बागलुङ, २८ बैशाख– जिल्लाको जैमिनी नगरपालिका–७ जैदीमा शंकास्पद क्षयरोगका बिरामीको खकार संकलन गरिएको छ । जैमिनी नगरपालिकाको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा जैदीका १ सय १५ जना शंकास्पद बिरामीको खकार संकलन गरिएको हो । क्षयरोग तथा कुष्ठरोग सम्बन्धी जनचेतनाको लागि नगरपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत शंकास्पद क्षयरोगीको खकार संकलन गरी परिक्षणको काम भैरहेको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेराका प्रमुख डा. बिजय शर्माले बताए । जैमिनी नगरपालिकाले पुराना केही क्षयरोगी रहेको र धेरै मानिसमा खोकीको समस्या रहेको स्थानलाई पहिचान गर्दै सम्भावित क्षयरोगका बिरामी पत्ता लगाउनका लागि वडा नं ७ जैदीमा पुगेर खकार संकलन गरेको जनाएको छ । स्वास्थ्य चौकीको पहुँचबाट निकै टाढा रहेको क्षेत्रमा पुगेर सम्भावित बिरामीको पहिचान गर्ने र उपचार गर्ने कार्यक्रम अन्र्तगत जैदीमा पुगेर खकार संकलन गरिएको शर्माले जानकारी दिए ।
लामो समय खोकी लाग्ने र सामान्यतया क्षयरोगका लक्षण रेहेका केही बिरामी तथा उनीहरुको परिवार र छिमेकीको समेत खकार संकलन गरिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेराका मेडिकल अधिकृत डा. बिजय शर्माको नेतृत्वमा जैदी पुगेको टोलीले खकार संकलन गरेर अहिले स्वास्थ्य केन्द्रमा परिक्षणको काम भैरहेको छ ।
परिक्षण भैरहेको खकारको बिस्तृत रिपोर्ट आउन ४ देखी ५ दिन लाग्ने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । बिरामीको चाप रहेको स्वास्थ्य केन्द्रमा अन्य बिरामीको ल्याब परिक्षण गरेर एक जना प्रबिधिकले एक दिनमा २० देखी २५ जनासम्मको खकार परिक्षण गर्न सकिने जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका क्षयरोग तथा कुष्टरोग सुपरभाईजर देवप्रकाश घिमिरेले बताए । संकलित खकारको नतिजा आएपछि क्षयरोगका बिरामी भेटिएमा निशुल्क औषधि उपचार गर्ने कार्यालयले जनाएको छ । खकार संकलनका लागि पुगेको टोलीले जैदीमा भेटीएका केही बिरामीलाई रुघाखोकी तथा क्षयरोगको औषधि समेत वितरण गरेको थियो । टोलीमा डा. बिजय शर्मा, देवप्रकाश घिमिरे र सफल शर्मा सहभागी थिए ।
त्यस्तै बागलुङ नगरपालिकाको आयोजना तथा जिल्ला जनस्वास्थय कार्यालयको समन्वयमा जिल्ला कारागार बागलुङका कैंदी बन्दीहरुको खकार संकलन गरिएको छ । भीडभाड हुने र धेरै मानिसको आवतजावत हुने स्थानमा क्षयरोगको संक्रमण हुन सक्ने भएकाले कारागारमा रहेका कैंदीहरुको खकार परिक्षण गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कारागारमा रहेका ७२ जना पुरुष, ६ जना महिला कैंदीबन्दी र १ जना सुरक्षाकर्मीको खकार संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका ल्याब टेक्नीसियन डिल्ली आचार्यले बताए । उनीहरुको खकार परिक्षणका लागि अञ्चल अस्पताल लगिएको छ । संकलित खकारमा क्षयरोग रहे नरहेको बिषयमा दुई दिनपछि आउने परिक्षणको नतिजाले बताउने जिल्ला जनस्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग सुपर भाईजर देवप्रकाश घिमिरेले बताए ।
Previous Articleमुक्तिनाथको फेदीमा होम–स्टे
Next Article सरकारीमा नपढाए शिक्षकको तलब रोक्का गरिने