बागलुङ, २१ बैशाख – नेपाली काङ्ग्रेसले शुक्रवार तीन जना पदाधिकारी मनोनयन गरेको छ । विमलेन्द्र निधि उपसभापतिमा, पूर्णबहादुर खड्का महामन्त्रीमा र डा. प्रकाशशरण महत सहमहामन्त्रीमा मनोनित भएका छन् । रामचन्द्र पौडेल पक्षको विरोधका बावजुद बहुमतका आधारमा उनीहरु नियुक्त भएका हुन् ।
महाधिवेशन भएको २६ महिनापछि काङ्ग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचित केन्द्रीय सदस्यहरुमध्येबाट पदाधिकारी मनोनयनका लागि केन्द्रीय समितिमा प्रस्ताव गरेका हुन् । आजको बैठकमा प्रकाशमान सिंहले देउवाले प्रस्ताव गरेको प्रक्रियामा असहमति जनाउँदै हस्ताक्षर गरेका छैनन् ।
असन्तुष्ट पक्षकै महामन्त्री शशांक कोइरालाले उपस्थितिमा हस्ताक्षर गरेका छन् । आज मनोनित तीनै जना देउवा निकट हुन् । यी तीनै जना प्रतिनिधिसभा चुनावमा पराजित भएका व्यक्ति हुन् । निधि धनुषा ३, खड्का सुर्खेत १ र महत काठमाडौं ५ मा पराजित भएका हुन् ।
पदाधिकारी मनाेनयनका लागि दिउसो २ बजे बैठक बस्ने भनिएपनि विवादकै कारण साँझ ५ बजेमात्र बैठक बसेको थियो । पौडेल पक्षको विरोधकाबीच निर्वाचित केन्द्रीय समिति बैठकले यो निर्णय गरेको हो ।
विरोध गर्नेहरुले केन्द्रीय सदस्य निर्वाचित भएको दुई महिनाभित्र पदाधिकारी मनोनयन गरिसक्नुपर्नेमा नगरिएकोले अहिलेको निर्णय अवैधानिक भएको तर्क गरेका छन् ।