स्थानिय तहले जनप्रतिनिधि पाएपछि अहिले गाउँगाउँमा विकास निर्माणको कामले तीव्रता पाउन थालेका छन् । कस्तुरीले आफ्नै सुगन्धको महत्व नबुझे जस्तै गाउँमा आर्थिक स्रोत प्रशस्त रहेपनि त्यसको परिचालन हुन सकेको थिएन । स्थानिय तहले जनप्रतिनिधि पाएपछि उनीहरुले गाउँघरको विकासका लागि रचनात्मक काम गर्न थालेका छन् । आर्थिक उपार्जनको महत्वपुर्ण कडिको रुपमा रहेको पर्यटन क्षेत्र अहिले तंगिन थालेको छ । गाउँठाउँमा भएका पर्यटकीय क्षेत्रको विकासमा ध्यान जान नसक्दा हिजो ओझेलमा परेका पर्यटकीय क्षेत्रमा विकासका पुर्वाधार निर्माण गर्न थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुन थालेको छ । जसले आर्थिक समृद्विको आधार तय गर्न महत्वपूर्ण भूमिका खेल्ने संकेत देखिन थालेको छ । बागलुङ जिल्लामा नेपालकै एक मात्र ढोरपाटन शिकार आरक्ष भएपनि त्यससम्म पुग्नको लागि सहज यातायातको व्यवस्था नहुँदा त्यहाँ पुग्न निकै कठिनाई हुने गरेको थियो । अहिले रोजीछाडी सुविधायुक्त सवारीमा ढोरपाटन पुग्ने अवस्था आएको छ । ढोरपाटन क्षेत्रको जति प्रचार प्रसार हुनु पर्ने हो त्यति मात्रामा नहुँदा त्यहाँ पुग्ने पर्यटकको संख्या न्युन रहेको छ ।
जनप्रतिनिधिको पहलमा अहिले गलकोटमा रहेको मनोरम झरनामा साहसिक खेल क्यानोनिङको शुरुवात भएको छ । पर्यटकहरु धुमधामको घुमघाम र साहसिक खेलमा रमाउन चाहने भएको हुँदा जिल्लामा रहेको मनोरम झरनामा यस्ता खेलको विकास गर्न सकिन्छ । छिमेकी जिल्ला पर्यटकीय क्षेत्र अहिले बसन्त ऋतुको आँगमनसंगै आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ भएका छन् । म्याग्दीमा जस्तै बागलुङमा पनि प्रशस्त पर्यटकीय संभावना बोकेका क्षेत्र छन् । त्यहाँ पुर्वाधारको विकास गर्न सके पर्यटकलाई भित्राउन सकिनेमा कुनै दुई मत छैन । आज थाईल्याण्ड विश्वमा नै धेरै पर्यटक भित्राउने देशको सूचीमा सूचीकृत भएको छ । हामीले पनि हाम्रा प्राकृतिक सुन्दरमार्फत देशको अर्थतन्त्रलाई दिगो बनाउन सकिन्छ । त्यसतर्फ अब सबैको ध्यान जान जरुरी रहेको छ । जिल्लको प्रमुख पर्यटकीय गन्तव्य ढोरपाटनमा धेरै पर्यटकलाई भित्राउन सकिन्छ । त्यसको लागि सबैभन्दा पहिले सो क्षेत्रका पुर्वाधार निर्माण गर्नुपर्छ ।
केही साताअघि मात्रै गलकोटको ऐतिहासिक ठाउँ निलुवा लेकमा मह शिकार महोत्सवको आयोजना गरियो भने गुराँसको पहाड घुम्टे लेकमा गुराँस महोत्सव सम्पन्न भएको छ । केही स्थानिय संघ संस्थाको पहलमा पर्यटकीय क्षेत्रको विकास गर्न गरिने मेला र महोत्सव सफल पार्नको लागि स्थानिय तहले अब हातेमालो गर्न जरुरी छ । पर्यटकीय क्षेत्रको बारेमा कुरा मात्रै गरेर हुँदैन अब तिनको प्रचार–प्रसारमा स्थानिय सरकार पनि अग्रसर हुन जरुरी छ । पर्यटनकै कारण विश्वका कतिपय देशको अर्थतन्त्र मजबुद बनेका छन् । त्यस्ता उदाहरणको अब हामीले पनि सिको गर्न जरुरी छ । देश समृद्विको बाटोमा अग्रसर भएको छ । देशले स्थायी सरकार पनि पाएको छ । सधै अस्थायी सरकारको कुरा गर्ने हाम्रो नेताहरुले अब पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्छ । पर्यटनले देशमा समृद्वि ल्याउनेमा दुई मत छैन ।
Previous Articleकुश्मा बजारमा घरेलु मदिरा नष्ट
Next Article २०७५ वैशाख ४ गते मंगलबारको राशिफल