बागलुङ, ७ जेठ-सरकारले चुरे तथा भित्री मधेसका विभिन्न सहरलाई जोडेर १२ सय किलोमिटर लामो राजमार्ग बनाउने निर्णय गरेको छ । हाल सञ्चालित पूर्व–पश्चिम राजमार्ग भन्दा माथिल्लो पटी चुरे–भावर र भित्री मधेस छिचोल्दै मदन भण्डारी राजमार्ग बनाउने निर्णय आइतवारको मन्त्रिपरिषद्ले गरेको सूचना तथा सञ्चार राज्य मन्त्री गोकुल बासकोटाले दिए । विगतमा तराई–मधेस आन्दोलनका क्रममा मेची–महाकाली जोड्ने एक मात्र पूर्वपश्चिम राजमार्ग ठप्प हुँदा समस्या हुने गरेको थियो । सरकारले यो राजमार्गलाई झापाको शान्तिनगरदेखि सुरु गरेर डडेल्धुराको रुपालमा लगेर टुंग्याउने भएको छ ।
यो राजमार्ग तत्कालीन एमाले महासचिव मदन भण्डारीको नाममा बनाउन लागिएको हो । यो राजमार्ग झापाको शान्तिनगरदेखि सुरु भएर १२ सय किलोमिटर दुरी छिचोल्दै डडेलधुराको रुपालमा गएर टुंगिनेछ । झापाबाट सुरु हुने यो राजमार्ग धरान, चतरा, गाईघाट, कटारी, सिन्धुलीमाडी, हेटौँडा, गैँडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास, सिमलटारी, प्युठान मच्छी, घोराही तुलसीपुर र बोटेचौर हुँदै सुर्खेत बड्डी चौर पुग्ने छ ।
त्यसपछि सिमचौर बीपीनगर, कैलालीको सहजपुर, जोगबुडादेखि डडेल्धुराको रुपालसम्म पुग्ने गरी करिब १२ सय किलोमिटरको चुरे तथा भित्री मधेसलाई छुने मदन भण्डारी राजमार्ग बनाउन लागिएको हो । मन्त्री बासकोटाले यो राजमार्ग निर्माण गर्ने भौतिक तथा यातायात मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेसँगै अब निर्माणका लागि आवश्यक सर्भेदेखिका अन्य तयारी सुरु हुनेछन् । यसैबीच मन्त्रिपरिषद्ले संसदमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ।