रेमिट्यान्स भित्राउने विश्वका केही राष्ट्रमध्ये नेपाल पनि पर्छ । रोजगारीका लागि झण्डै ४० लाख नेपाली मुलुक बाहिर छन् । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले वर्षेनि खर्बाै रुपैयाँ रेमिट्यान्स भित्रिएपनि उत्पादन मुलक क्षेत्रमा लगानी हुन सकेको छैन । विप्रेषण केवल विलासीपुर्ण काममा मात्रै प्रयोग भएको पाइन्छ । विदेशबाट भित्रिने रकम बढीजसो दैनिक उपभोगमै खर्च हुने गरेको छ । रेमिट्यान्स भित्राउने श्रीलंका, मेक्सिको, फिलिपिन्स, भारत लगायतका देशले यसको सदुपयोग गर्नका लागि छुट्टै नीति निर्माण गरेर उत्पादनमूलक क्षेत्रमा लगानी गरेको पाइन्छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनका अनुसार, वर्षेनी स्वदेश भित्रिएको खर्बौं रकममध्ये न्यून परिमाणमात्र उत्पादनमूलक क्षेत्रमा लगानी भएको देखिन्छ । मुलुकको आर्थिक विकासमा योगदान दिने उत्पादनमूलक क्षेत्रमा विप्रेशणको नगन्य रकममात्र प्रयोग भएको देखिएको छ । नेपालमा विप्रेशणको ठूलो हिस्सा घरायसी उपभोग र शिक्षा, स्वास्थ्य लगायतमा खर्च हुँदा यसले गरिबी न्यूनिकरण, न्यूनतम उपभोग परिपूर्ति तथा जीवनस्तर सुदृढिकरणमा सहयोगी बनेपनि मुलुकको समग्र आर्थिक समून्नतीका योगदान दिन सक्दैन । विप्रेशण आयको वृद्धिसँगै उपभोग्य वस्तुहरूको आयात बढ्ने कारण व्यापार घाटा बढिरहेको छ ।
कृषिप्रधान देश नेपालमा वैदेशिक रोजगारीका कारण कृषि उत्पादकत्व तथा उत्पादनमा ह्रास हुँदै गएको छ । ८० प्रतिशत परिवारलाई विप्रेशणबाहेकका आम्दानीबाट खर्च धान्न नपुग्ने बैंकको सर्वेक्षणले देखाएको छ। विदेशमा नगएसम्म परिवारको गुजारा चलाउन नसक्ने अवस्था छ । नेपालको अर्थतन्त्र उत्पादनमुखी नहुँदा व्यापार घाटा वर्षेनि बढेको बढ्यै छ । विदेशबाट रेमिट्यान्ससंगै अन्य सामान पनि भित्रिने हुँदा विदेशी भूमिका कमाएको पैसा विदेशतिरै फर्किएको छ । गाउँको कृषि पेशा छोडेर विदेश भासिदा उत्पादन घटाएको छ । विदेशबाट भित्रिएको विप्रेषण विलासिताका क्षेत्रमा खर्चिने प्रवृत्तिले नेपालीलाई परनिर्भरतामा धकेल्नुका साथै देशको अर्थतन्त्रमा समेत असर पु¥याएको छ । नेपालमा विप्रेषण लगानी गर्ने प्रशस्त क्षेत्रहरु भएपनि सरकारले ठोस नीति लिन सकेको छैन । नेपालमा जलविद्युत् लगायतका विभिन्न उर्वरभूमी छन् । यस्ता ठाउँमा लगानी गर्न नचाहेर विदेशी सहायता र लगानीको खोजी गर्दै हिंडिरहेका छौं । यस्ता उर्वर क्षेत्रमा रेमिट्यान्सको लगानी गर्ने होभने देशको अर्थतन्त्र मजबुत बनाउन सकिन्छ । विप्रेषणलाई केमा कसरी लगानी गर्ने विषयमा सरकारले गम्भीर हुन जरुरी छ । रेमिट्यान्सले नेपालीको जीवनशैलीमा परिवर्तन आएपनि पुँजी निर्माणमा भएको प्रयोग निकै न्यून हो । निश्चय पनि रेमिट्यान्स भित्रिँदा नेपालीको औसत जीवनशैलीमा परिवर्तन आएको छ । रेमिट्यान्सको प्रवाह उच्च भएकाले त्यसलाई सही ढंगले राष्ट्रिय अर्थतन्त्रको विकासमा सदुपयोग गर्नसक्नु पर्छ । रेमिट्यान्सले केही परिवारको जीवनशैलीमा मात्रै होइन देशको अर्थतन्त्रमा परिवर्तन ल्याउनु पर्छ । यसको लागि सरकारले नीति बनाउन जरुरी छ ।