म्याग्दी, २७ बैशाख– जिल्लाको मंगला गाउँपालिका–१ कुहुँको खानीगाउँमा रहेको अचम्मको मूर्तिसहितको गुफा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ । गुफामा विभिन्न आकृतिका मूर्ति भेटिए पनि संरक्षण र पूर्वाधारका लागि बजेट अभावले गुफा ओझेलमा परेको हो । गुफामा विभिन्न जनावरका आकृति, पक्षी, हातहतियार, हिमशृंखला, देवीदेवताको आकृति रहेका छन् । पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पनि भित्री भाग तीनदेखि चार मिटरसम्मको उचाइमा फैलिएको स्थानीय याम बुढाथोकीले बताए । “यहाँको प्रचारप्रसार भौतिक पूर्वाधार निर्माणमा बजेटको आवश्यकता छ ।
स्थानीयको प्रयासले मात्रै सम्भव छैन” रोकाले भने । स्थानीयले गुफाको संरक्षणका लागि विभिन्न क्षेत्रमा पहल गरिरहेका छन् । जिल्लाभित्र र अन्य ठाउँमा जानकारी नभएकाले गुफा ओझेलमा परेको उनीहरुको भनाई छ । घाँसदाउरा खोज्न जाने क्रममा भेटिएको मूर्तिको छदेखि सात सेन्टिमिटर माथि मूर्तिको शिरमा तीन÷चार सेकेण्डको फरकमा पानीको थोपा झर्ने गरेको स्थानीय उदय रोकाले बताए । आसपासका क्षेत्रमा अझै धेरै मूर्ति र ठूलो गुफा भएको अनुमान स्थानीयले गरेका छन् ।
गुफामा विभिन्न किसिमका मूर्ति भेटिएपछि मंगला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष क्याप्टेन डेकबहादुर राम्जालीले संरक्षण गर्दै धार्मिक क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कुहुँका विभिन्न स्थानमा गुफा तथा ओढार रहेका छन् । कुहुँकै टोड्केमा स्वर्गद्धारीको शाखा आश्रमसमेत रहेको छ । गाउँपालिकाले गाउँमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा पूर्वाधार विकासमा समेत बजेटलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । कुहुँ धार्मिकस्थल भएकाले पनि स्वर्गद्वारीको आश्रम आसपासका क्षेत्रमा अझैपनि पुराना मूर्ति र संरचना रहेको हुनसक्ने अनुमान गरिएको छ ।
Previous Articleहराएका पिलपिल जुनकिरी खोज्दै
Next Article स्तरोन्नतिका लागि बागलुङ–पोखरा सडक ६ घण्टा बन्द