बागलुङ, १ जेठ – बागलुङ बजार क्षेत्रमा भैरहेको खानेपानीको दिर्घकालीन समाधानको गर्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले सहलगानी आयोजनाको काम अगाडी बढाएको छ । उपभोक्ताको आवश्यकता अनुसार पानी उपलब्ध गराउने उद्देश्यले ५७ करोड ५८ लाख रुपैयाँको लगानीमा आयोजना निर्माणको काम अगाडी बढाएको हो । यही साताभित्र आयोजना निर्माणको लागि बोलपत्र आह्वना गरिने कार्यालय प्रमुख शेखरचन्द्र केसीले जानकारी दिए ।
दुई वर्षभित्र आयोजनाको काम सक्ने गरी तयारी अघि बढाइएको छ । बानपा–३ कैलम पोखरी तलदेखि काठेखोलाको पानी ‘लिफ्ट’ प्रणालीबाट तानेर वितरण गर्ने बताइएको छ । उक्त आयोजना सम्पन्न भए प्रतिसेकेन्ड ७० लिटर पानी उपलब्ध हुने कार्यालय प्रमुख केसीको भनाई छ । हाल बागलुङ नगरमा प्रति सेकेन्ड २६ लिटर पानी उपलब्ध रहेको छ ।
नयाँ आयोजना सम्पन्न भए पश्चात चौविसै घण्टा पानी उपलब्ध हुने छ । आयोजना संचालनको लागि नेपाल सरकारले कुल लागनको ७० प्रतिशत र उपभोक्ताको तर्फबाट ३० प्रतिशत लगानी हुने छ । उपभोक्ताकोबाट आर्थिक संकलनको जिम्मेवारी बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गर्ने प्रबन्धक हिमाल शर्माले बताए ।
पानी वितरणको रात्माटामा ५ लाख लिटर र सुल्डाँडामा २ लाख लिटरको ट्याक्की निर्माण गरिने छ । नयाँ आयोजना निर्माण पछि २९ किलो मिटर नयाँ पाईप लाईन विस्तार हुने डिभिजन प्रमुख केसीको भनाई छ । कैलामपोखरीमा बन्ने प्रशोधन एकाइमा शुद्धीकरण भएको खानेपानी उक्त ट्याङ्कीमा जम्मा हुनेछ । आयोजनाबाट ६० हजार उपभोक्ता लाभान्वित हुने छन् ।
पुरानो आयोजनालाई पनि व्यवस्थित गरिने संस्थाका कार्यालय प्रमुख हिमाल शर्माको भनाई छ । डिभिजन कार्यालय र उपभोक्ता संस्था दुवैले संयुक्त रुपमा आयोजना निर्माणको अनुगमन गर्नेछन् । बागलुङ नगरपालिकामा २० वर्ष पुरानो आयोजनाका साथै केही वर्षअघि सुरु भएको दोस्रो साना सहरी खानेपानी आयोजना पनि सञ्चालित छ ।
अब बागलुङमा साढे ५७ करोडको लिफ्ट खानेपानी आयोजना
Previous Articleस्लेट खानी सञ्चालनमा नआउँदा राज्यलाई करोडौँको नोक्सानी
Next Article युवा र आर्थिक समृद्धिका कुरा