कपिलवस्तु,१३ बैशाख – लुम्बिनीलाई शान्ति र बौद्ध दर्शनको मुहानका रूपमा चिनाउन अर्को साता आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिव्र पारिएको छ । सम्मेलनमा विश्वप्रसिद्ध लेखकदेखि मुस्लिम बौद्ध विद्वान् सहभागी हुनेछन् । ‘लुम्बिनी नेपाल: भगवान् बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ विषयमा आयोजित सम्मेलनमा १३ वटा विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ। लुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेय शाक्यपुत्रले भने, ‘१३ मुलुकका १८ विज्ञलाई कार्यपत्र प्रस्तोता बनाएका छौं।’
४० बढीले कार्यपत्र प्रस्तुत गर्न अनुमति मागेका थिए। तर विज्ञ बसेर राम्रो र मुलुकलाई फाइदा पुग्ने कार्यपत्रलाई प्राथमिकता दिएको उनले जानकारी दिए। कार्यपत्र प्रस्तुत गर्न पोल्यान्डको युनिभर्सिटी अफ वार्साका प्रो. म्यारेक मेजोरदेखि मुस्लिम बौद्ध विद्वान् प्रो. डर्विस खोडोरी आउँदैछन्। म्यारेक लेखक तथा डर्विस फ्रान्सको युनिभर्सिटी ल हब्रे नरमान्डियामा पढाउँछन्।
२५६२ औं बुद्धजयन्तीको उपलक्ष्यमा वैशाख १५ र १६ गते सम्मेलन आयोजना गरिंदैछ। सम्मेलनको सबै तयारी पूरा भएको छ। थाइल्यान्ड, म्यानमार र श्रीलंकाका पर्यटन र संस्कृतिमन्त्रीले चासो लिएर सोधपुछ गरिरहेको लुम्बिनी विकास कोषका प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए। सम्मेलनका लागि कोषले काठमाडौंस्थित सम्पर्क कार्यालयमा सचिवालय बनाएर २४ घण्टा काम गरिरहेको छ। सम्मेलन लुम्बिनीस्थित चीनको चुङहवा बौद्ध विहारको ध्यानकेन्द्रमा हुँदैछ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिव्र
Previous Articleएकै वर्षमा एक सय ३८ डलरले आय वृद्धि
Next Article निराशाजनक प्रदर्शनपछि गौतम गम्भीरले दिए राजीनामा