– प्रताप बानियाँ
स्थानीय उत्पादनप्रति चासो । उद्योगमा विभिन्न थरीका उत्पादनहरु । अग्र्यानिक उत्पादनको चाङ । ग्राहकको चाहना र माग । माग अनुसारका लोकल उत्पादन सङ्कलन । र सङ्कलित उत्पादनको बिक्रीवितरण । तालिम लिएपछि उद्यमी बन्नुपर्छ र स्वरोजगार हुनुपर्छ भन्ने भावना जागृत भएर सिस्नो पाउडर उत्पादनमा लाग्नुभएकी म्याग्दीको बेनी नगरपालिका–९, नेप्टेचौरकी गंगा खत्रीलाई अहिले अग्र्यानिक उत्पादन बिक्री गर्न भ्याइनभ्याई छ ।
२०५८ सालमा पहिलोपटक खेतबारी र खाली ठाउँमा खेरजाने सिस्नोको पाउडर उत्पादनसम्बन्धी तालिम लिएपछि व्यावसायिक रुपमा लागेर उहाँ अहिले उद्यमी बन्नुभएको हो । खेतबारी र वनजङ्गलमा खेर गैरहेको सिस्नो टिपेर पाउडर बनाई मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने तालिममा सिप सिकेपछि उहाँसहित ११ जना दिदीबहिनीहरु मिलेर सिस्नोको पाउडर उत्पादन गर्न लाग्नुभएको थियो । संगम म्याग्दी र लघुउद्यम विकास कार्यक्रममार्फत सञ्चालित तालिममा सहभागी भएर सिप सिकेपछि खत्रीले आफू ०६३ सालसम्म सिस्नो पाउडर उत्पादनमा लागेको बताउनुभयो ।
तालिम लिएर उद्यमी बनी स्वरोजगार हुन्छु भन्ने उद्देश्यले आफू व्यावसायिक रुपमा सिस्नो पाउडर उत्पादनतर्फ लागेको उद्यमी खत्रीको भनाइ छ । सुरुको चरणमा सिस्नोको पाउडर उत्पादनमा लाग्नुभएकी उहाँ संगम तथा डिमेगाले दिएको सिपमूलक तथा मार्केटिङसम्बन्धी तालिमपछि बजारीकरणतर्फ लाग्नुभयो । उद्यमी खत्रीसहित अन्य दिदीबहिनीहरुलाई सुरुसुरुमा गाउँमै पुगेर संघसंस्थाले सिस्नो पाउडर उत्पादनको बारेमा तालिम दिएका थिए । तालिम दिन भनेर गाउँमा पुगेका प्रशिक्षक सरहरुसँग सुरुमा नमस्कार गर्न र बोल्न डराउने उद्यमी खत्रीले तालिममा सहभागी भएपछि सिस्नोको पाउडर उत्पादन गरेर बिक्री गर्न सकेमा आम्दानी हुन्छ भन्ने थाहा पाउनुभयो ।
०६३ सालसम्म सिस्नो पाउडर उत्पादनतर्फ लाग्नुभएकी खत्री त्यसपछि बेनीबजारमा झरेर आफ्नै घरबाट सिस्नो पाउडरको बिक्री वितरण सुरु गर्नुभयो । खत्रीले बेनीको मङ्गलाघाटस्थित आफ्नै घरमा गलेश्वर मसला उद्योग स्थापना गरी सञ्चालनमा ल्याउनुभयो । मसला उद्योगका साथै उहाँले कुटानी पिसानीका लागि विद्युतीय मिल पनि सञ्चालन गर्नुभएको छ । पछिल्लो समय उहाँले गाउँमा सङ्कलन गरेको स्थानीय उत्पादनलाई आवश्यकता अनुसार कुटानी पिसानी गरेर बिक्री गर्दै आइरहनुभएको छ । उहाँले उद्योगमा विद्युतीय मिल जडान, सामान राख्ने टाँसी, तौल मेसिन, अन्य मेसिनका साथै उत्पादनसहित झण्डै तीनलाख रुपैयाँ लगानी गर्नुभएको छ । उहाँले उद्योगबाट महिनामै ५० हजारको कारोबार गर्नुहुन्छ भने मासिक रुपमा २० हजारभन्दा बढी बचत हुने गरेको बताउनुभयो । उहाँले आम्दानीबाट छोराछोरीको शिक्षादिक्षा र घरखर्च चल्ने गरेको बताउनुभयो । खत्रीका श्रीमान् रोजगारको सिलसिलामा विदेशमा कार्यरत हुनुहुन्छ ।
