कृष्णराज शर्मा
केही दिनको विश्राम पछि हामी संसार प्रसिद्ध नदीको छाँगो ‘नायग्रा फल्स ( Niagara Falls )’ हेर्नजाने निर्णयमा पुग्यौं । यो हामी बसेको स्थानबाट सुदूर उत्तरमा पर्थ्यो । नायग्रा नदी अमेरीका र क्यानडाको सीमानदी हो । यही नदीको पुरै जलप्रवाह छाँगो बनेर तल खसेको दृश्य नै ‘नायग्रा फल्स’ हो । यहाँ पुग्न बाल्टिमोरबाट छ घण्टा पैंतीस मिनेटको समय लाग्ने जिपिएसले देखाउँछ । बिहानको खाना खाएपछि मध्यान्हतिर हामी नायग्रा फल्सको लागि हिंड्यौं । गाडीले गति लियो । गाडीको गतिसंगै संगीत थपियो । गाडीमा अमेरिकन गायक गायिकाका सुमधुर आवाजले रोमाञ्स भर्थ्यो । गीतका शब्द थाहा हुन्थेन तर कुनैकुनै बेलाका सँगीतका धूनले मन छुन्थ्यो । गायिका हाल्से ( Halsey ) ले गाएको सुरिलो गीत अनेकौं पटक दोहोराएर बजिरह्यो । गायिका हाल्सेले गाएको ‘Bad at Love’ भन्ने गीत अमेरिकामा निक्कै नै मनपराईएका गीत मध्येको एक रहेछ । मैले त सुन्थें मात्रै,बुझ्दैनथें । यही गीतमा आउने चुलेसी चुलेसी..शब्दको लिरिक्सले म आकर्षित थिएँ । यो चुलेसी भनेको के हो,बाबु ? कतै यो नेपाली घरेलु हतियार ‘चुलेसी’ भनेको त होईन ? भनेर छोरालाई सोध्थें । उसले हाँस्दै सच्याई दिन्थ्यो । चुलेसी होईन ज्वलेसी,अर्थात नेपालीमा ‘ईर्ष्या’ भनेको हो भन्थ्यो । मेरो सुनाईमा गल्ति भएको रहेछ । तिब्र गतिमा गाइएका हिंजो आजका नेपाली हिपहप् र पप् गीत त बुझ्न गाह्रो हुने हामीलाई त्यो गोरी अंग्रेजले गाएको उच्चारण कसरी बुझ्नु ? यात्रा भरी यही चुलेसी र ज्वलेसीका कुराले निक्कै हाँसो भयो ।
हाँसो कै बीचमा मैले सोधें,तिमीहरू नेपाली गीत सुन्दैनौ र ? नेपाली पनि कति राम्रा-राम्रा गीतहरू आईरहेका छन् । उसले भन्यो,सुन्छु किन नसुन्ने ? पछिल्लो नयाँ गीत सुपारीको होईन,ड्याडी ? भन्यो । नेपालमा उत्पादित नेपाली गीतहरू यहाँ भन्दा छिटो त्याहाँ सुन्ने रहेछन् । उसले त नयाँ नयाँ नेपाली गीतहरू पनि सुनि भ्याएको रहेछ । ‘कुटुमाकुटु सुपारी दाना’ भन्ने गीत त निक्कै सुनेको रहेछ । अरू नि अरू ? फेरी मैले सोधें । नारायण गोपालका गीत सुन्छु भन्यो । उसले त स्वरसम्राट नारायण गोपालका पुराना गीत कण्ठै पारेको रहेछ । ‘म त लालीगूराँस भएछु’ भन्ने गीतै गाएर सुनाउला जस्तो गर्थ्यो तर अप्ठ्यारो मान्यो । यो स्वाभाविक पनि हो । त्यसैले त नेपालीमा उखान बनेको छ’नि – दूधसित भात निस्तै,बाऊसित छोरा एक्लै ! बाऊ छोरा रसिक भएर हिंड्न मिल्दै मिल्दैनथ्यो । तै,अलिकति सहज बन्दै हामीले रोजी रोजी नेपाली र अँग्रेजी गीत बजाउँदै सुन्दै नायग्रा फल्सको गन्तव्य मार्ग छिचोल्थ्यौं ।
