पर्वत, १ जेठ – पोखराबाट बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकल्पिक मार्गका लागि कालोपत्रे गर्न शिलान्यास भएको तीन वर्षसम्म पनि काम शुरु हुन सकेको छैन । पर्वतको कुश्मा नगरपालिका–२ छमर्केको घुम्तीदेखि लाम्पाटा-हिमालय मावि जोड्ने सडकमा काम हुन नसकेको हो ।
२०७२ फागुनबाट काम शुरु भएको घुम्तीदेखि हिमालय मावि हुँदै पाङ पुगेर उक्त सडक जलजला गाउँपालिका-८ को दम्भाखोलामा जोड्ने योजना थियोर । योजना अनुसार पोखरा-मालढुंगा-बेनी सडकको वैकल्पिक मार्गका रूपमा यो सडकलाई डबल लेनको बनाउने स्टिमेट सडक डिभिजन कार्यालयले गरेको थियो ।
डबल लेनको सडकको १२ मिटर कालोपत्रे, तीन|तीन मिटर सेड–ब्याक, दुईतर्फी नाली, कुश्मा–२ खुर्कोटको रिठेखोलामा पक्की पुल र अन्य ससाना खोल्सामा कल्भर्ट राख्ने योजना थियो । बहुवर्षे ठेक्का स्वीकृत भएको उक्त योजनालाई बागलुङको सडक डिभिजन कार्यालयले ठेक्का पनि लगायो । तर, तत्कालीन ठेकेदार डिबी तामाङले थोरै काम थालेर छाडे पनि हालसम्म योजनामा प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर काम अघि बढाउन डिभिजन कार्यालयले तदारुकता नदेखाएको स्थानीयको गुनासो छ ।
योजनाअनुसार बहुवर्षे ठेक्का स्वीकृत गराएर उतिबेलै रु ११ करोड बजेट विनियोजन भएको थियो । २२ किलोमिटर कालोपत्रे गर्न रु ५९ करोडको स्टिमेट थियोर । रु ११ करोड बजेट छुट्टिएपछि काम पनि शुरु भएको थियो । गत वर्ष उक्त सडकका लागि रु ४८ करोड स्वीकृत भएको पूर्वसांसद अर्जुनप्रसाद जोशीले जानकारी दिए ।
कालोपत्रे गर्न भन्दै पुरानो ट्रयाक भत्काएपछि हिउँदका केही महिना चल्ने सडकमा दुई वर्षयता यातायात आवगमन ठप्प जस्तै छ । ढुंगा र गिट्टीले पुरानो सडक पुरिएपछि यतिबेला पैदलयात्रीलाई हिँड्न पनि असहज छ । सडक कालोपत्रे हुने भएपछि स्थानीय सरोकारवालाको पहलमा दुई वर्षअघि रिठे खोलामा पुलको योजना प¥यो ।
योजनाअनुसार पुलको काम शुरु भएको छ । खुर्कोटकै व्यवसायी राजु पौडेलले जिम्मा लिएको पुल आगामी असार मसान्तसम्म सक्नेगरी धमाधम काम अघि बढेको छ । यो वर्ष धेरै क्षेत्रीय सडकमा स्वीकृत बजेट सरकारले कटौती गर्दा अन्य सडकको काम बनेन ।