म्याग्दी, १२ जेठ– जिल्लाको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा शुक्रबारदेखि सुरु भएको दुई दिने घुम्ती शिवीरमा जिल्ला स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् । शिवीरमा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरुलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरि शुभारम्भ गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुन र प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढा मगरले संयुक्त रुपमा नागरिकताको प्रमाणपत्र प्रदान गरि शिवीरको औपचारिक सुरुवात गरेका थिए । शिविरमा नागरिकताको प्रमाणपत्र लिनेहरुको संख्या बढी देखिएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त शिविरमा नागरिकता वितरणसंगै जिल्लास्थित सरकारी कार्यालयबाट प्रवाह हुने सेवा सुविधाहरुलाई गाउँपालिकाको केन्द्र रहेको पोखरेबगरबाटै उपलब्ध गराईएको छ ।
शिविरमा ज्येष्ठ नागरिक परिचयपत्र लिन आएकी अन्नपूर्ण–७ हिस्तानकी गौसीरी शेरबुजाले बेनी पुगेर लिनुपर्ने सेवा गाउँमै लिन पाउँदा खुसी लागेको बताइन । त्यसैगरि शिवीरको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय र नेपाली सेनाको टोलीद्धारा निःशुल्क स्वास्थ्य परिक्षण एवंम औषधी वितरण र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट समेत आयुर्वेदीक उपचार सेवा प्रदान गरिएको छ । महिला तथा बालबालिका कार्यालयले अपांगता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरेका छन् ।
त्यस्तै जिल्ला भु–संरक्षण, बन, कृषि, पशु सेवा, सिचाई सब डिभिजन, मालपोत, नापी, विद्युत , खानेपानी तथा सरसफाई सब डिभिजन, जिल्ला प्राविधिक, घरेलु तथा साना उद्योग विकास समिति, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य विमा बोर्ड लगायतका कार्यालयहरुले आ–आफ्नो सुविधा एवम परामर्श सेवालाई शिविरबाटै प्रदान गरिएको छ । उक्त अवसरमा आएका नागरिकहरुलाई जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतनामुलक भिडियो प्रर्दशनी गरेको छ । ग्रामीण भेगका नागरिकहरुलाई पायक पर्ने ठाउँमै पुगेर सरकारी सेवा सुविधा उपलब्ध गराउने उदेश्यले घुम्ती शिवीरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । उनले आगामी साता मालिका र धौलागिरि गाउँपालिकालाई समेटेर दरबाङमा समेत घुम्ती शिविरको आयोजना गरिएको बताए ।
त्यस्तै अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन पुनले गाउँपालिका भित्र नागरिकता लिन नसकेकाहरुको सख्ंया बढी रहेको अवस्थामा गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविर आयोजना गरि नागरिकलाई सहज तरिकाले सेवा प्रवाह भएको बताए । भौगोलिक रुपमा विकटता रहेको अन्नपूर्ण गाउँपालिकाका नागरिकहरुले एकै ठाउँबाटै बहु सेवा लिन पाउँदा खुसी भएका छन् । सदरमुकाममा रहेका कार्यालयहरुको सेवा एकैठाउँबाट लिन पाउँदा नागरिकहरुमा समय र खर्चको समेत बचत भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अच्युत दाहालले बताए । शिविरमा सेवा लिन अन्नपूर्ण गाउँपालिकाको ८ वटै वडाबाट सर्वसाधारणको भिड लागेको छ । नयाँ संविधान र संघियताको कार्यान्वयनसंगै सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको अनुभुती दिलाउन घुम्ती शिविरले रचनात्मक सहयोग पु¥याउने अपेक्षा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलले बताए ।
Previous Articleदश विद्यार्थीलाई छात्रवृत्ति प्रदान
Next Article १२ जेठ २०७५, ढोरपाटन दैनिक