मेरो छोराको करिब दशक पुग्न लागेको विदेश बसाईमा स्वदेशको बारेका उसले के सोचाई राखेको होला भन्ने पनि म मा खुल्दुलि थियो । प्रबिधिको उच्चतम उपयोग गर्ने र संमृद्धिले चुलिएको देशमा बस्दै गर्दा आफ्नो मातृभुमीको बारेमा ऊ भित्र के कस्ता भावना बनेका होलान् ? उसको जाँच लिन चाहन्थें । मैले चलाखि अपनाउँदै यही मौकामा बुझ्न खोज्थें । तर मैले उसप्रति त्यसरी प्रश्न सोध्नु अगावै सरस देशभक्तिका भावनाले मातृभूमीका प्रति अगाध प्रेमभाव देखाउँथ्यो । गाडीको गति चर्को थियो । प्रतिघण्टा असी माईलमा हामी थियौं होला । गति न्यून गर्नु हुन्थेन । उसको मुडमै हामी चल्थ्यौं । उसको मुडअफ् गर्नु हाम्रो मूर्खता हुन्थ्यो । फेरिपनि मेरो मनले मौका छोपेर अनेक कुरा सोध्न खोज्थ्यो । उसले मोटरको स्टेयरिङ बाट हात छुटाउन मिल्दैनथ्यो । उसले सुन्न चाहेका गीत सर्च गरेर खोज्ने काम मेरो हुन्थ्यो । उसको आईफोन गाडीमा कनेक्ट भैरहेको हुन्थ्यो । मैले युट्यूबबाट सर्च गरिदिन्थें । गाडीको स्पिकरबाट आवाज घन्कन्थ्यो । लामो यात्रामा चालकलाई पट्यार नलागोस् । निन्द्रा नलागोस् भनेर गाडीमा गीतसंगीत बजाईन्छन् । संसारभरी नै यो चलन छ । हाम्रो यात्रामा पनि गफगाफ नहुँदा गीत बजिरहन्थे । यसैबीच उसले भन्यो – ड्याडी,यौटा गीत खोज्नुस् त ! कुन ? मैले सोधें । ‘कालापानीमा माछा मार्ने’ भन्ने गीत छ’नि त्यो लगाउनुस् त ? हँ,अमेरिका बसेर कालापानीका गीत ! म त छक्क परें ! ल ल म सर्च गर्छु भन्दै युट्यूबमा सर्च गरेर गीत बजाएँ – माछी मार्न जाउँ न दाजै कालापानीमा
छेकी वरी धुवाँली माहाकालीमा
बनको काँडाले कहिल्यै’नि कोरेन
फलामे काँडाको तार ऐले
मनपरी होईन गाँठे हाम्रो पानीमा
आलै छ घाऊ अट्ठारको नालापानीमा
नेपाली खै कुरा बुझेको
मनपरी जनसंख्या बढेको
विदेशको नोकरीको भर छैन
फरकेर आउँदा घर छैन
माछी मार्न जाउँ न दाजै ….
आफ्नै कोठाको ठूलो स्कृन टिभिमा यो गीत पटक पटक हेरेको रहेछ । गीतको दृश्यमा देखिने नेपालको झण्डा,नीलो गुन्यू चोलिमा फुरूङ्ग फुर्किएकी नेपाली युवती । हरियो घाँस सहितको नाम्लोले बोकेको डोको । कपाल बाटेर निस्केको फूर्के डोरी हल्लाउँदै हिंडेकी उनै युवती । महाकालीको कञ्चन सफा पानी । खेतका डिलमा सत्रङ्ग परेका धानका निहिन् । दौरा सुरूवालले सजिएर टुङटुङ-टुङ् मादल बजाउँदै धानका गह्रा गह्रामा हामफाल्ने नेपाली ठिटो । नदी किनारमा पुगेर अञ्जुली भरी पानी खेलाउँदै र हाम्रो त्यही पानीमा अर्कैले मनपरी गरेको,आदी ईत्यादी सबै उसको आँखामा नाच्दा रहेछन् । कोठाको टिभिमा हेरेका यी सबै दृश्यले उसको मन छोएको रहेछ । यहि गीतको मुखडा र अन्तरामा भएका शब्दको बारेमा म संग भाव बुझ्न मन रहेछ । भारतले हाम्रा नदीनाला र प्राकृतिक श्रोत र साधनमाथी संधै गिद्देदृष्टी लगाउने रहेछ है,किन होला ? प्रश्न गर्थ्यो । अट्ठारको घाऊ भनेको के हो ? सोध्थ्यो । सन् १८१६ मा भएको सुगौली सन्धिले नेपालको एकतिहाई भूभाग गुमेको कुरा थियो । लाखौंलाख विदेशीलाई नेपाली नागरिकता दिएका कुरा भए । नेपाली सीमा मिच्दापनि नेपालले बोल्न किन सकेन भन्ने कुरा भए । धेरै व्याख्या नगरी फटाफट् सतही कुरागर्दै बाटो काट्थ्यौं ।
