नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रमा महसुल बुझाउन आएका सेवाग्राहीले सोमबार दिउँसै कार्यालय बन्द देखे । लामो समयसम्म कार्यालयमा कर्मचारी नआएपछि खोजीकार्य गर्दा कार्यालय बन्द गरेको सूचना सटरमा टाँसेर कर्मचारीहरु दिनभरी जलजला गाउँपालिका–४, मिलनचोकस्थित सव–स्टेशन परिसरमा भोजमा रमाइरहेका थिए ।
भोजमा ब्यस्त रहेका कर्मचारीलाई पटकपटक कार्यालयमा आउन अनुरोध गर्दा समेत कार्यालय बन्द भएको जवाफ दिएपछि सेवाग्राही घर फर्किएका थिए । कार्यालयमा कार्यरत प्रशासन, लेखा, प्राविधिकसहित सबै फाँटका कर्मचारीहरुले एकजना सवारी चालकलाई मात्र कार्यालयमा कुरुवा राखेर सवस्टेशनमा पुगेका कर्मचारीले कार्यालय समयमै मदिरामा मस्त थिए ।
बिना जानकारी कार्यालय बन्द गरिँदा महशुल बुझाउन, मिटर बक्स लिन, विभिन्न योजनाको भुक्तानी लिन आएका सेवाग्राहीलाई समेत असारको अन्तिम दिन भएको भन्दै कुनैपनि काम नहुने बताएको एक सेवाग्राहीले बताए । विद्युत कार्यालयका प्रमुखले कर्मचारीको बचाउन गरेका छन् । उनले सबै काम सकेर भोजमा गएको प्रतिक्रिया दिएपनि दिउँसै कार्यालय बन्द गर्नुलाई बचाउ गरेका थिए ।
यता प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले कर्मचारीको गतिविधिलाई छानविन गर्ने बताए । जिल्लामा धेरै गुनासो आउने कार्यालयको रुपमा चिनिने विद्युत कार्यालयमा सेवाग्राहीलाई सेवा दिने, फिल्डमा समेत सेवा गरेवापत अनावश्यक सास्तीका गुनासो सुनिरहेको बेलामा कार्यालय समयमै बन्द गरेर भोज खान गएपछि सर्वसाधारणले चर्को आलोचना गरेका छन् ।
तस्विर सौजन्य सन्दिप शर्मा