म्याग्दी, ३० वैशाख-धौलागिरि र अन्नपूर्ण हिमालको काखमा रहेको म्याग्दीलाई विश्वभर चिनाउने उदेश्यले ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ मनाउन सुरु गरिएको छ । जिल्लामा बाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले यस बर्षलाई म्याग्दी उद्योग बाणिज्य संघले भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीका पर्यटकीय क्षेत्रहरु ओझेलमा परेकाले म्याग्दी भ्रमण बर्षमार्फत यसलाई प्रचार प्रसार गर्ने र पर्यटन आगमन बढाउने लक्ष्य रहेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताए । ‘‘ म्याग्दीका अधिकाँश पर्यटकीय क्षेत्र अहिले पनि पर्यटकको पर्खाइमा छन्, यहाँ प्राकृतिक र धार्मिक पर्यटकीय सम्भावनासंगै कला, संस्कृति र परम्परालाई पर्यटनसंग जोड्ने हाम्रो योजना छ’’–अध्यक्ष कर्माचार्यले भने ।
वैशाख ३० गते धौलागिरि हिमाल आरोहण दिवसको अवसर पारेर औपचारिक रुपमा म्याग्दी भ्रमण बर्षको उद्घाटन गर्ने तयारि गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बिशेष उपस्थितिमा बेनीमा भव्य समारोह आयोजना गरि भ्रमण बर्षको सुभारम्भ गर्ने गरि तयारीलाई पुरा गरिएको संघले जनाएको छ । भ्रमण बर्षको उद्घाटन समारोहमा म्याग्दीका जातजातीको झाँकी सहित कला संस्कृति समेत पर्दशन गरिने संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए । यहाँको पर्यटकीय एवम् धार्मिक क्षेत्रहरुको प्रचार प्रसार गरि पर्यटन आगमन बढाउने उदेश्यले सुरु गर्न लागिएको म्याग्दी भ्रमण बर्षले यहाँको सम्भावना उजागर गर्न सहयोग पुग्ने उनको भनाई छ । उक्त अवसरमा कालिपुलमा सञ्चालनमा ल्याइएको पर्यटक सुचना केन्द्रको समेत उद्घाटन गरिनेछ । संघले एक बर्ष्भित्र गर्ने कार्ययोजना सहित भ्रमण बर्षलाई उपलब्धीमुलक बनाउने तयारी गरेको छ ।