धौलागिरीको एउटा जिल्ला हो म्याग्दी । पर्यटनका हिसाबले छिमेकी जिल्लाको सहयतामा म्याग्दीले ठुलो फड्को मारेको छ । अग्ला र लामा झोलुङ्गे पुलका कारण चर्चामा रहेको पर्वत जिल्ला, एक मात्रै शिकार आरक्ष रहेको बागलुङ जिल्ला तथा हिमालपारिको जिल्लाका रुपमा परिचय बनाएको मुस्ताङ म्याग्दीका छिमेकी जिल्ला हुन् । आँफैमा पनि प्रशस्त सम्भावना बोकेको जिल्ला र आसपासमा रहेका जिल्लामा भित्रिने पर्यटकलाई आफ्नो जिल्लामा भित्राउनका लागि माहिर म्याग्देलीका कारण जिल्लाले पर्यटनमा फड्को मारेको कुरामा कसैको दुई मत नहोला । म्याग्दीको गलेश्वरको प्रचारदेखी त्यहाँका प्राकृतिक तथा मानव निर्मित संरचनाको प्रचार प्रसारमा म्याग्देलीहरुको प्रचारशैली सबैले सिक्नुपर्ने खालको छ । गाउँनै गाउँले भरिएको नेपाल, त्यसमा पनि पहाडी जिल्लाहरुमा अझैपनि सबै क्षेत्रमा यातायातको सहज पहुँच छैन् । यातायातको सहज पहुँच नभएको सबै ठाउँमा मानिसहरु आवतजावत गर्ने उपयुक्त माध्याम भनेको पदमार्ग नै ।
धौलागिरीका सबै जिल्लामा यस्ता कयौं पदमार्गहरु छन् । जहाँ मानिसहरु दैनिक हजारौंको संखयामा ओहोरदोहोर गरीरहेका हुन्छन् । व्यवस्थित गरिएका पदमार्ग हुन या पुरानै शैलीमा बनाईएका डहरहरु किन नहुन दैनिक मानिसले हिँड्नका लागि प्रयोग गर्ने बाटोहरु पदमार्ग हुन् । पदमार्गको प्रयोग हामी सबैले गर्ने गरेका छौं । त्यही पदमार्गको प्रयोग गरेर आन्तरिक तथा बाह्रय पर्यटक भित्राउनमा भने कहिँ कुटिल मानिसहरु मात्रै सफल भएका छन् । प्रायः गरेर म्याग्दीका ठाउँ–ठाउँमा पदमार्गहरु निर्माण, मर्मत र व्यवस्थापन गरेका समाचारहरु आउने गरेका छन् । हामीले आँफु हिँड्ने र गाईबस्तु हिँडाउने बाहेक पदमार्गको प्रयोगमा नयाँ विचार भित्राउन सकेका छैनौं । तर म्याग्दीका कतिपय स्थानहरु यस्ता छन् जहाँ अत्यावस्यक केही संरचनाहरु निर्माण गरीएका छन् । पर्यटकका लागि आवश्यक खानपान, बासस्थान र बजारको व्यवस्था मिलाईएको छ ।
थोरै लगानी र केही मेहेनत गर्दा मात्रै बनेका संरचनाका कारण म्याग्दीका डहरहरु पनि बहुचर्चित पद मार्गको रुपमा परिचय बनाएका छन्भने अन्य ठाउँका डहरकै रुपमा कायम छन् । बागलुङको गल्कोटमा रहेको घुम्टे चढ्ने बाटो, ढोरपाटनसम्म पुग्ने पदमार्ग, दक्षिणमा जैमिनीधामदेखि भैरवस्थान सम्मको पदमार्ग, पर्वतको मोदिबेणीदेखी पञ्चासे, चित्रेको होमस्टेमा जाने डिमुवा चित्रे पदमार्ग, कालिगण्डकीको किनारदेखी लुंखुको धुरी चढ्ने पदमार्ग जस्ता पदमार्गहरु आज पनि प्रचार–प्रसार र उचित व्यवस्थापनको अभावमा ओझेलमा छन् । म्याग्दीले जसरी आफ्ना साना तथा ठुला बाटोहरुलाई पदमार्गको रुपमा प्रस्तुत गरेर आफ्नो पर्यटनको विकासमा टेवा पु¥याईरहेको छ । सोही गतिमा अन्य जिल्ला तथा स्थानिय तहहरुले समेत सम्भाव्य क्षेत्रहरुलाई पदमार्गको परिचय दिएर प्राप्त प्रचार–प्रसार गर्नु अहिलेको आवश्यकता हो । देशको आर्थिक विकासको महत्वपुर्ण पाटो भनेको पर्यटन हो । पर्यटनको क्षेत्रमा आ–आफ्नो ठाउँमा भएका सम्भाव्य क्षेत्रको पहिचान गरी आर्थिक समृद्धिको बाटोमा लाग्नु आम नागरिक, सरोकारवाला तथा राज्यको दायित्व हो ।
Previous Articleमजदुर दिवस र नेपालको राजनीति
Next Article २०७५ वैशाख १७ गते सोमबारको राशिफल