म्याग्दी ४ बैशाख– जिल्लामा क्रियाशिल रहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अक्षयकोष स्थापना गर्ने अभियानमा जापानमा रहेका म्याग्देलीहरुले रु ५ लाख बढी सहयोग गरेका छन् । जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानद्धारा संकलित नगद रु ५ लाख १३ हजार ४०० सहयोग सोमबार बेनीमा हस्तान्तरण गरिएको हो । गरिब तथा विपन्न परिवारका विरामीहरुको उपचारमा सहयोग गर्ने उदेश्यले कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषको लागि मोना जापानद्धारा संकलन गरिएको उक्त रकम कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा मोना अन्र्तराष्ट्रियका कोषाध्यक्ष राम बहादुर खड्का, मोना जापानका उपाध्यक्ष इन्दीरा गर्वुजा, सल्लाहकार यामबहादुर खड्का लगायतले उक्त सहयोग हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण गर्दै मोनाका कोषाध्यक्ष र मोना जापानका सल्लाहकार खड्काद्धय तथा म्याग्दी सम्पर्क चौतारी पोखराका अध्यक्ष प्रेमसंकर बरुवालले आर्थिक रुपमा विपन्न परिवारका विरामीको उपचारमा कोषले गर्दै आएको सहयोग र समन्वय प्रशंसनीय रहेको बताए ।
हालै कोषका अध्यक्ष शाक्यको जापान भ्रमणको क्रममा मोना जापान र क्षेत्रीय समिती नागोयाको पहलमा त्यहाँ संकलन भएको रु १२ लाख बोल रकममध्ये नगद संकलन भएको रकमलाई मोना जापानले कोषलाई उपलब्ध गराएको हो । सहयोग रकम बुझ्दै कोषका अध्यक्ष शाक्यले प्रवासमा रहेका म्याग्देलीहरुले गरेको सहयोगले कोषको अक्षयकोष बनाउने अभियानमा ठुलो सहयोग मिलेको बताउँदै सहयोगदाताहरुलाई आगामी दिनमा पनि रचनात्मक सहयोग गर्न आग्रह गर्दै धन्यबाद ज्ञापन गरेका थिए ।
Previous Article४ बैशाख २०७४, धौलागिरी स्टार साप्ताहिक
Next Article ४ वैशाख २०७५, ढोरपाटन दैनिक