हामीले २०७४ साललाई बिदाई गरेर २०७५ सालमा प्रवेश गरिसकेका छौं । लामो संक्रमणकाल पछि संविधान बनेर तीन तहका निर्वाचन सम्पन्न भएको बर्षलाई बिदाई गरिसकेपछि हामीसँग थप आशा र उमंग पलाएका छन् । अव यो नयाँ बर्षलाई हामीले आर्थिक समृद्धिको बर्ष बनाउने भन्नेमा आम नेपाली सहमत भैसकेका छन् । हाम्रा हरेक काम आर्थिक उपलब्धी र देशको समृद्धिमा केन्द्रीत हुनुपर्छ । लामो सशष्त्र द्वण्द्व, संक्रमणकालले बढाएको बेरोजगारी, ध्वस्त भएका संरचनाबाट हामी धेरै पछाडि परिसकेका छौं । तर नेपाली जनतामा नयाँ चेतनाको बिकास भएको छ । बिकास, समृद्धि, राजनीतिक उचाई बारे नेपाली जनता अव पूर्ण रुपमा जानकार भैसकेका छन् । राज्यले काम गरेको नगरेको मूल्यांकन अव हरेक नागरिकले गर्न सक्ने भएका छन् ।
त्यसैले जनतालाई झुक्याउने कुनैपनि बाहना काम लाग्नेछैन । बरु रोगजारीका अवसरहरु खोजी गर्ने, आम्दानीका श्रोत बढाउने र पर्यटकीय गन्तव्यहरु बढाएर धेरैभन्दा धेरै पर्यटक भित्राउने काम अहिलेको आवस्यकता हो । प्रधानमन्त्रीले पनि नयाँ बर्षको पहिलो दिन रारा तालमा गएर नेपाललाई अव आर्थिक समृद्धिको बर्ष बनाउने उद्घोष गरिसकेका छन् । यो उद्घोषले राजनीतिक रुपमा मात्र अर्थ नराखी आम नेपाली, आम व्यवसायी, सबै राजनीतिक दललाई पनि नेपालको समृद्धिको पहिलो आधार पर्यटन नै हो भन्ने सिद्ध गरेको छ । नेपालका हरेक गाउँ, हरेक डाँडाकाँडाहरु पर्यटक भित्राउन सकिने संभावना बोकेका ठाउँ हुन् । छिमेकी भारतका लाखौं मानिस हिन्दु धर्म मान्छन् र नेपालका मुक्तिनाथ, पशुपतिनाथ लगायत स्थान घुम्न रुचाउँछन् । चीनका लाखौं मानिस बौद्ध धर्म मान्छन् र उनीहरु नेपालको लुम्बिनी, स्वयंभू जस्ता स्थान घुम्न रुचाउँछन् । त्यसैले तेस्रो मुलुकका गोरो छाला भएका मानिस खोज्नु भन्दा छिमेकीलाई नेपालमा बढी भन्दा बढी भित्राउनुनै उत्तम हुनेछ । पर्यटन प्रवद्र्धननै नेपालको आर्थिक विकासको मेरुदण्ड हो भन्ने हामीले प्रमाणित गरेर देखाउनु पर्नेछ ।
पर्यटन पछि नेपालको समृद्धि कृषिमै छ । किनकी हरेक बर्ष लाखौं पर्यटक भित्राउन हामीले कृषि पसल र तरकारी उत्पादन गर्नुपर्छ । नेपालको अझै पनि व्यपार घाटा खाद्यान्न र तरकारीजन्य बस्तुमै बढी छ । त्यसो त पेट्रोलियम पदार्थमा पनि हामीले धेरै खर्च गरेका छौं । तर पेट्रोल नेपालमा उत्पादन हुँदैन । तर कृषिका लागि उर्भर जमिन छ, सिंचाई छ र पनि जागर उमार्न सकेका छैनौं । अव जवरजस्त जागर बढाउनै पर्छ । नत्र हामी आर्थिक समृद्धिको बाटोमा हिड्न सक्दैनौं । नेपालले खर्च गर्ने खर्बौ रुपैयाँलाई बचाएर स्वदेशी उत्पादनबाटै बाँच्ने अवसर बनाउने बित्तिकै हामीले समृद्धिको बाटो शुरु गर्नेछौं । नेपालमा बगेर गएको पानीलाई सिंचाई र उर्जामा परिणत गर्नु अर्को समृद्धिको बाटो हो । त्यसका लागि लगानी चाहिन्छ, त्यो लगानीको अवसर मिलाईदिने च्स्हो भने बिदेशीको मुख ताक्नुपर्दैन । नेपालीहरुलेनै खर्वौ रुपैयाँ लगानी गरेर जलविद्युत उत्पादन गर्न सक्छन् । सरकारले यीनै तीन वटा बिषयमा वातावरण बनाउने र सुशासनको काम गरेमा नेपालले यो बर्षबाट समृद्धिको बाटोमा हिड्न कुनै कठिनाई हुनेछैन । अव ध्वंस, अनियमितता र कुशासन छाडेर शुसासन र निर्माणको बाटोमा हामी हिड्नै पर्छ । नत्र नेपाली माटोले हामीलाई कहिले पनि अवसर दिनेछैन । जसको कारण हामी नेपाली भनेर चिनिन नसक्ने तथा गरिवीको खाडलबाट माथि उठ्न नसक्ने अवस्थामा पुग्छौं । त्यसैले लार्गौ, अगाडि बढौं र समृद्धिको बाटोमा नेपाललाई हिडाऔं ।