डिल्लीप्रसाद गौतम
अहिले बागलुङ बजार क्षेत्रभित्र लामो समयदेखि व्यवसाय गर्दै आईरहेका व्यवसायीहरु तरंगित बनेका छन् । यहि मिति २०७५ साल जेठ १३ गतेको दिन बागलुङ नगरपालिका कार्यालयको हवला दिँदै बिना पोशाकका केही व्यक्तिहरु प्रहरीको साथमा फिल्मी शैलीमा प्रस्तुत भएर एकाएक व्यापारीका घरका पेटी र पसलमा राखिएका सामान खोसेर र धम्क्याउँदै सामान गाडीमा हाले । क्याम्पस रोडबाट शुरु भएको उक्त कार्य बागलुङ बजारको महेन्द्रपथको कालीगण्डकी फिल्म हलमाथि आईपुग्दा एकाएक रणभुमी जस्तो बन्न पुग्यो । सामान जफत गर्ने र मान जोगाउने व्यवसायी बीच तनाब र करिब–करिब हात हालाहालको स्थिती हुन पुग्यो । अन्तत्वगत्वा नगरपालिकाले पठाएका बफादार सिपाईहरु पछाडी हट्न बाध्य भएभने आक्रोशित व्यवसायीहरुले तत्कालै बजार बन्द गराउन पुगे ।
बास्तवमा बागलुङ नगरपालिकाले गर्न खोजेको कार्य पनि राम्रो नै थियो र व्यवसायीप्रति बागलुङ नगरपालिकाले हरेक निर्णय चाहे त्यो कालो प्लाष्टिकमुक्त नगर बनाउने अभियान होस वा व्यवसायिक करको बिषयमा वा वर्तमान निर्णयको कार्यान्वयन गराउने बिषय, हरेक नगरको निर्णय कार्यान्वयन गर्न सहयोग गरिरहेका छन् र गर्न तयार पनि छन् । तर असहमति केमा मात्रै होभने नगर भित्रका व्यवसायी अनाधिकृत पटक्कै छैनन् । उनीहरुले कर कार्यालय, घरेलु, उद्योग बाणिज्य संघ र स्वयम् बागलुङ नगरपालिकालाई र घर धनीलाई कर वा वहाल (भाडा) तिरेर बसिरहेका छन् । पोखरा, काठमाण्डौ र नारायणगड वा अन्य शहरमा जस्तो बागलुङमा फुटपाथे र झोले व्यापारी जहाँ सडकै कब्जा गरेर बसिरहेको अवस्था पनि छैन् । फरक यतिमात्र हो की आँफुले भाडा तिरेर बसेको घरको पेटीमा सामान राखेर बेच्ने चलन चाहिं बागलुङ बजारमा यथावत नै थियो । त्यो भन्दा बढि समस्या बागलुङ बजार क्षेत्रको निर्माण सामाग्री लामो समयसम्म सडक छेउछाउमा राखी छाड्ने, मालबहाक वा खाली ट्रक, ट्याक्टर, जिप, भ्यान बस लगायत स्कुटर, रिक्सा र मोटरसाईकल पार्किंङ गरि राख्ने समस्या बागलुङको प्रमुख समस्या हो । शुरुमा सवारी साधान र निर्माण सामाग्री व्यवस्थित गर्न सकिएमा स्वतः ८० प्रतिशत समस्या समाधान हुन्छ । दोस्रोमा चटपट व्यापारी, पान व्यापारी र ठेलावालालाई व्यवस्थित गरेमा १० प्रतिशत समस्या समाधान हुन्छभने बाँकी १० प्रतिशत समस्या घरपेटीका सामान हार्दिकता साथ अनुरोध गरेमा मात्रै व्यवसायीहरुले स्वतःस्फुर्त रुपमा आफै हटाउँछन् ।
बागलुङ बजारक्षेत्र जनसंख्याको चापसँगै दिनहुँ साँघुरिंदै छ । त्यसैमा पनि नगरपालिका बन्नुभन्दा पहिला वा तत्पश्चात समेत अदुरदर्शी मापदण्ड कायम गरी बनेका घर, बिद्युत र टेलीफोनका तारका कारणले अत्यन्तै साँघुरिएको अवस्था छ । त्यसैमा निर्माण सामाग्री, अव्यवस्थित पार्किङ र व्यापारीका सामानले अझै साँघुरिएको बिगतदेखि नै जनगुनासा आईनै रहेका छन् र त्यसैलाई सम्बोधन गर्न नगरपालिकाले उक्त कार्य कार्यान्वयनमा ल्याएको हो । फरक यत्ति हो कि एकदमै छोटो समयमा केवल १ दिनको माईकिङको आधारमा २४ घण्टे अल्टिमेटमको बहानामा नगरपालिकाले बिना पोशाकका कर्मचारी र प्रहरी प्रशासनको आडमा मादक पदार्थ सेवन समेत गरेका केही