बागलुङ, ३१ बैशाख– बडिगाढ–१ को गिरिङदी खोलाबाट उत्पादन भएको विद्युतले तीन दर्जन घरेलु उद्योग संचालनमा आएका छन्भने दुई सय युवालाई रोजगारी दिएको छ । सामुदायिक रेडियो सारथीले दर्जनलाई रोजगारी र लगानीको अवसर जुटाईदिएको छ । यो रेडियो लघुविद्युतबाटै संचालनमा छ । त्यस्तै यामबहादुर भुजेलले वडा नं. १ हाँडीखोलामा चिउरी हर्वल साबुन उद्योग खोलेका छन् । उनको उद्योगमा पनि ७ जनाले काम गर्ने अवसर पाएका छन् । राष्ट्रिय प्रसारण लाईनको विद्युत नपुगेको यो गाउँमा गिरिङदी खोलामा उत्पादित लघु विद्युतबाटै यस्ता ३४ व्यवसाय संचालनमा छन् । यहाँकै त्रिभूवन माविमा सूचना केन्द्र र कम्प्युटर शिक्षाको पढाई हुन्छ, यहीं सामुदायिक रेडियो सारथी पनि संचालनमा छ । यी सबै काममा पनि उक्त विद्युत खपत भएको छ । केन्द्रीय प्रसारण आउने पत्तो नभएपनि यहाँका ९ सय ५० घरले चौविसै घण्टा विजुली बाल्न पाएका छन् । स्थानीय उत्पादनलाई अधिकतम प्रयोग गरेर एउटै वडामा दुई सय युवा रोजगार बन्न सकेको आयोजनाका अध्यक्ष बेलबहादुर थापाले बताए ।
जिल्ला उर्जा तथा वातावरण शाखा र स्थानीयको चन्दाले २०६५मा निर्माण भएको यो बिद्युत उत्पादनपछि धमाधम यहाँ घरेलु प्रकारका उद्योग पनि संचालनमा छन् । एउटै वडामा ३४ वटा उद्योग संचालनमा आइरहेको आयोजनाका अपरेटर बोमलाल वनले तथ्यांक निकालेका छन् । यहाँ ग्रिल, चाउमिन, साबुन, कुखुरा पालन, सूचना केन्द्र, कोल्ड स्टोर, कुटानी पिसानी, फोटोकपी व्यवसाय र सामुदायिक रेडियो समेत संचालनमा आएको हो । ७५ किलोवाट क्षमताको आयोजनाले २४ घण्टे सेवा दिएको छ । आयोजनाले एक एम्पिएर सम्मको विद्युत बाल्नेलाई मासिक १ सय, २ एम्पिएरको १ सय ५०, ३ एम्पिएरको २ सय र ३ फेज लाईन राख्नेलाई ८ सय रुपैयाँ शुल्क तोकेको छ । अहिले ३ फेज लाईन राखेर उद्योग संचालन गर्ने ३५ जना पुगेका छन् । उनीहरुले आफ्नो व्यवसायसंगै कम्तिमा दुइ जना सम्मलाई रोजगारी पनि दिन सकेको वनले बताए । खरवाङमा एक दर्जन होटल पनि खुलेका छन् ।
ती होटलमा फ्रिज र पंखा चलाउन पनि यो विद्युत उपयोगी भएको छ । यहाँ सरकारी कार्यालयहरु र तालिम हल समेत छन् । ती हलमा मल्टिमिडियाको प्रयोग गरेर धेरै तालिम संचालन हुन्छन् । विद्युतको आपूर्तिकै कारण धेरै संघसंस्थाले यहाँ आफ्ना कार्यक्रम र तालिमका लागि उपयुक्त ठाउँ बनाएको स्थानीय माया केसीले बताईन् । ‘विजुली र मल्टिमिडियाको व्यवस्था छ भनेर गाउँपालिकामा हुनुपर्ने धेरै कार्यक्रम यही आउने गरेका छन्’ केसीले भनिन्, ‘गिरिङदी खोलाको आयोजना हामीलाई बरदान भएको छ ।’ विद्युतको सहयोगबाट फोटोकपी राखेर बस्नेले पनि मासिक २० हजारसम्म कमाउन सकेको उनले बताईन् । गाउँपालिका कार्यालय भने यहाँदेखि ७ किमी पश्चिम ग्वालीचौरमा छ । उक्त स्थानमा पूर्वाधार नभएकोले चाहेजस्तो गतिविधि गर्न सकिंदैन । इमेल इन्टरनेटको सेवाका लागि पनि गाउँपालिकाका धेरै मानिस यहाँ आईपुग्ने गर्छन् ।
विद्युतको परिप्रयोग गर्नमा जिल्लामै यो वडा अग्रणी स्थानमा रहेको जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णुप्रसाद भुषालले बताए । ‘केन्द्रीय प्रसारणको विद्युत भएको स्थानमा पनि यति धेरै घरेलु उद्योगहरु संचालनमा छैनन्’ भुषालले भने, ‘यहाँका मानिसले मेहेनत गरेर गाउँमा रोजगारीका अवसर बढाएका छन् ।’ यो विद्युत आयोजनालाई स्थानीयले सहकारी मोडलमा संचालन गरेका छन् । हरेक नागरिकले चाहेको खण्डमा शेयर राखेर नाफा कमाउन सक्ने भएकोले संरक्षण र अपनत्वको भावना पनि बढेको छ । स्थानीयले विद्युतबाट निस्केको पानीलाई सिंचाईमा प्रयोग गरेर उत्पादन पनि बढाएका छन् । यहाँ धान, मकै, गहुँ र तरकारी खेतीमा पनि धेरै किसान आकर्षित छन् । व्यवसायिक तरकारी खेती गरेका किसानले वार्षिक ४ देखि ७ लाख रुपैयाँसम्म कमाउन सकेको मिलिजुली कृषि समूहका अध्यक्ष शेरबहादुर श्रीषले बताए ।
Previous Article१२ वर्षमा २१ हजार कहाँ हराए ?
Next Article देशको अर्थतन्त्र तस्करको हातमा-गृहमन्त्री थापा