प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक अडानमा जिद्दि छन् तर स्वास्थ्यको मामलामा गम्भिर पनि । आफैं पनि मिर्गौलापीडित भएका कारण उनी स्वास्थ्यको गाम्भिर्यतालाई बुझ्ने भएकैले बुधबार मध्यराती सत्याग्रहमा रहेका त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीका प्रतिनिधिसँग कुुरो बुझ्ने कोशिश गरे । विहीबार सबै कुरा सुनेपछि उनले डा. केसीका माग सम्बोधन गर्न तयार भएपछि सरकार र केसीबीच सहमति भएको छ ।
डा. केसीको सत्याग्रहसँग जोडिएको नेपाली कांग्रेसको राजनीतिक अडानलाई गिराउनकै लागि प्रधानमन्त्री ओली कठोर देखिएका थिए । तर सवाल राजनीतिकमात्र नभएर केसीको स्वास्थ्यको पनि रहेको जानकारी उनले आफ्नी नीजि चिकित्सकबाट पाए । मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह यता केसीको समर्थनमा छिन् तर उनी प्रधानमन्त्री ओलीकी निजी चिकित्सक पनि हुन् । ओलीको मिर्गौलासम्बन्धी आउने समस्याको प्रारम्भिक सल्लाह शाहले नै दिने गर्छिन् ।
एकथरी केसीको पक्षमा आन्दोलित भएर सडकतिर र अर्कोथरी आन्दोलन दबाउन बलप्रयोग तिर लागेपछि शाह चिन्तित थिइन् । विग्रिएको वार्तालाई ट्रयाकमा ल्याउन उनले प्रधानमन्त्री ओलीलाई सुझाव मात्र दिइनन्, केसीको स्वास्थ्यको गाम्भिर्यताबारे सूक्ष्म जानकारी गराइन् । त्यसैले ओली आफैं समस्या समाधानको सक्रियताका लागि डा. केसीका प्रतिनिधिसँग संवादमा अग्रसर भएका थिए । फलतः त्यो सफल भयो ।
बुधबार रातभर उनले केसी प्रतिनिधि डा. अभिषेकप्रताप सिंह र सुरेन्द्र भण्डारीसँग समस्या समाधानको उपाय, डा. केसीलाई बचाउने उपायका विषयमा छलफल गरेका थिए । यहाँसम्मकी केसीका प्रतिनिधिलाई प्रधानमन्त्री ओलीले राजनीतिक अडान पनि कायम रहने र डा. केसी पनि बचाउने उपायका लागि संसदमा दर्ता रहेको विधयेकमा डा. केसीका माग संशोधन गरेर सम्बोधन हुनसक्ने सुझावअनुसार सहमति गराए । तर, विधेयक फिर्ता कांग्रेसको जीत र सरकारको हार हुने भएकाले गम्भिर बन्न पनि सल्लाह दिए ।
सबै स्वार्थमा अड्कीएका कारणले केसीका खास समस्याबारे प्रधानमन्त्री ओलीसम्म जानकारी पुराउने माध्यम भएका कारण पनि डा. शाह सुत्राधार बनिन् । उनले केसीको अवस्था पनि जाँच गरिरहेकीकारण ज्यान बचाउने मेडिकल उपचारहित राजनीतिक संवादको सेतु पनि बनिन् ।
डा. केसीले रगत जँचाउन समेत नमानेपछि डा. शाहले नै ४५ मिनेटसम्म उनकी ८० बर्षियामा आमा मित्रकुमारी केसीलाई ब्रिफिङमात्र गरेकी थिइनन्, आउनसक्ने समस्या र दुर्घटनाका बारेमा पनि जानकारी गराएकी थिइन् । आमा मित्रकुुमारीले भनेपछि केसी रगत परिक्षण गराउन तयार भएका थिए ।
यसरी नै डा. शाहले प्रधानमन्त्री र केसी दुवैलाई सहमति गराउन सफल भएकी छन् । सरकार आफ्ना अडानका केही बुँदा त्याग्न तयार भयो, डा. केसीका माग पनि सम्बोधन हुने निश्चित भएपछि कुरा मिलेको हो । यसको श्रेय न आन्दोलनकारी न सरकारी टोलीको लचकतामा जान्छ, दुवैतिरको गम्भिरतालाई बुझेर सहमति खोज्नका लागि पहल गरेकी डा. शाहलाई जान्छ ।