बागलुङ, ५ बैशाख– नयाँ शैक्षिक सत्र सुरु भएसँगै जिल्लामा रहेका निजी विद्यालयहरुले बिद्यार्थी भर्नामा चर्को शुल्क असुलेको भन्दै अनेरास्ववियुले जिल्लास्थित सरोकारवालाको ध्यानाकर्षण गराएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियनले निजी विद्यालयले असुलेको शुल्कको विषयमा अनुगमन गरी कार्वाहीको माग गर्दै जिल्ला समन्वय समिती र शिक्षा विकास तथा समन्वय विकास ईकाई बागलुङमा ज्ञापन पत्र बुझाएको हो ।
बिना कारण सरकारले तोकेको भन्दा धेरै शुल्क अुसुलेर निजी बिद्यालयले नयाँ शैक्षिक सत्रको लागि बिद्यार्थी भर्ना गरिरहेकाले त्यसको अनुगमन गर्न ध्यानाकर्षण गराउँदै सरोकारवालालाई ज्ञापन पत्र बुझाईएको अनेरास्ववियुका जिल्ला अध्यक्ष शेखर खड्काले बताए । पुस्तकालय, खेलकुद, क्यान्टिन, भवन लगायतका बहाना बनाएर सरकारले तोकेको मापदण्डभन्दा धेरै शैक्षिक शुल्क असुल्ने गरेको भन्दै खड्काले जिल्लामा रहेका ट्युुसन सेन्टर र मण्टेश्वरी कक्षामा समेत अनुगमन हुनुपर्ने बताए ।
अनेरास्ववियुले बुझाएको ज्ञापन पत्रमा निजी बिद्यालयमा अनुगमन गरी आवश्यकता अनुसारको शुल्क निर्धारण गर्नुपर्ने, सरकारी बिद्यालयमा अध्यापन गराईरहेका शिक्षक शिक्षिकालाई आवश्यक तालिम तथा पुर्वाधारको व्यवस्था, सरकारी राजस्वबाट सेवा सुबिधा लिने सबै शिक्षक कर्मचारी, जनप्रतिनिधिका छोराछोरीलाई सरकारी बिद्यालयमा नै अध्यापन गराईनु पर्ने लगायतका माग रहेका छन् ।
निजी बिद्यालयले गरिबको ढाड सेक्ने गरी शुल्क असुल्दा धनीका छोराछोरी निजी बिद्यालय र गरिवका छोराछोरी सरकारी विद्यालय जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकाले सरोकारवालाको ध्यानााकर्षण गराउनु परेको जिल्ला सचिव शिव शर्माले बताए ।
ज्ञापनपत्र बुझ्दै शिक्षा विकास तथा समन्वय विकास ईकाई बागलुङका प्रमुख गरुप्रसाद पौडेलले सरकारले गर्नुपर्ने अनुगमनको पाटोलाई उजागर गरी सहयोग गरेकोमा बिद्यार्थीलाई धन्यवाद दिँदै जिल्ला समन्वय समिती र जिल्ला प्रशासन कार्यालय सँगको सहकार्यमा सम्बन्धित क्षेत्रलाई जानकारी गराउने बताए ।
देशको पुर्नसंरचना भएसँगै निजी बिद्यालयले लिने शुल्क निर्धारण गर्ने जिम्मेबारी स्थानिय निकायले पाएको भन्दै पौडेलले त्यसको अनुगमन र नियमनमा पनि स्थानिय निकाय चनाखो हुनुपर्नेमा जोड दिए । निजी बिद्यालयले कुनैपनि हालतमा सकारी नियम भन्दा बाहिर गएर शुल्क असुल्न नपाउने भन्दै पौडेलले आँफु कहाँ कुनै पनि अभिभावकको गुनासो नआएको समेत बताए । ज्ञापनपत्र बुझाउन अनेरास्ववियु जिल्ला समिती अध्यक्ष शेखर खड्का र सचिव शिव शर्मा सहितको बिद्यार्थीहरुको टोली समुन्वय समितीहरुको कार्यालयमा पुगेको थियो ।