बागलुङ, १६ बैशाख– प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमले प्रबद्र्धन गरी अनुदानमा बितरण भैरहेको आधुनिक हलो (मिनीटेलर हलो) लिनको लागि किसानहरुको लर्को लागेको छ । धौलागिरीको लागि अनुदानमा हलो बितरणको जिम्मा पाएको बागलुङ बजारस्थित धौलागिरी मेसीनरी एण्ड टुल्स सप्लायर्समा किसानहरुको भीड लागेको हो ।
सप्लायर्सले बितरण गर्न लागेको १ सय थान हलोका लागि १ सय ५० भन्दा धेरै किसानले अनुदान सहितको मुल्यमा हलो लिने इच्छा जाहेर गरेका छन् । दुई चरणमा बितरण गर्न लागिएको हलोका लागि पहिलो चरणका ५० जना किसानले हलो लिईसकेको र दोस्रो चरणका ५० थान हलोका लागि ७० जनाभन्दा धेरै किसान सम्पर्कमा आएको सप्लार्यस सञ्चालक सुर्य गौतमले बताए । ‘५० जना किसानको लागि सरकारी अनुदानसहित हलो उपलव्ध गराउने योजना हो’ गौतमले भने ‘हलो माग्नेको संख्या उच्च भएपछि १ सय थान हलो बितरण गर्ने योजना बनाएका हौं ।’ हालको लागि १ सय ५० भन्दा धेरै हलोको माग रहेको भएपनि अनुदान रकम कम भएकाले उपलव्ध गराउन कठिन भएको गौतमले बताए । सरकारको अनुदान थोरै मात्र भएपनि किसानहरुको हलोखरिदमा आकर्शण देखिएको गौतमले बताए ।
खेतबारी जोत्नका लागि थोरै जनशक्ति र इन्धन समेत थोरै मात्रामा प्रयोग गरेर हलो उपयोग गर्न सकिने भएकाले मिनिटेलर हलो प्रति किसानहरुको आकर्षण रहेको गौतमले जानकारी दिए । सरकारले प्रतिहलो १६.५ प्रतिशत अनुदान दिएको छ । बजार मुल्य ५० हजार रहेको हलो किसानका लागि ४५ हजारमा बितरण गर्दै आएको सप्लायर्सले सरकारले दिने अनुदान रकम घटाएर ३३ हजार रुपैयाँमा कृषकलाई उपलव्ध गराउँदै आएको छ ।
हलो लिन चाहनेको लागि नागरिकताको प्रमाणपत्र र पासपोर्ट साईजको फोटोसहित आवश्यक फारम भर्न सप्लायर्सले किसानलाई आग्रह गरेको थियो । ‘हामीले बिना झण्झट किसानलाई फारम भराएर मागका आधारमा हलो बितरण गरिरहेका छौं’ उनले भने ‘हलो आवश्यक रहेका किसानलाई सामान्य प्रक्रिया पु¥याएर अनुदान सहितको हलो दिँदा किसान आकर्षित भएका हुन् ।’ फारम भर्नका लागि सप्लायर्समा आउने किसानमध्ये जो पहिला आउँछ उसले पाउने र निश्चित कोटा पुगेपछि आउने किसानले स्वतः नपाउने व्यवस्था रहेको सप्लाययर्सले जनाएको छ । पेट्रोलबाट चल्ने हलोले २ लिटर पेट्रोलले एक दिनभर दुईवटा गोरु र एक जना हलिले जोत्ने बराबारको जमिन जोत्न सक्ने सप्लायर्सले जनाएको छ ।
Previous Article२०७५ वैशाख १६ गते आईतबारको राशिफल
Next Article ढोरपाटनमा आन्तरिक पर्यटकको संख्या बढ्दै