इतिहासले धेरै पाठ सिकाउँछ । राष्ट्रको इतिहासमा भएका वीरगाथा र गौरबगाथाले आफ्नो देशको माटोका प्रति माया भरिन्छ । ऊ बेला आईए पढ्नेले इतिहासबाट जति पाठ सिक्थे अहिले प्लसटू सकेकाहरूमा इतिहासका बारेमा शिशु कक्षाका विद्यार्थी जत्ति पनि जानकार देखिन्नन् । तै यो केटाले नेपाली गीतसंगीतको माध्यमबाट भएपनि देशको इतिहास त खोज्यो भन्नेमा म खुशी भएँ । देशको कला संस्कृति साहित्य सामाजिक व्यवस्थाका बारेमा झन् यो पुस्ता एकदम अनिभिज्ञ नै छ भन्दा फरक पर्दैन । कमसेकम,देशको बारेमा पृथ्वीको पल्लो टुप्पोमा रहेर पनि देश त बुझ्न खोज्यो भनेर म खुशी भएको थिएँ ।
थुप्रै हाम्रा विदेशिएका छोराहरूले इतिहास पढ्न पाएका छैनन् । पछिल्लो पुस्ताले अघिल्लो पुस्ताले झैं इतिहास पढनबाट बञ्चितै जस्तो गराईएको छ । भएका पनि छन् । अहिले नेपालमा इतिहास पढाउने गुरूहरूलाई आत्मग्लानी भएको छ । एक जना विद्यार्थीलाई पढाएर गुरूहरू तलब पकाउन बाध्य छन् । विद्यार्थी नआईदिएर । कतिले त यौटा विद्यार्थी पनि पाउनु भएको छैन । एकातिर इतिहासको प्रध्यापक भएकोमा मनले नमानि-नमानि पेन्सन कुर्दै हुनुहुन्छ । अर्कोतिर हाम्रा संततीले आफ्नै देशको र विश्वको इतिहासको बारेमा जानकारी पाउनबाट बञ्चित गराईएको छ । विद्यालयका साना कक्षाहरू देखिनै इतिहासलाई निरूत्साहित गराईएको छ । आँफु खुशी पुस्तकालयमा पढ्न जाँदा पुस्तकालयबाट इतिहासका महत्वपूर्ण पुस्तक गाएब भएका छन् । जसले लग्यो-लग्यो,खोजी छैन । पुस्तकालय प्रशासन कंही पनि छैन । विद्यार्थीको प्रशासन छ । खुशामती प्रशासन चलेको छ । किर्तीपुरको केन्द्रीय पुस्तकालयमा समेत इतिहासका पुस्तक गाएब छन् भनिन्छ । जिल्ला जिल्लामा रहेका क्याम्पसका पुस्तकालयमा पनि ति पुस्तक जसले लग्यो उसैले भजायो भएको छ । फिर्ता कसैले गर्दैन / पुस्तकालयमा पुस्तकको सँख्या बढाउने ‘दानी’ पनि बढेका छन्,सँगसंगै महत्वपूर्ण पुस्तक लगेर घरमा ‘सँग्राहलय’ बनाउनेहरू उत्तिकै बढेका छन् । ऐतिहासिक पुस्तकालयमा ढलिमली चलेको छ । पुस्तकालयको उपादेयता केही पनि छैन । पुस्तकालय प्रेमी भन्दा गाँठीनगुँठीकाले पुस्तकालय कब्जा गरेका छन् । पुस्तकको शोधभर्ना संख्यामा हुनसक्ला तर पुस्तकको महत्व र विषयको गुढ् कुरामा कहिल्यै शोधभर्ना हुनै सक्दैन । बुझ्नेले यो कुरा नबुझेपछि कस्लाई के भन्नु र ! पुस्तकालय बुझ्नेहरूले हावा खाई सके । कसलाई बुझाउने ? हिंजोका पुस्तकालय र आजका पुस्तकालयमा धर्ती आकाशको अन्तर छ । नेपालको सन्दर्भमा इतिहास बिषय पढ्नु भनेको राजा महाराजा र राणाको गुनगान मात्रै पढ्ने हो भन्ने गलत कुरा सिकाईएको छ । विश्वको इतिहासमा राजा नभएका देश कुनै पनि थिएनन् । हाम्रो देशमा जनतालाई भ्रम छर्न राजाका विरूद्ध बिष बमन गर्दै आफ्नो देशलाई पढ्न