आमरण अनशनमा बसेका डा. गोविन्द केसीको अनशन सोमबार २४औं दिनमा प्रवेश गरेको छ । १५औं पटकको उनको यो अनशन अहिलेसम्मकै लामो बनेको छ ।
यसअघि डा. केसीले सबैभन्दा बढी २३ दिनसम्म मात्र अनशन बसेका थिए । ११औं अनशनअन्तर्गत उनले गत वर्ष साउनमा २३ दिन लामो अनशन बसेका हुन् ।
अनशन बसिरहेकै बेला देशमा बाढीपहिरोले ठूलो धनजनको क्षति हुन थालेपछि उनले अनशन स्थगित गरेका थिए । यसपटक भने त्यो रेकर्डलाई पनि तोडेर डा. केसीको अनशन अहिलेसम्मकै लामो भएको छ । तर अझै डा. केसी र सरकारबीच संवाद अघि बढ्न सकेको छैन् । उनकाे स्वास्थ्य बिग्रिए पनि वार्ता भने सफल हुन सकेकाे छैन । प्रधानमन्त्री केपी शर्मा अाेलीले डा. केसीसँग वार्ता गर्न इच्छा देखाएकाे स्राेतले बतायाे ।
गत असार १६ गतेदेखि जुम्लामा अनशन बसिरहेका डा. केसीलाई सरकारले बलपूर्वक गत बिहीबार काठमाण्डु ल्याएको हो । अहिले डा. केसी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनशन बसिरहेका छन् ।
सरकारले संसदमा दर्ता गराएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने माग डा. केसीले राख्दै आएका छन् ।
सरकारले संसद्मा दर्ता गराएको विधेयकमा एउटा विश्वविद्यालयले ५ भन्दा बढी पनि सम्बन्धन दिन सक्ने, काठमाण्डु उपत्यकामा पनि मेडिकल कलेज खोल्न मिल्ने तथा अस्पताल सञ्चालन गर्नेबित्तिकै मेडिकल कलेज खोल्न मिल्ने व्यवस्था गरिएको छ । डा. केसीले भने यस विपरीतको माग राख्दै आएका छन् ।