बागलुङ, ३० वैशाख-जिल्लाको खरवाङस्थि त्रिभूवन माविले कृषि तथा बाली बिज्ञान बिषयको पढाई शुरु गरेपछि विद्यार्थीको आर्कषणको केन्द्र भएको छ । कक्षा ९ र १० मा गरी ९० विद्यार्थी पहिलोपटक अध्ययन गरिरहेका छन् । प्राविधिक बिषय राख्ने क्रममा अन्यले कम्प्युटरको माग गरेका थिए । यो विद्यालयले भने कृषिको बिकासमा योगदान पु¥याउन विद्यालय तहमै कृषि पढाउनुपर्ने माग गरेको हो । शुरुमा अप्ठ्यारो मानेका विद्यार्थीले पनि कृषि बिषयको अध्ययनले उच्च शिक्षामा पनि कृषिनै पढ्ने चाहना पलाएको बताए । ‘सानो कक्षामा पढ्दा स्टाफ नर्स बन्ने चाहना थियो, अहिले कृषि बिषयनै बढेर देशको सेवागर्ने योजना बनाएँ’ कक्षा १० की प्रतिक्षा जिसीले भनिन्, ‘बुबा आमाले पनि कृषि पढेकोमा राम्रो मान्नु भएको छ ।’ यसरी पढेका विद्यार्थीले घरघरमा पनि कृषि नर्सरी र तरकारी फलाउन थालेको शिक्षक कमल पौडेलले बताए ।
कृषि बिषय राखेपछि विद्यालयले १२ रोपनी जमिन भाडामा लिएर तरकारी र फूल खेती शुरु गरेको छ । जग्गा पाएमा थप केही लिएर फलफूल र अन्य प्रजातीका कृषि फसलको नमूना उत्पादन गर्ने विद्यालयले योजना बनाएको छ । साथै विद्यार्थीले उत्पादन गरेका फसल बिक्रि गरेर छुट्टै कोष बनाएर अध्ययन अध्यापनमा खर्च गर्ने योजना समेत विद्यालयले बनाएको हो । आँफैले रोप्न र फलाउन पाउने अवसरलाई विद्यार्थीले आर्कषणका रुपमा लिएका छन् । ‘हामीले घरघरमा पनि फुल रोप्थ्यौं, तर त्यसको बैज्ञानिक नामसहित कामबारे थाहा थिएन, अहिले बुझ्ने मौका पाएका छौं’ त्रेता सारुले भनिन्, ‘माटोमा खेल्दा रमाईलो पनि हुने रहेछ ।’ अभिभावकहरु पनि छोराछोरीले कृषि पढेको देखेर दंग भएका छन् । ‘कृषि पढ्ने कुरा राम्रो हो, अब फेरी किसानलाई माया गर्ने समय आउने जस्तो लाग्यो’ स्थानीय कृष्णबहादुर बलामीले भने, ‘जति धनी भएपनि किसान नभए खान पनि पाईदैन ।’ आफ्ना बालबालिकाहरु आधुनिक र बैज्ञानिक किसान बनेर आईदिए खुसी लाग्ने उनले बताए । कृषि पढ्नका लागि कक्षा ८ पास गरेकाहरुलाई छुट्टै परीक्षा लिएर छनौट गर्ने गरिएको प्रअ ढालमणी भण्डारीले बताए । शिक्षणका लागि दुई जना शिक्षकको व्यवस्था गरिएको छ ।
विद्यार्थीको चाप
विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिएपछि त्रिभूवन माविमा विद्यार्थी खचाखच भएका छन् । धेरै सामुदायिक विद्यालयमा विद्यार्थी घटीरहेको समयमा यहाँ भने नीजि छाडेर आउने विद्यार्थी बढेका हुन् । बिद्यालयले कम्प्युटर शिक्षा, अंग्रेजी र नेपाली माध्यमको पढाई, विद्युतीय पुस्तकालयको व्यवस्था गरेपछि निजी विद्यालय छाडेर आउने क्रम बढेको प्रअ ढालमणी भण्डारीले बताए । बैशाखको भर्ना अभियानमा मात्र ६० विद्यार्थी निजी छाडेर आइसकेका छन् । अहिले विद्यालयमा ७ सय ८० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले गुणस्तर वृद्धिका लागि प्याकेजका कार्यक्रम ल्याएपछि विद्यार्थीको आर्कषणको केन्द्र बनेको भण्डारीले बताए । ‘हामीले विद्यालय बनाउनुपर्छ भन्ने चाहना राखेका छौं, समय कटाउन कसैले पनि खोजेका छैनौं’ भण्डारीले भने, ‘निजी श्रोतका शिक्षक राखेर भएपनि गुणस्तर विकासमा पहल गरेका हौं ।’ विद्यालयले अंग्रेजी माध्यम, प्रयोगात्मक शिक्षा, नियमितबाहेक अतिरिक्त बिषय र कक्षा संचालन गरेपछि धेरैको आर्कषण भएको हो । हाल यो विद्यालयमा १७ जना निजी श्रोतका शिक्षक छन् । अभिभावकले दिएको चन्दाको भरमा ती शिक्षकले तलब खान्छन् । विद्यालयले सबै कक्षामा अंग्रेजी माध्यममा पढाउने, नीजि विद्यालयको जस्तै नर्सरी, एलकेजी, युकेजी पास भएपछि मात्र कक्षा १ मा पुग्ने व्यवस्था गरेको छ । मावि तहमा अनिवार्य कम्प्युटरको पढाई पनि छ । विद्यालयले भर्ना अभियानलाई महोत्वस जस्तो बनाउने गरेको छ । ‘कक्षा कोठाको पढाईमा शिक्षकहरु बढी चासो राख्छन्, त्यसैले उत्तिर्ण दर पनि राम्रो छ’ व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद भुषालले भने, ‘प्रअदेखि सबै शिक्षक युवा भएकोले केही गरेर देखाउनुपर्छ भन्ने भावना पनि बढेको छ ।’ हरेक बर्ष ६० देखि ८० जनाले एसईई परीक्षा दिएर राम्रो अंक ल्याएर उत्तिर्ण समेत भएका छन् । गुणस्तर र उत्तिर्णदर राम्रो भएपछि अभिभावकले पनि निजी छाडेर सामुदायिकलाई नै रोजाई बनाएको बताए ।
Previous Articleधञ्जुसिहं अध्ययन केन्द्रबाट तीन राजभण्डारी सम्मानित
Next Article अशोक दर्जीको मन बिनाको धन सार्वजनिक