नगरपालिकाका प्रहरीको नाममा अत्यन्तै अभद्र व्यवहार प्रस्तुत गरि सामान जफत गरिएकोमा व्यवसायीहरुको आपत्ति रहेको छ । उक्त दिनको घटना पश्चात समेत यस घटनालाई केही सञ्चारकर्मी, केही पार्टिका भातृ संगठनका बफादार कार्यकर्ता र केही फेसबुके मित्रहरुले व्यवसायीलाई मानमर्दन गर्ने, व्यवसायी चरित्रमा दाग लाग्ने र केवल व्यवसाीलाई नगरपालिकाको बिरुद्ध लागेको देखाउने अनेक लान्छाना र टिका टिप्पणी गरेको पाईयो । यस घटनालाई केही व्यक्ति र समुहहरुले मौखिक वा बिभिन्न अनलाईन टिभीमार्फत राजनीतिकरण गर्ने प्रयास समेत गरियो । यो घटना विशुद्ध व्यवसायी थियो र नगरपालिकाको कर्मचारीको ज्यादतीबिरुद्ध मात्र थियो । तर यसलाई अतिरञ्जित गराईयो । यो व्यवसायीको लागि दुखद क्षण हो । बागलुङ बजार क्षेत्रका व्यवसायी अहिले आफै पीडित छन् । अनेक कर, महंगो घरभाडा, व्यापारमा गिरावटले मर्माहत बनेका व्यवासायीलाई यस घटनाले आँफै दुखित बनाएको छ । व्यवसायीहरु आफ्ना जनप्रतिनिधि, छाता संगठन र स्वयम् नगरपालिकाले पहल गरेमा व्यवसायी कारोवार बढिमा हातेमालोलाई असर गर्न सक्छ । त्यसैले सम्पुर्ण व्यवसायी र छाता संगठन उद्योग बाणिज्य संघ र बागलुङ नगरपालिका सहकार्यमा बा.न.पा.का हरेक गतिबिधिमा व्यवसायमा सहयोगी बन्न तयार छन् ।
बागलुङका व्यवसायीहरु छाता संगठन उद्योग बाणिज्य संघका गतिबिधिदेखी पनि सन्तुष्ट छैनन् । उक्त कुराको आभाष सोही दिन व्यवसायी र उद्योग बाणिज्य संघका पदाधिकारी बीचको बैठकमा देखिएको तिब्र आक्रोशले प्रष्ट नै गरि दिएको छ । जे होस उक्त दिनको घटनालाई व्यवसायी, छाता संगठन र नगरपालिका पधाधिकारी बीचको बैठकले एक दुखद अवस्था भनि सम्बोधन गरी नयाँ तरिकाले प्रस्तुत हुने निर्णय गरेकाले स्वागतयोग्य नै छ । तर दुःखद कुरा के छभने बजार क्षेत्रमा घरका पेटीका सामान जफत गरिरहँदा पेन्सन क्याम्प रोडमा पेन्सन क्याम्प सकिएको तिन दिन बितिसक्दा समेत बाहिरबाट आएका व्यपारीले सडक नै कब्जा गरी खुलेआम बेचिरहेका थिए । त्यसैले स्थानिय व्यपारीलाई एकै दिनमा सफाचट बनाउने र बाह्य व्यापारीलाई सडक नै कब्जा गरेर व्यवसाय सञ्चालन गर्न दिनुले ‘दालमा कुच काला है’ भन्ने उखानलाई चरितार्थ गरिदिएको छ ।
उक्त घटना जे जसरी घटेको भएपनि समग्र नगरपालिकाले गर्न खोजेको कार्य बागलुङ बजारलाई सुन्दर बनाउने अभियानमै केन्द्रित रहेको र व्यवसायीहरु पनि उक्त अभियानलाई सहयोग गर्न तत्पर छन् र गर्ने छन् । तर व्यवसायीको असहमति केवल प्रस्तुतीमा मात्रै हो । उक्त घटना पश्चात व्यवसायी आझै दुखीत छन् । व्यवसायीलाई आफुलाई आवश्यक पर्दा दुहुनो गाई बनाउने राजनीतिक दलका भातृ संगठन, केही सञ्चारकर्मी र दलका कार्यकर्ता वा स्वयम् नगरपालिका समेत व्यवसायी माथि यसरी एकोहोरो खनिनु र उनीहरुलाई फुटफाते, झोले र अपराधी सावित गर्न बिभिन्न मौखिक तथा अनलाईनमार्फत सडकै कब्जा गरेर बसे जस्तो व्यवहार गर्नुले व्यवसायीलाई अत्यन्तै दुखित र मर्माहित तुल्याईदिएको छ । उक्त व्यवहार र हर्कतलाई सच्चाउनु पर्ने व्यवसायीको माग रहेको छ ।
Previous Articleअ–हाईपोथेसिस पुस्तको समिक्षा
Next Article नदी कटान नियन्त्रण योजना सम्पन्न