सदरमुकाम बेनीमा मंगलबार प्रहरीले छापा मार्दा जुवाखालबाट ७ जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ कालिपुल स्थित पदम पुन मगरको घरमा तास खेलिरहेका अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक दिपक थापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले घरधनी पुन मगर सहित २४ हजार ६० रुपैयाँ बरामद गरेको प्रहरी निरिक्षक एवम् सुचना अधिकृत लोकेन्द्र बहादुर गुरुङले बेनीअनलाइलाइनलाई बताए ।
जुवातास विरुद्ध आक्रमक देखिएको प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरी शङ्कास्पद ठाउँमा छापा हान्दा पछिल्लो समय धमाधम जुवाडे पक्राउ परिरहेका छन्।प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढामगर जिल्लामा आए लगत्तै धमाधम जुवाडे पक्राउ पर्न थालेका छन् । ब्यवसायीक जुवाडेहरुको खोजीमा प्रहरीले साधा पोशाकमा टोली नै खटाएको जनाएको छ ।
बेनीबजारका विभिन्न पुराना अखडामा चोर बाटो प्रयोग गरी जुवाडे जाने गरेको प्रहरीको भनाई छ । बेनीबजारमा जुवातास खेलाएर समेत आम्दानी गर्ने अखडालाई ध्वस्त बनाउने भन्दै प्रहरीले नियमित गस्ती बाहेक पनि सुराकी पाएलगत्तै ठाउँमै पुग्ने गरेको छ । प्रनाउ बुढा मगरले गैरकानुनी क्रियाकलापलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताएका छन् । प्रहरीले जुवातास, लागूऔषध बेचबिखन, घरेलु मदिरा नियन्त्रण एवं न्युनीकरण कार्यक्रमलाई अगाडि सारेको छ । प्रहरीले बेनीबजारका विभिन्न होटल, चोक, कालिपुल, गलेश्वर लगाएतका क्षेत्रमा निगरानी बढाइरहेको छ ।