमा खटिएको नागरिकता टोलीले जथाभावी वितरण गरेको जन्मसिद्ध नागरिकताले पनि समस्या बढाएको छ ।’
उनका अनुसार टोलीले धमाधम जन्मसिद्ध नागरिकता वितरण गर्दा अहिले जन्मसिद्ध नागरिकता लिएका व्यक्तिका सन्तानले नागरिकता नपाइरहेको स्थिति देखापरेको छ ।
प्रमाण जुटाउन नसक्दा कतिपयलाई जन्म दर्ता र नागरिकता प्रमाणपत्रका लागि सिफारिश दिन कठिनाइ भइरहेको अनुभव सुनाउने हुने शम्भुनाथ नगरपालिका वडा नं ५ का वडाअध्यक्ष हिरण्य कुमार चौधरीले त्यस्ता परिवारको नागरिकता समस्या समाधानका लागि पहल भइरहेको बताउछन् ।