पनि रोक्न चाहेको देखिन्छ । र त,इतिहास मेट्न खोजिंदैछ । इतिहासका पुस्तक गाएब हुँदैछन् । नेपालको इतिहासका श्रोत माथी नै घृणा पैदा गराउने काम किन भैरहेका छन् ? यो प्रश्नको जवाफ को संग माग्ने ? निरीह भएर आँफैले आँफैलाई भन्नु पर्ने अवस्था श्रृजना भएको छ । र भन्न मन लाग्छ,इतिहासलाई भुल्नु आफ्नै देशलाई भुल्नु हो । मैले मेरो छोरालाई प्रतिनिधि पात्र मानेर सबै विदेशिएका छोरा सँझन्छु । तिनको ज्ञानमा इतिहास किन दिलाईएन ? किन इतिहासलाई दुत्कार्ने मात्र काम भयो ? ति छोराहरू आफ्नो देशको इतिहास पढ्नबाट किन बञ्चित भए ? म भावुक भएर सोध्दै थिएँ,मेरो ध्यान खुल्यो ।
एकनाशको सँगीतको धूनले म ‘माछा मार्ने गीत’ भित्र पस्दै इतिहास तिर पो हराएछु । कहिलेकाँही मान्छे हेरेको हेरेई निदाउँछ,त्यस्तै भयो मलाई । म झल्यास्स ब्यूझें । गाडीले टोल ( Road Tax ) तिर्नुपर्ने ठाउँमा पुगेपछि बल्ल मेरो ध्यान यात्रामा लगाएँ । हाम्रो आजको यात्रा लगभग सकिन लागेको थियो । नजिकैबाट बोईङ विमानहरूको उडान देख्दा त्यस्तै लाग्थ्यो । फिलाडेल्फिया र पेन्सिलभेनिया भएर हामी यो ठाउँमा आउँदै थियौं । सूर्यास्तको समय नजिक आईरहेको थियो । शहरहरू छुन थालेपछि थाहाहुन्थ्यो हामी राजमार्ग छोडेर भित्र पस्दै छौं । हामीले समयमै पुगेर अग्रिम बुक गरेको मोटेल खोज्नु थियो । नायग्रा फल्स नजिकै हाम्रो मोटेल ‘होलिडे ईन’ थियो । तर उज्यालोमै पुग्न सकेनौं । नेपाल र भारतको जस्तै सीमावर्ती क्षेत्रमा शहर थियो । सरासर गएर गाडी क्यानडाको सीमाभित्र छिर्यो भने समस्या पैदा हुनेरहेछ । अमेरिकनलाई कुनै समस्या नभएपनि विदेशी पर्यटकलाई भने अमेरिकाबाट जाँदा समस्या खडा हुनेरहेछ । झुक्किएर भित्र छिर्यो भने फर्कन के हो के हो हुने रहेछ । त्यसैले सीमामा रहेको मोटेल खोज्दा सतर्कता अपनाउने पर्ने अवस्था आयो । येनकेन हाम्रो मोटेल ( Holiday Inn ) मा पुग्यौं । तर हामी अचम्ममा पर्यौं । वरिपरीको बाताबरण सुनसान थियो । सडकमा गाडीनै देखिएनन् । होटल देखि मोटेल सम्म रात नपर्दै चामचुम्म थिए । यो सबै दृश्य हाम्रो कोठबाट देखिन्थ्यो । केही बुझ्न सकेनौं । केहीबेर कोठामा आराम गरेपछि पुनः खानाको लागि बाहिर निस्क्यौं । बाटो सडकबत्तिले उज्यालो छ । फाट्टफुट्ट मात्रै गाडी गुडेका थिए । मोवाईल सर्च गरेर खोजेको रेष्टुरेण्टमा पुग्दा सुनसान सडक देखेर कताकता डर पो पलायो । एउटा रेष्टुरेण्टमा बफेलो चिकन र भेज बर्गर लिएर कोठामा फर्क्यौं । साथमा ल्याएका कुरा खाँदै यात्रावधिका गफ गर्यौं । जाडो-जाडो थियो,एसी खोल्यौं । भोली बिहान हाम्रो भ्रमणको उद्देश्य पुरागर्ने कल्पनामा हाम्रो बास भएको मोटेल ‘होलीडे ईन’मा शुभरात्री भन्दै ब्लांकेट भित्र समाहित भयौं । क्रमशः …..
Previous Article२०७५ वैशाख ९ गते आईतबारको राशिफल
Next Article कोरिडोरको काम तीव्र गतिमा