आम सञ्चारका ज्ञानलाई दैनिक पठनपाठनमा प्रयोग गर्न सकिने बेनीमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । आम सञ्चार, सामाजिक सञ्जालमा भेटिएका सकारात्मक क्रियाकलापलाई पाठ्यक्रममा जोडेर विद्यार्थीलाई नयाँ ज्ञान दिन सकिने बताइएको छ । सदरमु्काम बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय माविका आधारभुत तहका शिक्षकलाई लक्षित गरी सञ्चालन गरिएको एकदिने आम सञ्चार, न्युन मिडिया, सामाजिक सञ्जालको प्रयोग र समाचार लेखन सम्बन्धि जानकारी गराइएको थियो ।
तालिममा विद्यालय भित्र रहेका समाचारजन्य गतिविधिको पहिचान, समाचार के हो, समाचार कसरी लेख्ने ?, विद्यालय भित्र समाचारका स्रोत पहिचान, विद्यालयका गतिविधिलाई सञ्चार माध्यममा नियमित प्रकाशित तथा प्रशारण गर्ने लगाएतका विषयमा जानकारी गराइएको थियो । विद्यालयभित्र विद्यार्थीको फरक क्षमता तथा आविष्कार, उत्कृष्ट गतिविधिका बारेमा जानकारी आदानप्रदान गर्न सकेमा विद्यार्थीले समेत अतिरिक्त क्रियाकलपमा सक्रियता देखाउने विद्यायका प्रधानध्यापक डा.त्रिदेभ उपाध्यायले बताउनुभयो ।
सोही अवसरमा विद्यालयका संस्थापक सदस्य सुरत केसी र राजु केसीले आम सञ्चार, सामाजिक सञ्जालको सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक सञ्जालमा नकारात्मक संगै सकारात्मक गतिविधिले समेत प्राथमिकता पाएको बताउँदै विद्यालय भित्रका गतिविधिलाई अभिभावक समक्ष पुग्ने गरी आम सञ्चारको प्रयोग गर्नुपर्नेमा जोड दिए । तालिममा ३६ जना शिक्षकको सहभागिता रहेको थियो । तालिमको सहजिकरण प्रधानध्यापक डा.त्रिदेभ उपाध्याय, संस्थापक सदस्य सुरत केसी र पत्रकार हरिकृष्ण गौतमले गर्नुभएको थियो ।