आज नेपाल दोस्रो पटक विश्वप्रसिद्ध इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा उत्रिदै छ । क्रिकेटको ‘मक्का’ मानिने लर्ड्स मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टिम मार्लबोन क्रिकेट क्लब ९एमसिसी० र नेदरल्याण्ड्ससँग भिड्न मैदान उत्रिन लागेको हो । २ वर्षअघि यहि मैदानमा (एमसिसी) सँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एमसीसीलाई ४१ रनले हराएको थियो।
लर्ड्समा खेल्दा नेपालका लागि अर्को ऐतिहासिक क्षण हुँदैछ। किनकी लर्ड्समा हुने प्रतिस्पर्धा नेपालका लागि ३ वर्षछिको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ।
लर्ड्समा आइतबार नेपालले नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्न लागेको हो। सिरिज आइतबार नै सकिनेछ। पहिलो खेल नेदरल्यान्ड र एमसिसीबीच दिउँसो पौने ४ बजे हुनेछ। दोस्रो खेलमा नेपाल र एमसिसीबीच पौने ७ बजे हुनेछ। यस्तै नेपाल र नेदरल्यान्ड्सबीच राति १० बजे तेस्रो खेल हुनेछ।
खेललाई लिएर नेपाली टिमका कप्तान पारस खड्का निकै उत्साहित छन्। खड्काले आइतबार हुने खेल उत्कृष्ट हुने अपेक्षा छन् । यता नेपाली क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछाने यो वर्ष दोस्रो पटक लर्ड्स मैदानमा उत्रिदैछन्। सन्दीपले २ महिनाअघि विश्व ११ टिममा पर्दै लर्ड्समा भएको मैत्रीपूर्ण खेलमा मौका पाएका थिए। वेस्ट इन्डिजबिरुद्ध भएको खेलमा सन्दीपले बलिङको मौका पाएका थिए।
सिरिजलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले टी-२० अन्तर्राष्ट्रियको मान्यता दिएसँगै नेपालले ३ वर्षपछि पहिलो पटक टी-२० खेल्ने अवसर पाएको हो। यसअघि नेपालले पछिल्लो टी-२० पपुवा न्युगिनीसँग खेलेको थियो। डब्लिनमा भएको टी-२० विश्वकप छनोटको उक्त खेलमा नेपाललाई पपुवा न्युगिनीले ८ विकेटले पराजित गरेको थियो।
सन् २०१४ को टी-२० विश्वकपमा छनोट भएसँगै नेपालले टी-२० टिमको मान्यता पाएको थियो। त्यसपछि नेपालले ११ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्यो। जसमा नेपालले ३ खेलमा जित हात पार्दा ८ खेलमा हार बेहोरेको थियो।
लर्ड्समा खेलपछि नेपाली टिम नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। साउन १६ र १८ मा नेपालले नेदरल्यान्ड्सबिरुद्ध २ खेलको एकदिवसीय सिरिज खेलेर एकदिवसीय खेलमा डेब्यू गर्नेछ।
लर्ड्समा हुने टी-२०
एमसिसी भर्सेस नेदरल्यान्ड्स – दिउँसो ३ः४५ बजे
नेपाल भर्सेस एमसिसी – साँझ ५ः५० बजे
नेपाल भर्सेस नेदरल्यान्ड्स – राति १०ः०५ बजे
नेपाली टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल (विकेटकीपर)
अफिसियल
रमन शिवाकोटी (म्यानेजर र प्राविधिक विश्लेषक)
जगतबहादुर टमाटा (प्रशिक्षक)
दिनेश भट्ट (फिजियो)
सुवास पात्रो (ट्रेनर)
पछिल्लो केही वर्षमा नेपाली क्रिकेटले विभिन्न उपलब्धि हाँसिल गरेको छ । क्रिकेटका लागि आवश्यक पर्ने पूर्वाधारबिना नेपाली क्रिकेटरले यति ठूलो उपलब्धि हाँसिल गर्नु खुसीको कुरा हो । तर, अब सरकार जागरुक हुनुपर्छ । नेपालले अहिले क्रिकेटमा हाँसिल गरेको उपलब्धिलाई थप उचाइमा पुर्याउन अब सरकारले ढिलाइ गर्नुहुन्न । अहिले पनि खेलकुदमा लागि आवश्यक पर्ने पूर्वाधार बन्न सकेका छैनन् । तथापी नेपाली खेलकुदले विभिन्न उपलब्धि प्राप्त गर्दै आएको छ । यदि राम्रा खेलकुदका पूर्वाधार भए अझैं नेपाली खेलकुदले ठूलो उपलब्धी प्राप्त गर्न सक्छ ।
पछिल्लो केही वर्षयता नेपालमा सबैभन्दा चर्चा कमाएको क्रिकेट खेल छ । चर्चा कमाउनु पनि स्वभाविक छ । क्रिकेटमा नेपालले एकपछि अर्को सफलता हाँसिल गरिरहेको छ । यसकारण पनि नेपाली क्रिकेटले चर्चा कमाइरहेको हो । अझैं नेपाली क्रिकेटलाई उचाइमा पुर्यान सरकारले यो क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्छ ।