तारानाथ आचार्य
बागलुङ, ११ बैशाख– बैदेशिक रोजगारीमा जापानमा रहेका यहाँका एक युवाले बिदेशमा बसेर युवाहरुले आफ्नो जीविकोपार्जनका लागि कमाई मात्रै गर्दैनन् अवसर र मौका पाए समाज सेवामा समेत लाग्छन् भन्ने कुरालाई प्रमाणित गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका बिष्णु सापकोटाले ब्यक्तिगत पहलमा जापानी सामाजिक संस्थालाई गाउँ भित्राएर बिद्यालय भवन निर्माण र एम्बुलेन्स सहयोग गर्दै मातृभुमीप्रतिको प्रेम दर्शाएका हुन् ।
जापानको एक कम्पनीमा सँगै काम गर्ने जापानिज साथीको संगतले सामाजिक संस्थामार्फत उनले गाउँको बिद्यालयमा पक्कि भवन र एम्बुलेन्स उपलव्ध गराउने वातावरण सिर्जना गरेका हुन् । सँगै काम गर्ने जापानिज साथीको परिवार सामाजिक संस्थामा आबद्ध रहेको जानकारी पाएपछि आफ्नो सम्बन्धलाई बढाउँदै लगेका सापकोटाले ‘सन वर्ड भिजन’ नामक सामाजिक संस्थालाई आफ्नो गाउँमा भित्राएका थिए । ‘साथी र म कम्पनीमा सँगै काम गथ्र्यौ उसले आफ्नो पिताको सामाजिक काम गर्ने संस्था रहेको बताएको थियो’ सापकोटाले भने ‘स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगानी गर्ने मनशाय बनाएको संस्थालाई उहाँहरुकै घरमा पुगेर गाउँको बिद्यालयमा भवन बनाईदिन आग्रह गरें ।’ गाउँमा आँफुले पढ्ने बेलामा भवन अभावका कारण निकै दुःख पाएको स्मरण गर्दै सापकोटाले भावी पुस्तालाई समस्या नहोस् भनेर बिद्यालयमा पक्कि भवन निर्माणका लागि पहल गरेको बताए । ‘रोजगारीको शिलशिलामा त्यहाँ पुगेकाले आफ्नो कर्म एकातर्फ थियो’ सापकोटाले भने– ‘जन्मेहुर्केको ठाउँमा विकासका काममा सघाउनु मेरो कर्तव्य भएको बोध गर्दै स्वयम्सेवी संस्थालाई सहयोग गर्न लगाएको हुँ ।’ सेवामुलक संस्थाहरुको सहयोग लिएर गाउँको विकासमा थप इट्टा थप्ने प्रण गरेका सापकोटाले नेपाल सरकार र स्थानिय सरकारले पनि यसरी नै सोच्ने होभने गाउँको विकास गर्न समय नलाग्ने बताए ।
सापकोटाको पहलमा जैमिनी नगरपालिका–२ दमेकको बनहुँमा रहेको सरस्वती प्राथमिक बिद्यालयमा ४ कोठे पक्कि भवन निर्माण भएको छभने सोही बिद्यालयको व्यवस्थापनमा चल्ने गरी एम्बुलेन्स समेत उक्त संस्थाले हस्तान्तरण गरिसकेको छ । सापकोटाले संस्थाका निर्देशक काजु योसी योमानोसँग भेटेर आफ्नो गाउँको बिद्यालयको अवस्था र त्यहाँका विद्यार्थीले पाएको दुःखको बिषयमा जानकारी गराउँदै फोटोहरु देखाएपछि संस्था सहयोग गर्न तयार भएको थियो । फोटो र गुगलमार्फत गाउँको बस्तुस्थिती र बिद्यालयको वातारणको बारेमा जानकारी लिएर आफ्नो शिक्षा र स्वास्थ्यमा लगानी गर्ने मनशाय रहेको संस्थाका अध्यक्षले बताएको सापकोटाले जानकारी दिए । कच्चि बाटो र स्वास्थ्य संस्थाको पहुँचबाट निकै टाढा रहेको गाउँमा एम्बुलेन्सको समेत आवश्यकता रहेको जानकारी पाएपछि योमानोले दुबै काम आफने संस्थामार्फत गर्ने योजना बनाए ।
बिद्यालयमा भवन निर्माण गर्ने र संस्थाको सहयोगमा निर्माण भएको भवनसँगै एम्बुलेन्स हस्तान्तरण गर्ने योजना बनाएर चार महिना अगाडि पक्कि भवन निर्माणको काम स्थानियलाई जिम्मा लगाएको संस्थाले आईतबार भवन तथा एम्बुलेन्स बिद्यालय परिवारलाई हस्तान्तरण गरिसकेको छ । ४५ लाखको लागतमा निर्माण भएको भवन र ३५ लाख मुल्य बराबरको बुलेरो कम्पनीको एम्बुलेन्स बिद्यालय परिसरमा आयोजना भएको हस्तान्तरण कार्यक्रममार्फत बिद्यालय परिवारलाई बुझाईएको संस्थाका निर्देशक योमानोले बताए । बिद्यालय भवन र एमबुलेन्स हस्तान्तरण गर्न गत साता जैमिनीमा आएको संस्थाको टोलीले जैमिनी २ दमेककै केटिचौर प्राथमिक बिद्यालयको समेत अवलोकन भ्रमण गरेको थियो । अधिकांश दलित बिद्यार्थीले अध्ययन गर्ने उक्त बिद्यालयको भौतिक संरचना निर्माण र शैक्षिक गुणस्तर बृद्धिमा संस्थाले आफ्नो तर्फबाट हुन सक्ने सहयोगको बिषयमा जापान फर्केपछि छलफल गरेर निर्णय गर्ने बताएको वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताए ।
आईतबार आयोजना गरिएको हस्तान्तरण कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले समुदायको चौतर्फी विकसको लागि सामाजिक संस्था, देशी तथा बिदेशी दातृ निकाय र स्थानिय सरकार सँगसँगै अगाडि बढ्नु पर्नेमा जोड दिए । आफ्नो दैनिकी चलाउन बिदेश पुगेका युवाले आफ्नो गाउँको विकासका लागि खेलेको भुमिका प्रशंसनिय रहेको भन्दै पौडेलले बिदेशमा रहेका अन्य युवाको समेत रचनात्मक सहयोगको स्थानिय सरकारले अपेक्षा गरेको बताए । कार्यक्रममा शिक्षा विकास ईकाई बागलुङका प्रमुख गुरुप्रसाद पौडेल, संबिधानसभाका पुर्वसभासद् प्रकाश शर्मा पौडेल, वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, वडा सदस्य प्रेम सापकोटा, बिद्यालयका स्रोतव्यक्ति बिष्णुप्रसाद सापकोता लगायतले बोलेका थिए । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षता र प्रधानाध्यापक छविलाल सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleआगामी २ वर्षभित्र चौबिसै घण्टा पानी !
Next Article २०७५ वैशाख ११ गते मंगलबारको राशिफल