बागलुङ, ३ जेठ – वेस्ट इन्डिजसँग दुई हप्तापछि हुने टि-ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आइसिसीको विश्व ११ टोलीमा परेका छन्। विश्व ११ को टोलीमा सन्दीपसँगै इयोन मोर्गन, साहिद अफ्रिदी, तमिम इक्वाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लागन, सोएब मल्लिक, हार्दिक पाण्ड्या, थिसारा परेरा र लुक रोन्ची रहेका छन्।
जेठ १७ गते इंग्ल्याण्डको लर्डसमा हुने खेलका लागि आइसिसीले वेस्ट इन्डिजबाहेकका देशबाट खेलाडी छानेको हो। सन्दीप खेल्ने टिमको कप्तानी इंग्ल्याण्डका सीमित ओभरका कप्तान इयोन मोर्गनले गर्नेछन्। टोलीका सदस्यमा भारतका दिनेश कार्तिक र हार्दिक पाण्डेया, पाकिस्तानका साहिद अफ्रिदी र सोएब मलिक, बंगलादेशका तमिम इक्बाल,श्रीलंकाका थिसरा परेरा, न्यूजिल्याण्ड ल्युक रंकी र मिचेल मेकक्लेनेघन र अफगानिस्तानका रसिद खान छन्। वेस्ट इन्डिजको टोली क्रिश गेल, आन्द्रे रसेल, मार्लोन स्याम्युएल्स, कार्लोस ब्रेथवेट, एविन लेविस, स्याम्युल बद्री लगायत छन्।
‘म वेस्टइन्डिजविरूद्धको खेलमा आइसिसी विश्व ११ का लागि छनौट हुँदा आफूलाई भाग्यमानी ठानेको छु, यो सारा देश र नेपाली क्रिकेट प्रेमीको सम्मान हो। साथै हामीहरू अन्तर्राष्ट्रिय स्तर बनाउँदै गरेको छापको संकेत हो,’ टिममा परेपछि सन्दीपले भनेका छन्, ‘हामीले हुर्कँदै गर्दा टेलिभिजनमा देखेका ‘ट्रेन्ड सेटर’ हरूसँग सँगै अभ्यास गर्ने, एउटै ड्रेसिङ रूममा बस्ने र सँगै खेल्ने अवसरका लागि म प्रतीक्षारत छु। यो मेरा लागि सिक्ने र सुधार गर्ने अवसर हो। र यो अवसरको उपयोग गर्न म प्रतिवद्ध छु। विभिन्न आँधीले क्यारेबियन राष्ट्रहरूमा क्षति भएका रंगशालाको पुनर्निर्माणका लागि स्रोत जुटाउन खेल आयोजना गरिएको हो।
Previous Articleनेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता आज
Next Article २ करोड ५२ लाख नक्कली नोट बरामद