बागलुङ, ३० चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले ढोरपाटन शिकार आरक्षको अनुगमन भ्रमण गरेका छन् । शुक्रवार बिहान ११ बजे प्रधानमन्त्री ओली रक्षा मन्त्री ईश्वर पोखरेल र पर्यटन मन्त्री रबिन्द्र अधिकारीलाई समेत साथ लिएर उनी ढोरपाटन आइपुगेका हुन् । ओलीले ढोरपाटन शिकार आरक्षमा भइरहेको काम, शिकारको अवस्था तथा सुरक्षा बारेमा चासो राखेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
ढोरपाटनलाई पर्यटकीय क्षेत्रको बिकास गर्न सकिने, शिकारलाई व्यवस्थित बनाएर राजश्व प्रशस्त उठाउन सकिनेलगायतको बिषयमा प्रधानमन्त्रीले चासो राखेका थिए । रारा पर्यटन महोत्सवको उद्घाटनका लागि जान लागेका ओलीले ढोरपाटनको संक्षिप्त भ्रमण गरेका हुन् । ओलीले आरक्षस्थित कार्यालयमै खाना खाएका थिए । आरक्षको चोरी शिकारी नियन्त्रणका लागि दुई बर्षदेखि सेनासमेत राखिएको छ । ओलीले आरक्षको सुरक्षा अवस्था बारेमा पनि चासो राखेका थिए ।
नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा अहिले शिकारको सिजन शुरु भएको छ । हरेक बर्ष दुई सिजन शिकारका लागि खुला गरिन्छ । यो बर्ष २० नाउर र ११ झारलका लागि शिकार खुला थियो ।
दोश्रो सिजनमा १० नाउर र ६ वटा झारल शिकार गर्नका लागि ४ वटा कम्पनीका ११ जना बिदेशी शिकारीहरु ढोरपाटन आएका छन् । राष्ट्रिय प्रकृति तथा बन्यजन्तु संरक्षण बिभागमा राजश्व तिरेपछि शिकारीले शिकारको अनुमति पाउँछन् । हाल ढोरपाटनमा २ हजार २ सय २ वटा नाउर र ३ सय ८८ वटा झारल भएको अनुमान छ । आरक्ष बागलुङ, म्याग्दी र पूर्वी रुकुममा फैलिएको छ ।
ढोरपाटनमा प्रधानमन्त्री ओली, राजस्व बृद्धिबारे चासो
Previous Article३० चैत २०७४, ढोरपाटन दैनिक
Next Article जैमिनी ६ अर्जेवामा त्रिशुल प्रहारबाट ६ घाईते