राजेशचन्द्र राजभण्डारी
साइकल मन्त्री भनेर परिचित सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दिएको सम्पत्ति बिबरण हेरेपछि मलाई एउटा नेपाली पुरानो उखान याद आएको छ । ‘बाहिर–बाहिर लोकाचार भित्र–भित्र पोको पार’ भन्ने कुरा ठ्याक्कै मेल खाएको महसुस गरेको छु । हामीले भन्ने र गर्ने व्यवहार ठिक उल्टो छ । नेपाली जनताले ओली सरकारका मन्त्रीमध्ये सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई हेर्ने जुन राम्रो नजर थियो अहिले उनले पेश गरेको सम्पत्ति बिबरणले उनलाई हेर्ने नजर फेरिन पुगेको छ । हिजोका दिनमा आफुलाई सबैभन्दा बढी गरिब, आफुसंग सम्पत्तिको नाममा एउटा साइकल बाहेक केही नभएको भनेर चर्चामा आउन सफल लालबाबुसंग अहिले सरकारको मन्त्रीको हैसियतले कहाँबाट आयो १० टोला सुन र बैंक खातामा ५५ लाख नगद । सबै आश्चर्य चकित परेका छन् । सम्पत्ति बिबरण बुझाउने नेपालका प्रधानमन्त्री केपी ओली, मन्त्रीहरू रामबहादुर थापा, शक्ति बस्नेत, ईश्वर पोखरेल, रविन्द्र अधिकारी, प्रदिप ज्ञावली, जगत बिश्वकर्मा, थममाया थापा, बर्षमान पुन, गिरिराजमणी पोखरेल सबैको खातामा लाखौं रूपैयाँ, तोलाका टोला सुन भएको बिबरण निर्धक्क रूपमा राख्नुलाई सकारात्मक रूपमा लिनुपर्छ । तर यत्तिका पैसा कहाँबाट कसरी आयो भनेर प्रश्न गर्ने होभने जवाफ दिन सक्ने हैसियत अहिलेका मन्त्री महोदयसंग छ जस्तो लाग्दैन ।
हामी कुरा एउटा गर्छाैं व्यवहार चाहिँ ठिक उल्टो गर्ने भएको हुनाले देशमा विकास हुन नसकेको हो । जनताको विश्वास नभएको हो । साँच्चै नेपाली जनताले जसलाई बढी बिश्वास गर्छ त्यही नेताले जनतामाथि गम्भीर बिश्वासघात गरिरहेको छ । मलाई पनि शुरूमा अहिले भएका वामपन्थी गठबन्धनको सरकारका मन्त्रीहरूले कस्तो सम्पत्ति बिबरण बुझाउँछन् भनेर जिज्ञासा पनि लागेको थियो । बुझाउने सम्पत्ति विवरणमध्ये चर्चित राष्ट्रवादी मन्त्री लालबाबुको सम्पत्ति मात्रै पुरानो साइकल नै होला भन्ने धेरैलाई लागेको थियो । शुरूमा सम्पत्ति विवरण आउनासाथ सामान्य प्रशासन मन्त्री कै हेर्ने जिज्ञासा अनुसार हेरे । शुरूमा १० तोला सुन र ५५ लाख नगद भन्दाखेरी हैन कि विवरण फरक परेछ कि ५५ हजार हुनेमा झुक्याएर सुन्ना थप्ने काम भए छ भन्ने लागेको थियो । तर मन्त्रीको विवरण सहि रहेछ । हुनतः नेपालका सबैभन्दा गरिब प्रधानमन्त्री भनेर प्रचार भएका नेपाली कांग्र्रेसका पुर्वसभापति नेता सुशील कोइरालाको कोठाबाट लाखौं रूपैयाँ हराएको थियो । अनि मलाई खुशी पनि लाग्यो । साँच्चै नेपालका मन्त्री सबै धनी र सम्पन्न नै रहेछन् । त्यसमा पनि गरिब जनताका मन्त्री लालबाबु समेत अर्काभन्दा कम रहेनछन् । यसको लागि देशका राष्ट्रबादी प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुपर्छ । देशले धनी मन्त्री पाउनु भनेको देशमा भ्रष्टाचार नहुनु हो । अहिले भएको यत्रो लाखौं, करोडौ रकम र तोलाका तोला सुन कहाँबाट आयो भन्ने कुराको स्रोत पनि खुलाउन मिल्ने भए खुलाउँदा धेरै राम्रो हुने थियोे । देश र जनताको लागि जिन्दगीभर काम गरेको भनेर ठूलो भाषण गर्ने नेताको काठमाडौमा भब्य महल, बैंकमा लाखौं रकम हुनुलाई सकारात्मक रूपमा भन्दापनि नेपाली जनताले नकारात्मक रूपमा लिएका छन् । हिजोसम्म केही काम इलम नभएका ब्यापार ब्यबसायी नभएका नेतासंग कसरी कुन स्रोतबाट आयो भन्ने कुरा नै अचम्मको छ ? एमाले र माओबादी केन्द्रका चर्चित नेताहरूको सम्पत्ति भन्दा पनि त्यसलाई जोड्ने प्रबृत्ति नै अहिलेको सम्पत्ति बिबरण एकपछि अर्को थपिएको हो । साँच्चै सरकारले देश र जनताको लागि केही गर्ने होभने यस्तो प्रबृत्ति रोक्नुपर्छ ।