नेप्टेचौरमा उत्पादित सिस्नोको पाउडर प्याकिङ नगरेको होलसेल मुल्य तीन सयदेखि चारसय रुपैयाँसम्म मुल्य पर्ने गरेको उद्यमी खत्रीले जानकारी दिनुभयो । यसैगरी प्याकिङसहितको होलसेल चारसयदेखि पाँचसय रुपैयाँ र फुटकर प्रति प्याकेट पाँचसय रुपैयाँदेखि माथि मुल्य पर्ने गरेको उद्यमी खत्रीको भनाई छ । मागअनुसार प्याकेटमा १ सय ग्रामदेखि एक केजीसम्म सिस्नोको धुलो राखेर बिक्री गर्ने गरिन्छ । उहाँका अनुसार समूहमार्फत उत्पादित सिस्नो म्याग्दी जिल्लासहित विभिन्न ठाउँमा पुग्ने गरेको छ भने जिल्लामा हुने विभिन्न मेला महोत्सव जस्ता कार्यक्रमहरुमा प्रदर्शनी हुँदै आएको छ । समूहमा हाल विभिन्न १६ जना महिला उद्यमीहरु आबद्ध छन् । खेतबारीको डिल, कान्ला, खोल्सा र वनजङ्गलमा प्रशस्तै मात्रामा पाइने सिस्नोको कलिलो मुना टिपेर घाममा सुकाई प्रशोधन गरेर पाउडर उत्पादन गरिन्छ ।
तालिम दिन जिल्ला भ्रमणः
व्यावसायिक रुपमा सिस्नो पाउडर उत्पादनमा लाग्नुभएकी उद्यमी गंगा खत्रीले सिस्नो पाउडरको बजारीकरणका साथै यसको उत्पादनसम्बन्धी तालिम पनि दिनुहुन्छ । उहाँले सिस्नो पाउडर उत्पादनको तालिम दिन बागलुङमा पाँचपटक र उदयपुरको दुई ठाउँमा तीनपटक, प्युठान र पर्वत जिल्लामा तीनतीन पटक पुगेर महिलाहरुलाई तालिम दिएको बताउनुभयो । उद्यमी खत्रीले ती जिल्लाहरुमा सिस्नो पाउडर उत्पादनबारे विभिन्न प्याकेजमा तालिम सिकाउनुभएको थियो । उद्यमी बनेर विभिन्न जिल्लामा पुगी अरुलाई तालिम दिन पाउँदा आफूलाई धेरै नै खुशी लागेको उहाँले बताउनुभयो । उहाँले म्याग्दी जिल्लाको विभिन्न स्थानमा पनि सिस्नो पाउडर उत्पादनको तालिम दिएको र उद्यमीहरु तयार पार्नुभएको छ ।
उद्योगमा स्थानीय उत्पादनः
उद्यमी खत्रीको गलेश्वर मसला उद्योगमा विभिन्न प्रकारका स्थानीय उत्पादनहरु रहेका छन् । खत्रीले मसला उद्योगको टाँसीमा सिस्नोको पाउडर, फापरको पिठो, मकैको आटो, कोदाको पिठो, भाङ्गो, भटमास, सिमी, बोडी, केराउ, बेसार, मुलाको सिन्की, टिम्मुर लोकल जातको चामलसहितका ग्रामीण भेगमा उत्पादन हुने अग्र्यानिक उत्पादनहरु राख्नुभएको छ । उहाँको उद्योगमै ग्राहकहरु लोकल उत्पादन खरिद गर्न आउने र फोनबाटै अर्डर गर्ने हुँदा उत्पादित स्थानीय उत्पादनको बिक्री वितरणका लागि बजारको समस्या नभएको उद्यमी खत्रीले दावी गर्नुभयो ।
