बागलुङ, २३ बैशाख– ढोरपाटन शिकार आरक्षमा केही बर्ष अघिदेखि शुरु भएको रेडपाण्डाको गणना फेरी रोकिएको छ । दुर्लभ मानिने रेडपाण्डाको गणना नगरिंदा चोरी शिकारीको क्रम बढ्ने संभावना बढेको स्थानीय चासो छ । प्रशस्त मात्रामा देखिने भएपनि संरक्षण अभावमा चोरी शिकारीबाट मारिने क्रम बढिरहेको आरक्षण कार्यालयको तथ्यांक छ । ‘हरेक बर्ष कति मारिन्छन्, कति छन् भन्ने प्रष्ट छैन’ प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने, ‘गणना गर्ने भनियो, तर प्राविधिक कारणले रोकिएको थियो, अझै शुरु भएको छैन ।’ सुरक्षाका लागि बागलुङतर्फ नेपाली सेनाको हनुमानध्वज गुल्म बसेको छ । तर ठूलो क्षेत्र ओगटेकोले समय समयमा चोरी शिकारी बढीरहेको उनले बताए ।
गुल्मले पनि अनुगमनको क्रममा चोरी शिकारका लागि प्रयोग हुने पासो, छाला र हाड बरामद गरिरहेकोले चोरी नरोकिएको गुल्मपति अमरजंग बस्नेतले बताए । आरक्षले बेलायती संस्था रुफर्डको सहयोगमा पहिलो पटक भन्दै तीन बर्ष अघि गणनाको तयारी गरेको थियो । आरक्षमा रहेका ७ वटै ब्लाकमा रेडपाण्डा देखिने गरेको बस्नेतले बताए । ‘हामीले गस्तीको समयमा पनि देखेका छौं, तर चोरी शिकार बढीनै रहेछ’ बस्नेतले भने, ‘नियन्त्रणका लागि सेनाले कारवाही गर्ने वा गस्ती गर्ने मात्र समाधान होइन्, आम जनतालाई संरक्षणबारे जागरुक पनि गराउनुपर्छ ।’ आरक्ष कर्यालयमा सिमित जनशक्तिले सबै ब्लकको नियमित काम मात्र भ्याएको बरालले बताए । आरक्षमा ७२ जनाको दरबन्दी भएपनि अझै ३० जना भन्दा धेरै कर्मचारी अभाव छ । आरक्षले ओगटेको क्षेत्रको सबै स्थानमा पुगेर मात्र यकिन तथ्यांक ल्याउन सकिने भएकोले रेडपाण्डाको गणना निकै कठिन काम हो । आरक्षमा नाउर र झारल मात्र शिकार गर्न पाईन्छ । हरेक बर्ष दुई सिजनमा शिकारका लागि खुला गरिन्छ । यो बर्ष २० नाउर र ११ झारलका लागि शिकार खुला थियो ।
दोश्रो सिजनमा १० नाउर र ६ वटा झारल शिकार गर्नका लागि ४ वटा कम्पनीका ११ जना बिदेशी शिकारीहरु ढोरपाटनमा आएका छन् । राष्ट्रिय प्रकृति तथा बन्यजन्तु संरक्षण बिभागमा राजश्व तिरेपछि शिकारीले शिकारको अनुमति पाउँछन् । हाल ढोरपाटनमा २ हजार २ सय २ वटा नाउर र ३ सय ८८ वटा झारल भएको अनुमान छ ।
आरक्ष बागलुङ, म्याग्दी र पूर्वि रुकुममा फैलिएको छ । रेडपाण्डाको गणनाका लागि आवस्यक प्रविधि र जनशक्ति समेत नेपालमा अभाव छ । यातायात र संचारबाट समेत पहुँचमा नभएकोले ढोरपाटन शिकार आरक्षका अन्य बनस्पति र जनावरको समेत गणनामा समस्या पर्दै आएको छ । ठूलो खर्च लाग्ने र सहज पहुँच नपुग्दा अत्यावस्यक काम पनि पछाडी परिरहेको उनले बताए । आर्कषक शरीर, लजालु स्वभाव भएको रेडपाण्डाको अवलोकनको व्यवस्था गर्न सकेपनि राजश्व बढाउन सकिने बरालले बताए । विश्वमा दुर्लभ मानिएपनि नेपाल, चीन, भारत र भुटानमा भने रेडपाण्डा पाइने गरेको छ ।
Previous Article२०७५ वैशाख २३ गते आईतबारको राशिफल
Next Article स्थानियमा कौतुहलता बढ्दै कहिले बन्छ उत्तरगंगा ?