राजेशचन्द्र राजभडारी
मे १ अर्थात् विश्व श्रमिक दिवस । यो दिवस हाम्रो देश नेपालमा पनि धुमधामका साथ मनाउने गरिन्छ । साँच्चै विश्व मजदुर दिवसको व्यवहार भन्दा नारा धेरै लोकप्रिय छ । मे १ मा नेपालभरि छरिएर रहेका मजदुरहरूको एउटै नारा हुन्छ– ‘संसारका मजदुर एकजुट हौ ।’ नेपालका कम्युनिस्ट पार्टीको भातृ संगठन भनेर चिनिने मजदुर संघ संगठनहरूले पनि अरू समयमा चुपचाप बसेपनि मे १ को दिन भने ठुलो स्वरमा नेपालका शहर तथा बजारमा नारा लगाउँछन्– ‘संसारका मजदुर एकजुट हौ ।’ साँच्चै यो नारा जति सुन्दर छ त्यति सुन्दर हामीहरूको व्यवहार भइदिएको भए सुनमा सुगन्ध हुने थियो । ‘विश्वका मजदुर एकजुट हौ’ भन्ने तर हाम्रो देशमा दुई दर्जनभन्दा बढी मजदुर संघ संगठन क्रियाशील छन् । मे १ मजदुर दिवसमा समेत नेपालमा संयुक्त रूपमा कार्यक्रम नगरीकन सबैले छुट्टाछुट्टै मजदुर दिवस मनाउने चलन चलिरहेको छ ।
साँच्चै भन्ने होभने हामीकहाँ भएका मजदुर संघ संगठनले न त श्रमजीवी मजदुरको हित गर्न सकेको छ न त यसले उद्योगधन्दा कलकारखाना कै हितमा काम गरेको देखिन्छ । आफ्नो राजनीतिक दलको फगत स्वार्थ मजदुर नेताको ब्यक्तिगत स्वार्थ मै अहिले केन्द्रीत भएको देखिन्छ । जतिपनि उद्योगधन्दामा मजदुर संगठन गठन गरिएको छ यसले उद्योगपतीको टाउको दुखाई मात्रै भएको छ । छिनछिनमा आन्दोलन, छिनछिनमा माग गरेर नेपालमा भएका उद्योग तहसनहस बनाउने काम भएको कारणले पनि देशमा उद्योगधन्दा र कलकारखाना खोल्न उद्योगपतिहरू तयार छैनन् । मुलुकमा २०४६ सालको परिवर्तन पछि यस्तो घटना झन् मौलाएको देखियो । मजदुर संघ संगठन भनेको राजनीति गर्ने नेताको मागी खाने र ठगी खाने भाँडो भन्दा अर्को थोक हुन सकेको देखिएन । केही टाठा बाठा मजदुर नेताले आफ्नो श्रीमती, छोराछोरी, ज्वाइँ चेला र सालीलाई जागिर खुवाउने कामभन्दा अर्को केही पनि नगरेको कुरा बेला–बेलामा सार्वजनिक भएपनि यसमा केही परिवर्तन भएको देखिएको छैन । जुन उदेश्यका लागि हिजो मजदुर आन्दोलन भएको थियो आज त्यसको ठिक बिपरित काम भइरहेको कारणले पनि नेपालमा लगानी गर्न लगानीकर्ता उत्साहित देखिदैन । अहिले पनि दिनहुँ जसो युवा जनशक्ति रोजगारीको लागि अरब, मलेसिया र कतार लगायतका देशमा पुगेर रगत र पसिना बगाइरहेका छन् । जुन रगत पसिना आफ्नो देशमा बगाउने बाताबरण नभएको कारणले पनि बिदेशीन बाध्य भएको हुन् भन्ने कुरा दिनको घाम झै छर्लङ्ग छ ।
अहिलेको सरकारले पनि युवालाई नेपालमै रोजगारी दिने भनेर चुनावको बेलामा गरेको बाचा पनि नाराभन्दा अरू केही हुन सकेको छैन । एकातिर हामी समाजबादमा जाने कुरा संविधानमा लेख्छौ तर हाम्रो कार्यक्रम भने अहिले पनि दलाल पुँजीवादी कै पक्षमा केन्द्रीत भएको देखिन्छ । अहिलेका मजदुर नेताहरू पनि काम गरेर खाने श्रमजीवी वर्गको पक्षमा देखिदैनन् । कसरी हुन्छ आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्नतर्फ केन्द्रीत छ । हामीले मजदुर नेता हैन साँच्चै भन्ने होभने दलाल तयार गरिरहेका छौ भन्दा फरक पर्दैन । नेपालमा २०४६ को परिवर्तनपछि देशमा भएको उद्योगधन्दा कलकारखाना सबै निजीकरणको नाममा कौडीको भाउमा बेच्ने काम गरिएको कुरा दुनियाँलाई थाहा छ । सरकारले चलाएको कलकारखाना उद्योग धन्दामा मजदुर नियुक्ति गर्ने सवालमा राजनीतिक दलको झोला बोक्ने झोलेलाई नियुक्ति गर्ने काम गरियो । जुन कार्यकर्ता पाल्न सक्ने हैसियत त्यो उद्योगधन्दासंग सामथ्र्य थिएन अहिले पनि त्यही राजनीतिक नियुक्ति कै कारण धेरै कलकारखाना उद्योग धन्दा धरासायी भएको कुरा सबै जगजाहेर छ । राजनीतिक नियुक्ति पाएका कर्मचारीलाई तलब खुवाउनको लागि सरकारी स्वामित्वमा भएको जग्गा घडेरी बेच्नु पर्ने बाध्यता सरकारलाई देखिएको छ । यस्तो बिकृती र बिसंगतिलाई जबसम्म हटाउन सकिदैन जबसम्म उद्योग धन्दा कलकारखानाको क्षमता अनुसार हामीले कामदार नियुक्ति गर्दैनौं तबसम्म हामीले आर्थिक उन्नति गर्न सक्दैनौं । बाहिर मात्रै चर्को कुरा गर्ने भित्रभित्रै जालझेल षड्यन्त्र गर्ने बानी रहेसम्म हामीसंग भएको कलकारखाना उद्योगधन्दा बन्द हुने भन्दा हामीसंग अर्को विकल्प पनि छैन । यसतर्फ बामपन्थी गठबन्धनको सरकारले केही कुरा सोच्न सक्यो भने भोलिका दिनमा राम्रो परिणाम निस्कन सक्छ ।
मजदुर दिवस मनाउदै गर्दा हामीले खोजेको लक्ष्य उदेश्य देश र जनताको हितमा हुनुपर्छ भन्ने कुरालाई मनन गर्न सक्यौं भनेपनि अबको ५ बर्षपछि देशमा परिवर्तन ल्याउन सकिन्छ । हैन भने हामीले भन्ने एउटा र गर्ने अर्को भएसम्म केही हुनेवाला छैन । साँच्चै हामीले यतिबेला ‘बिश्वका मजदुर एकजुट हौ’ भन्ने नारा लगाउनु भन्दा नेपालका मजदुर मात्रै एकजुट गराउन, मजदुर दिवस संयुक्त रूपमा गर्न सक्यौं भने मात्रै मजदुर दिवस मनाउनुको सार्थकता रहने छ । हामीले हिजोको दिनमा जुन गलत कामको शुरूवात गरेकोे कारणले आज समस्या भोग्नु परिरहेको छ । यो कुरा सबैलाई थाहा छ । आज सरकारले जसरी यातायात क्षेत्रमा भएको सिन्डिकेट हटाउने काम गरेको छ । अब सरकारले सिन्डिकेटको नाममा सरकारी संघसंस्था, कलकारखाना र उद्योगधन्दामा जागिर खाएर चुर्लुम्म दुबाउने राजनीतिक नियुक्ति भएकालाई हटाउने हिम्मत अहिलेको सरकारले गर्न सक्नुपर्छ ।
यसबर्ष पनि खाली मजदुर दिवस मनाउने तर उपलब्धि भने जस्ताको त्यस्तै हुन गयो भने ‘दिनभरि करायो दक्षिणा मात्रै हरायो’ हुन जाने छ । अबदेखि नेपालमा भएको उद्योगधन्दा कलकारखानामा कुनैपनि किसिमको हड्ताल नगर्ने प्रतिबद्धता अब मजदुरहरूले गर्न सक्नुपर्छ । देशलाई आर्थिक रूपमा समृद्व बनाउने होभने अबको अभियान त्यो हुनुपर्छ । अनिमात्र देशमा थप उद्योगधन्दा खुलाउन लगानीकर्ता तयार हुनेछन् । हामीले अरू देशबाट सामान आयात गर्ने मात्रै हैन अब निर्यात गरेर ब्यापार घाटा पनि कम गर्दै लैजान जरुरी छ । त्यसको लागि सबैको ध्यान देशलाई आर्थिक रूपले माथि लैजाने हुनुपर्छ । मजदुरले राजनीति गर्ने होभने आफुले काम गर्ने उद्योगधन्दा कलकारखानाको विकास हुने राजनीति गर्न जरुरी छ । अहिले भएको भन्दा अझै बढी उद्योगधन्दा खोल्न अभिप्रेरित गर्ने राजनीति गर्न जरुरी छ ।