काठमाडौं, ३ जेठ – एमाले–माओवादी केन्द्रबीच पार्टी एकता हुने दिन दुवै पार्टी अध्यक्षहरु निकै हौसिएका देखिन्थे । बिहीबर बिहान मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा एमालेसँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु उपस्थित भएका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत भइसकेका दाहालले आजै पार्टी एकता गर्नुपर्नेमा जोड दिएको बताए । ‘पार्टी एकता आजै हुनुपर्छ भन्ने मैले नै जोडबल गरेको हुँ,’ उनले मदन भण्डारीको सम्झना गर्दै भने, ‘यसले मदन भण्डारीको विचारको पनि सम्मान हुनेछ ।’
विभिन्न चरणको बैठकपछि निर्वाचन आयोगमा आजै पार्टी दर्ता गर्ने कार्यक्रम छ । पार्टी दर्ता गरेपछि संयुक्तरुपमा पत्रकार सम्मेलन गरिने तयारी छ । सम्बोधनकै क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी दर्तासँगै नेपालको नयाँ भविष्यको संकेत कोरिने बताए । उनले यो एकता पनि देशको विकासको लागि भएको बताएका थिए ।
कांग्रेसलाई सहयात्रीको रुपमा लिएको भन्दै ओलीले भने, ‘हामी अब फुट्न बिर्सिएँ, अब फुटाउन होइन, जुटाउन मात्र जानेका छौं । बिगार्न होइन, सपार्न मात्र जानेका छौं ।’ उनले सबै नेता तथा कार्यकर्ताहरुलाई दिउँसो ३ बजे प्रदर्शनीमार्गस्थित सभागृहमा हुने एमाले-माओवादी पार्टी एकता घोषणा कार्यक्रममा सहभागी हुनसमेत आह्वान गरेका छन्। उनले पार्टी एकता जनमतको बलमा दमन गर्न नभई विकास गर्नका लागि भएको बताएका थिए।
स्मृति दिवसकै कार्यक्रममा प्रधानमन्त्रीले जानकारी गराए अनुसार आजै १० बजे सुरुमा पार्टी एकता संयोजन समितिको बैठक बस्ने छ। त्यसपछि दुवै दलका आ–आफ्नो कार्यालयमा केन्द्रिय कमिटिको बैठक बसि एकताको प्रारुपलाई औपचारिक रुपमा पारित गर्ने छन्। त्यससँगै दुवै दलको संयुक्त केन्द्रिय कमिटिको बैठक बसेपछि आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने कार्यक्रम रहेको छ। र अन्तिममा राष्ट्रिय सभागृहबाट एकताको घोषणा हुने छ। स्मृति दिवस कार्यक्रममा दुवै दलका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो।
पार्टी एकताले मदन भण्डारीको विचारको सम्मान-प्रचण्ड
Previous Articleनोकिया एक्स सिक्स स्मार्टफोन सार्वजनिक
Next Article ३ जेठ २०७५, ढोरपाटन दैनिक