पोखरा, २९ बैशाख– अन्तर्रा्ष्ट्रिय ताल सम्मेलन पोखरामा सुरु भएको छ । शनिबारसम्म चल्ने सम्मेलनको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरेका हुन् । सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले देशको बिकास र समृद्धिमा तालको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने,‘नेपालको विकास र समृद्धिका लागि पर्यटन प्रमुख हो, अनि पर्यटक भित्राउने ताल र हिमालले नै हो ।’ अध्यक्ष तिमिल्सिनाले पर्यटनको माध्यमबाट विकास र समृद्धि खोज्ने हो भने तालको संरक्षण, सम्बर्धन र प्रबर्धन आवश्यक रहेको भन्दै त्यसका लागि तत्काल कदम चालिनु आवश्यक रहेको औंल्याए । ताल पानीको श्रोत भएको बताउँदै पानी जीवन र जगतको लागि अत्यावश्यक भएको यसको संरक्षण अपरिहार्य रहेको बताए ।
उनले भने,’ताल किसानलाई सिंचाईका लागि, वनस्पतिलाई पारिस्थितिक प्रणालीका लागि, चराचुरुङ्गीलाई पिउन र खेल्नका लागि आवश्यक छ, त्यसैले यसको संरक्षणमा सबै लाग्नुपर्छ ।’ अध्यक्ष तिमिल्सिनाले ताल पुरिदै जाँदा जैविक विविधताको संरक्षणमा पनि चुनौति थपिएको बताए । उनले प्रदुषण र अतिक्रमणका कारण ताल संकटमा परेको बताउँदै ताल सम्मेलन ताल विकासको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले फेवातालको किनारमा ताल सम्मेलन चलिरहँदा स्वयम् फेवातालले आफूमाथी भएको अतिक्रमण र प्रदूषण रोक्न चित्कार गरिरहेको महशुष गरेको बताउँदै यसको ठोस उपलब्धीका लागि पहलकदमी लिन आवश्यक रहेको बताए । प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले तालसँगै पोखरीको पनि संरक्षण र प्रयोग सम्बन्धी कानून बनाएर कार्यान्वयन गर्ने तयारीमा प्रदेश सरकार रहेको बताए ।
उनले बिगतमा राजनीतिक अस्थिरताका कारण सम्भव नरहेको बताउँदै अब स्थानिय, प्रदेश र संघीय सरकार गरी तीनै तहका सरकार मिलेर योजनाबद्ध ढंगले ताल संरक्षणमा लाग्ने उल्लेख गरे । उनले तालको संरक्षण र प्रयोग दुबैलाई सही ढंगबाट अगाडि बढाउन आवश्यक रहेको बताए । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले ताललाई आम्दानीको श्रोत बनाउन सकेमात्र स्थानियले संरक्षमा चासो दिने बताए । पूर्व विज्ञान तथा प्रविधी मन्त्री गणेश शाहले पानी जीवन भएकाले यसको थोपा थोपाको महत्व भएको बताउँदै यसको संरक्षणमा बेलैमा सचेत हुन जरुरी रहेको औंल्याए । जापानीज प्रतिनिधि प्रो.डा.मासाहिसा नाकामुराले ताल संरक्षणमा पोखरा, नेपाल, दक्षिण एसिया वा कुनै ठाउँ विशेषको भन्दापनि यो विश्वकै लागि चुनौति भएको बताए ।
उनले ताल संरक्षणको चुनौती सामना गर्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए । नेपाल पर्वतारोहण संघका सचिव टिकाराम गुरुङले ताल पुरिदै जाने हो भने नेपालको पर्यटन संकटमा पर्ने चेतावनी दिए । उनले ताल संरषण नारामा मात्र नभई ब्यबहारमा देखिनुपर्ने भन्दै यसमा हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । शनिबारसम्म चल्ने सम्मेलनले पोखरा घोषणपत्र जारी गर्ने राष्ट्रिय ताल संरक्षण विकास समितिका अध्यक्ष नानीकाजी थापाले जानकारी दिए ।
उनका अनुसार सम्मेलनले ताल संरक्षणमा विभिन्न देशले भोगेका समस्या, ती समस्या समाधानमा देखिएका चुनौति, समाधानमा पाएको सफलताको अनुभव आदानप्रदान गर्दै निकट भविष्यमा ताल संरक्षणका लागि गर्नुपर्ने कार्यहरुको निश्कर्ष निकाल्नेछ । साथै यस सम्मेलनले सार्क स्तरीय ताल संरक्षण नेटवर्कसमेत बनाउने अध्यक्ष थापाले बताए । सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, चीन, जापान, म्यानमारलगायतका देशहरुको सहभागिता रहेको छ । सम्मेलनमा २१ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।
Previous Article२०७५ वैशाख २९ गते शनिबारको राशिफल
Next Article म्याग्दी सदरमुकाममा डिजिटल सूचना केन्द्र स्थापना