बागलुङ, ५ बैशाख– बैंक तथा बित्तिय संस्थाहरुले जस्तै यहाँको एक सहकारीले आफ्ना सदस्यको कारोवार मोबाईल सन्देशमार्फत जानकारी गराउने सुबिधा सुरु गरेको छ । प्रगति बहुद्देश्यीय सहकारी संस्था बागलुङले नयाँ बर्षको अवसर पारेर कारोवारको जानकारी मोवाईल फोनमा जाने सुबिधा उपलव्ध गराएको हो । बैशाखको पहिलो सातादेखि नै सुरु भएको सेवाबाट प्रत्येक शेयर सदस्यले गरेको कारोवार जानकारी मोबाईल फोनमा जाने व्यवस्था मिलाईएको सहकारीका अध्यक्ष कृष्णप्रसाद पौडेल (कुमार) ले बताए ।
शेयर सदस्यहरुको सुबिधाको लागि भन्दै सुरु गरिएको सेवाबाट दैनिक कारोवार गर्ने शेयर सदस्यहरुलाई आफ्नो कारोवारको बारेमा जानकारी पाउन सहज हुने पौडेलले जानकारी दिए । नेपाल दुरसञ्चार कम्पनीको प्रबिधिमा मोवाईल फोनको प्रयोग हुने गरी कारोवारको जानकारी प्रबिधिमार्फत सिधै मोवाईलमा जाने व्यवस्था मिलाईएको छ ।
मोवाईलमा प्राप्त हुने सन्देशमार्फत सबै जानकारी हुँदा व्यवसायमा व्यस्त रहेका सदस्यहरुलाई सहकारीको कार्यालय धाउनु पर्ने झण्झट समेत अन्त्य भएको पौडेलले बताए । बिभिन्न आयमुलक कार्यहरु गर्दै आएको सहकारीले शेयर सदस्यहरुको सुझावका आधारमा आफ्ना सेवा सुबिधालाई बिस्तार गर्दै आएको छ । ‘हामीले हेर्ने भनेको सदस्य हरुको सुविधा पहिलो कुरा हो’ अध्यक्ष पौडेलले भने ‘सहकारीको उचित प्रयोग सदस्यहरुले गरुन भनेर आधुनिक प्रबिधिलाई प्रयोगमा ल्याएका हौं ।’ बिज्ञान र प्रबिधिले संसार नयाँ युगमा प्रबेश गरिसक्दा समेत आम नागरिकले त्यसलाई पछ्याएर फाईदा दिन नसकेको पौडेलले बताए ।
Previous Articleभिक्षा निषेध कानुन लागू
Next Article सासु भत्ता व्यवस्थित बनाउन सूचना प्रणाली