चीनका राष्ट्रपति सि जिङपिङले भनेका छन्– ब्यक्तिगत सम्पत्तिको लोभी कम्युनिस्ट पार्टिका सदस्य हुन सक्दैनन् भनेर । तर नेपालमा भने ब्यक्तिगत सम्पत्तिको लोभ गर्दै सुन गहना नजोडे कम्युनिस्ट पार्टीको सदस्य भैने भएपछि यसले चिनियाँ राष्ट्रपतिलाई पनि ब्यङ्य गरेको देखिन्छ । नेपालमा धेरै सजिलो छ कम्युनिस्ट बन्नको लागि । साँच्चै भन्ने होभने सर्बहारा बर्गको नेता बन्न अहिले न त पार्टीको नेता बन्न गाह्रो छ न त यसको सदस्य बन्न नै । कम्युनिस्ट पार्टी भन्ने त खाली नाम मात्रको भएको छ । नेपाली जनता सामु अझैपनि केही भ्रम छ । त्यही भ्रमको फाइदा नेपालमा आफुलाई कम्युनिस्ट भन्न मन पराउने पार्टीलाई सजिलो भएको छ । माक्र्सवाद, लेनिनपाद र माओबाद भन्ने कम्युनिस्ट पार्टीको मार्गदर्शन सिद्धान्त अहिले माने पनि हुने नमाने पनि हुने भएपछि धेरै सजिलो भएको देखिन्छ । नेपालमा अहिले पनि साना–ठुला गरि एक दर्जन कम्युनिस्ट पार्टी छन् तर तिनीहरू पनि अहिले सबै कुरा पुँजीवादी तरिकाले नै गइरहेको देखिन्छ । छिमेकी मुलुकदेखि बिदेशी मुलुकलाई समेत बिश्वास दिलाउन पनि आफ्नो पार्टीलाई मागी खाने भाँडो बनाएको देखिन्छ । मुलुकमा शक्तिशाली सरकारले
साँच्चै देश र जनताको पक्षमा केही गर्न सकेमात्र जनताले मुलुकमा सरकार भएको महसुस गर्ने छन् । हैन सरकार वामपन्थी सरकार छ भनेर कसरी महसुस गर्ने ठाउँ नै छैन । हिजोका दिनमा निर्वाचन हुँदा खेरी मसंग मात्रै साइकल छ, पानी किन्ने पैसा पनि छैन, म जनताको भर र मायामा निर्वाचन लडिरहेको छु भनेर कांग्रे्रेस नेता शेखर कोइरालालाई चुनौती दिएको ६ महिना नबित्दै जनताको नेता भनेर चिनिने लालबाबु पण्डितको लिला पनि छताछुल्ल भएको छ । बरू आफुसंग भएको सम्पत्ति राम्रो ढंगले सार्वजनिक गरेको भए राम्रो हुने थियो ।
देशमा सर्बहारा वर्गको नेताहरूलाई पनि बैंकमा लाखौं मात्रै हैन करोडौं रकम जम्मा गर्ने मात्रै हैन सार्वजनिक गर्ने रहर नै जागेको देखिन्छ । एकातिर कम्युनिस्ट पार्टीको नेताले सम्पत्ति पार्टीकरण गर्नुपर्ने भनेर बेला–बेलामा बहस हुने गर्छ अर्काेतिर नेपाल कै संविधानमा देशलाई समाजवादमा लैजाने भनेर लेखिएको छ । अर्काेतिर काम भने ठिक उल्टो भएपछि कसरी सरकार आफ्नो गन्तव्यमा पुग्न सक्छ । जनताले आशा गरेको नेताबाटै सुन र पैसा थुपार्ने काम गरेका छन् यसबाट पार्टीका अरू नेताले के सिक्ने ? सम्पत्ति जसरी थुपार्नु पर्छ भन्ने सिवाय अरू केही होइन भन्ने कुरा छर्लङ्ग भएको छ । एउटा नेताले कति सम्पत्ति राख्न पाउने भन्ने बारेमा नयाँ नीति बनाउन जरुरी देखिन्छ ।
Previous Articleराम्रो काममा स्वार्थको अवरोध
Next Article बेतिथी अन्त्य गर्न पहल थाल्छु–प्रजिअ खरेल