पोखरा, २२ वैशाख – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता सम्मानजनक, समानतामा आधारित र न्यायोचित हुने कार्यकर्तालाई आश्वस्त पारेका छन् । मार्क्सको द्वि-शतवार्षिकीमा पोखरामा आयोजित कार्यक्रममा उनले एमाले र माओवादी दुबै पार्टी विघटन भएर नयाँ कम्युनिस्ट पार्टी बन्ने बताए । ‘कतिपयलाई लाग्न सक्छ एमाले एमाले नै रहने माओवादी माओवादी नै रहन्छ तर त्यसो होइन,’ उनले भने, ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । हाम्रो एकता त्यस्तै हो ।’ एमाले र माओवादीको निरन्तरता नभै नयाँ पार्टी आजको आवश्यकता भएको उनले उल्लेख गरे ।
उनले तत्कालीन नेकपा (मार्क्सवादी) र मालेबीच भएको पार्टी एकता उदाहरणीय भएको बताए । आफ्नो संगठन ठूलो हुँदाहुँदै पनि मदन भण्डारीले तत्कालीन अवस्थामा ठूलो त्याग गरेको उनले सम्झिए । ‘मनमोहन अधिकारी नेतृत्वको मार्क्सवादीभन्दा मदन भण्डारी नेतृत्वको माले संख्या र संगठनमा ठूलो थियो,’ उनले भने, ‘तर मदन भण्डारीले मनमोहन अधिकारीलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्री बनाउने सर्तमा भएपनि एकता गर्नुपर्छ भनेर अगाडि बढे, भयो पनि त्यहीं ।’
उनले पार्टी एकताको लागि कार्यदलका प्रतिवेदनहरु टुंग्याएर भाषा मात्रै परिमार्जन गर्न बाँकी रहेकोले काठमाडौं फर्किपछि पार्टी एकताको मिति घोषणा गर्ने बताए । शुक्रबार पोखरा आइपुगेका उनी आइतबार काठमाडौं फर्किनेछन् ।