बागलुङ, २९ बैशाख–सरकारले यातायातमा क्षेत्रमा व्यवसायीको सिन्डिकेटविरुद्ध कार्वाही चलाइरहेका बेला सिन्डिकेटकै विरुद्ध स्थापित व्यवसायी ‘सरकारी सिन्डिकेट’को मारमा छन् । यातायात व्यवस्था कार्यालयले दिने सडक अनुमती (रुट प्रमिट)का विरुद्धमा स्थानीय प्रशासनले ‘सरकारी सिन्डिकेट’ खडा गर्दा व्यवसायीहरु मारमा परेका हुन् ।
यातायात क्षेत्रमा देखिएको सिन्डिकेटका विरुद्धमा ठूलो कष्टका साथ कम्पनीका रुपमा दर्ता भई धौलागिरी, गण्डकी क्षेत्रको सडक अनुमती (रुट प्रमिट) पाएको बागलुङ भगवती यातायात प्रा.लि.ले ‘सरकारी सिन्डिकेट’का कारण यातायात व्यवसायी मारमा परेको बताउँदै आएको छ । सिन्डिकेटको विरुद्धमा दर्ता भई सञ्चालनमा आएको प्रा.लि.ले सरकारले थालेको सिन्डिकेट विरुद्धको कार्वाही प्रक्रिया आफ्नै कारणले असफल हुने बताएको छ ।
भगवती यातायात प्रा.लि.का अध्यक्ष डिलबहादुर पराजुलीले रुट प्रमिट प्राप्त यातायात व्यवसायीलाई स्थानीय प्रशासनले पुनः रुट कायम गर्ने भएकाले यो सफल नहुने बताउँछन् । ‘हामी सिन्डिकेटका विरोधी हौं, ठूलो कष्टका साथ सिन्डिकेटको विरुद्धमा कम्पनी दर्ता गरेर सवारी सञ्चालन गरिरहेपनि सरकारी तर्फबाट हुने सिन्डिकेटका कारण समस्यामा छौं, गण्डकी र धौलागिरी अञ्चलको अनुमती पाएका हाम्रा गाडीहरु अहिलेपनि पोखरा प्रवेश गर्न पाएका छैनन् अनि कसरी सरकार सिन्डिकेटको विरुद्धमा छ भनौं’ पराजुलीले भने । धौलागिरि र गण्डकी अञ्चलका लागि अनुमती प्राप्त भगवती यातायात प्रा.लि. लगायत धौलागिरि क्षेत्रबाट चल्ने अन्य समितिका सवारी अहिलेपनि पोखराको जिरो किमीबाट अगाडि चल्न पाएका छैनन् ।
पहिले सिर्जनाचोकसम्म पुग्ने धौलागिरीका जीपलाई स्थानीय यातायात व्यवस्था समितिले अहिले जिरो किमीसम्म मात्र चल्न दिएकाले सडक छेउ काउन्टर राखेर यातायात सेवा दिइरहेका छन् । ‘सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्न चाहेको होभने, नियमानुसार सडक अनुमती पाएका सवारीलाई निर्वाध चल्न दिनुपर्छ, राज्यले अनुमती दिएका सवारीलाई तिमीहरु यहाँभन्दा अगाडि चल्न पाउँदैनौं भन्नु सरकारी सिन्डिकेट हो कि होइन ?’ उनले भने । यातायात व्यवस्था कार्यालय गण्डकी सवारी शाखाका प्रमुख अच्युत रेग्मीले हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वमा यातायात व्यवस्थापन समिति हुने भएकाले सोही समितिको निर्णयअनुसार सवारी साधनको रुट कायम भएको बताए । ‘पोखराको ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी पोखरा–लेखनाथ महानगरपालिका, स्थानीय प्रशासन, यातायात व्यवस्था कार्यालय, ट्राफिक कार्यालय, सुरक्षा निकाय सँगको छलफलबाट स्थानीय यातायात व्यवस्थापन समितिले बागलुङतर्फ छुट्ने सवारीलाई जिरो किमी, स्याङजातर्फ छुट्ने सवारीलाई छोरेपाटन र काठमाडौंतर्फ छुट्ने सवारीलाई तालचोकलाई केन्द्र बनाएर सञ्चालन गर्ने प्रावधान कायम गरिएको हो’ रेग्मीले भने ।
यातायात व्यवसायीहरुले भने स्थानीय यातायात व्यवस्था समितिले यातायात व्यवस्था कार्यालयको रुट प्रमिटविरुद्ध रुट कायम गर्ने परिपाटी नतोडिएसम्म सिन्डिकेट कायमै रहने बताएका छन् । ‘स्थानीय प्रशासन स्थानीय व्यवसायीकै पक्षमा हुन्छन्, हामीले पोखराको जिरो किमीमा जिप राखेर यात्रु लिन स्थानीय स्तरमा चल्ने ट्याक्सीको प्रयोग गर्नुपर्र्ने अवस्था छ, यसरी कसरी व्यवसाय धान्न सकिन्छ’ बागलुङदेखी पोखराका लागि बस चढेका एक व्यक्तिले भने ‘सर्वसाधारणलाई दुःख दिने खालको सकारी नियम पनि परिवर्तन हुनुपर्छ ।’
Previous Articleसरकारीमा नपढाए शिक्षकको तलब रोक्का गरिने
Next Article २८ वैशाख २०७५, ढोरपाटन दैनिक