(घनश्याम खड्का) सडकमा दिनभर यात्रा गर्दा शरीर शिथिल बन्छ । सडक किनाराको दृश्य उजाड देख्दा मन विरक्त बन्छ । जथाभावी भौतारिँदा आनन्द हुँदैन । मनलाई नयाँपन, अनुभव चाहिन्छ । आँखाले देखेको दृश्य र मनले गरेको अनुभवले आनन्द मिल्छ । यात्रा रोमान्चक बन्छ ।

हिमालपारी जिल्लाको मुस्ताङ पुगेपछि तपाईको दृश्यमा सबै नयाँपन हुन्छ । तर मुस्ताङ नपुग्दै लामो र अफ्ठ्यारो सडक छिचोल्नु पर्छ । कालीगण्डकी नदीसँगै लुकामारी गर्दै मुस्ताङतर्फ उक्लेको बेनी–जोमसोम सडक वारीपारीका दर्जन झरनाहरुले यात्रा झन् रामोञ्चक बनाइदिन्छ । बाह्रै महिना झर्ने यी झरनाहरु बेनी–जोमसोम सडकका गहना हुन् । पर्यटकीय महत्व राख्ने यी झरनाहरु पर्यटकले पदयात्रामा सितलता ताप्ने विसौनी समेत हुन् । बेनीबाट तीन किमी उत्तर लागेपछि भेटिन्छ, चमेरे झरना । छेवैमा छ, पुम्दीखोला छहरा । क्रमश: भेटिन्छन्, महभीर, टिमुरे, नारच्याङ्ग, रुप्से आदी । बेनी–जोमसोम सडकमा सवैभन्दा आकर्षक झरना हो, रुप्से झरना ।

रुप्से छहराको सौन्दर्यमा लठ्ठ पोष्टराज चापागाईले मत्तकासिनी छन्दमा रुप्से झरनाको बखान यसरी गरेका छन् : साँच्चै स्वर्ग आ’थ्यो रुप्से छहरामा….आँखै चीत खा’थ्यो रुप्से छहरामा………..।कालीगण्डकी नदी कटानले बनाएको धौलागिरी र अन्नपुर्ण हिमश्रृंखला बीचको ६ हजार ९ सय ६७ मिटर गहिरो खोँचलाई संसारकै गहिरो गल्छी ‘अन्धगल्छी’ मानिन्छ । त्यही अन्धगल्छीमा अवस्थित रुप्से झरनामा मोहित बन्ने कवि/कलाकारहरुले सयौँ कविता र चित्र कोरेका छन् ।

रुप्से छहरा नेपालको सुन्दर र मनमोहक झरना हो । २०३० सालमा नेपाल हुलाक टिकटमा प्रकाशित प्रशिद्ध रुप्से छहरा म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दानामा पर्छ । पर्यटक सुविधाका लागि रुप्से छहरासम्म पुग्न मोटरबाटोबाट रेलिङ सहितको बाटो र छहराको छेउमा भ्यू टावर बनाईएको छ । धौलागिरी र अन्नपुर्ण हिमालको नामबाट छोटकरीमा यो गल्छीलाई ‘अन्ध गल्छी’ नामाकरण गरिएको हो । अन्नपुर्ण तथा धौलागिरी हिमालको फन्को मारेर फर्केका पदयात्री तथा मुस्ताङ जाने हजारौँ यात्रुले यस छहाराको काखमा बसेर आराम गर्छन् । बेनी–जोमसोम सडकको ३० किलोमिटर दाना खण्डमा यो झरना अवस्थित छ ।

कालीगण्डकी करिडोरमा अवस्थित अर्को सुन्दर झरना हो, नारच्याङ छहरा । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ लेकगाउँबाट बेंशी गाउँमा झर्ने नारच्याङ छहरा अर्को आकर्षक झरना हो । नारच्याङ छहरामा साहसिक जलखेल क्यानुईङ गर्न सकिन्छ ।

नारच्याङ बेशींगाउँको सिरानमा अवस्थित छहरालाई जलमाफियाले आफ्नो नाममा दर्ताका थिए । तर स्थानियबासीले छहराको सौन्दर्य मास्न दिएका छैनन् । बाह्रै महिना उत्रै र उस्तै देखिने नारच्याङ झरनामा साँझ सूर्यको अस्ताउँदो प्रकाश पर्दा सप्तरंगी इन्द्रेणी पर्दा अझ मनमोहक देखिन्छ ।

अन्नपूर्ण गाउँपालिका–६ घारमा पर्ने टिमुरे झरना पनि बेनी–जोमसोम सडकमा अवस्थित छ । बेनी–जोमसोम चल्ने सवारी साधानबाट टिमुरेको खोलामा ओर्लेर दृष्यावलोकन गर्न सकिन्छ । धेरै अग्लो भीरबाट झर्ने भएकोले झरनाको पानी सिमलको फूल झै उडेको दृश्य मनमोहक देख्न सकिन्छ ।

अन्नपूर्ण गाउँपालिका–७ महभीरमा पर्ने बेनी–जोमसोम सडकको तिप्ल्याङ–भीरकाटे खण्डमा पर्ने महभीर झरना अर्को सुन्दर झरना हो । झरनालाई बेनी–जोमसोम चल्ने सवारी साधानबाट समेत सजिलै दृश्यावलोकन गर्न सकिन्छ ।

पश्चिम धौलागिरी गाउँपालिका–२ लुलाङमा पर्ने लुलाङ छहरा सुन्दर र आकर्षक छ । गुरिल्ला पदमार्गले परिचित बेनी–ढोरपाटन हुँदै रुकुम, रोल्पा र उपल्लो डोल्पा क्षेत्रमा पुग्न सकिने यस पदमार्गमा लुलाङ झरना पर्दछ । सुन्दर, शान्त र मनोरम लुलाङ झरना बाह्रै महिना एक नासको रहन्छ । हरियो जंगलकोबीचमा तीन खण्ड भएर झर्ने यो झरना गुरिल्ला पदमार्गको एकमात्र सुन्दर झरना हो ।

धौलागिरी गाउँपालिका–४ मुदीमा पर्ने धौलागिरी पदमार्गमा दर्जनबढी झरना अवस्थित छन् । मुदी बगरास्थित तातोपानी झरना र धौलागिरीको इटली वेस क्याम्प छेउको नौ तले झरना यस पदमार्गका सबैभन्दा आकर्षक र मनमोहक झरना हुन् । copyright: तस्बिरहरुःघनश्याम खड्का/ कान्तिपुर