सिस्नो स्वास्थ्यका लागि फाइदाजनकः
हरिया सागपातमध्ये सिस्नोमा सबैभन्दा धेरै ‘भिटामिन ए’ नामक तत्व पाइन्छ । सिस्नोलाई तरकारी बनाएर खान सकिन्छ भने बिहान बेलुका दालमा मिसाई पकाएर समेत खान सकिन्छ । यसैगरी उमालेको एक गिलास तातोपानीमा एक चम्चा सिस्नोको धुलो मिसाएर खाएमा स्वास्थ्यलाई निकै फाइदा पुग्ने बताइएको छ । यसले विशेष गरी सुगर, जण्डिस, ग्याँस्ट्रिक, कब्जियत जस्ता रोगहरु निको पार्न महत्वपूर्ण भूमिका खेल्ने सिस्नो प्रयोगकर्ताहरु बताउँछन् ।
म्याग्दीमा उत्पादित सिस्नो विदेशसम्मः
म्याग्दी जिल्लामा उत्पादन हुँदै आएको सिस्नोको पाउडर बजार सदरमुकाम बेनी हुँदै पोखरा, काठमाडौं, बुटवलसहित देशका ठूल्ठूला शहर बजारका साथै विदेशको जापान, अस्टेलिया लगायतका देशहरुमा पुग्ने गरेको छ । जिल्लामा हुने मेला, महोत्सवमा सिस्नोको प्रदर्शन गर्ने गरिएको छ भने विदेश जानेहरुले खरिद गरेर लैजाने गरेका छन् । खासगरी सुगर, जण्डिस र ग्याँस्ट्रिक रोगबाट पीडितहरुले खोजीखोजी सिस्नो किनेर प्रयोग गर्ने गर्दछन् ।
पेशा व्यवसायबाट आत्मनिर्भर बन्नुपर्छः
निरन्तर रुपमा १५ वर्षभन्दा बढी समय सिस्नो पाउडर उत्पादन र बिक्री वितरणमा सहभागी महिला उद्यमी गंगा खत्रीले पेशा व्यवसायबाट आत्मनिर्भर बन्नुपर्ने सुझाव दिनुभयो । समाज तथा घर परिवारमा आर्थिक अभावकै कारण विशेष गरी महिलाहरुमाथी हिंसा हुनेहुँदा पेशा व्यवसायमा लाग्नुपर्ने उहाँले बताउनुभयो । उद्यम गरेपछि जीवन चलाउन धेरै सजिलो हुने भन्दै उहाँले भन्नुभयो– ‘पेशा व्यवसाय गर्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ ।’ सबैले पेशा व्यवसाय गरेर अगाडि बढेमा देशलाई पनि फाइदा पुग्ने उद्यमी खत्रीको भनाइ छ ।
सामाजिक क्षेत्रमा पनि सक्रियः
सिस्नो पाउडर उत्पादनमा सक्रिय उद्यमी गंगा सामाजिक क्षेत्रमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । गलेश्वर सिस्नो पाउडर उत्पादन समूह नेष्टेचौरकी अध्यक्ष रहनुभएकी उहाँ म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समितिको कार्यसमिति सदस्य, सौगात बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा म्याग्दीको सदस्य हुनुहुन्छ । व्यवसाय र सामाजिक संघसंस्थामा क्रियाशिल महिला उद्यमी खत्री महिलाहरुलाई आफ्नै क्षमता प्रदर्शन गरेर खानुपर्ने बताउँदै महिला आफै सक्षम भएर व्यवसायिक रुपमा आफ्नो खुट्टामा आफै उभिनुपर्ने बताउनुहुन्छ ।