बागलुङ, ११ जेठ-लामो समयदेखी अन्धकारमा बस्दै आएका जैमिनी नगरपालिका ७ जैदीका अति विपन्न दलित समुदायका १८ घरधुरीलाई बुधवार विद्युतीय सामग्री वितरण गरिएको छ । वडा सदस्य केन्द्र रसाईलीको पहल र नेपाल विद्युत प्राधिकरण बागलुङको सहयोगमा मिटर, एउटा बक्स, एउटा एम.सी.वि, ३० मिटरको दरले सामग्री वितरण गरिएको हो । वडा सदस्य रसाईलीले दलित समुदायको आवश्यकता र पहिचानलाई मध्येनजर गरेर सामग्री वितरण गरिएको जानकारी दिए ।
उनका अनुसार, समुदायमा अति विपन्न भई लामो समयदेखी अन्धकारमा बस्न बाध्य भएका १८ घरधुरीलाई विद्युतीय सामग्री वितरण गरिएको हो । वडा कार्यालयले लक्षित बर्गको कार्यक्रम अनुसार सामग्री वितरण गरेको रसाईलीले बताए । विद्युतीय सामग्री वितरणका अवसरमा वडा अध्यक्ष जितवहादुर राना, वडा सदस्य केन्द्र रसाईली, कुमारी थापा राना र विमला सुनार लगायत सयौको उपस्थिती रहेको थियो । वडा अध्यक्ष रानाले दलित समुदायको आत्मबल बढाउन वडाले विभिन्न काम गर्ने बताए । उनले वडा कार्यालयले समुदायको पछि परेका बर्गको निम्ती काम गर्न उद्घोष गरे । कार्यक्रममा बोल्दै दलित वडा सदस्य केन्द्र रसाईलीले जीवनमा धेरै काम गरेको बताए ।