काठमाडौँ, २३ चैत – १२ वैशाख ०७२ मा गएको भूकम्पलगत्तै भारतले पुनर्निर्माणका लागि २६ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर, नेपालले हालसम्म एक रुपैयाँ पनि पाएको छैन । भारतले काभ्रेको पनौतीमा बन्ने भनिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) निर्माणका लागि करिब २२ अर्ब ९२ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।
नेपाल सरकारले प्रतिष्ठानका लागि आवश्यक ४२ दशमलव २ हेक्टर जग्गा अधिग्रहणसमेत गरिसकेको छ । तर, सहयोग घोषणा भएको लामो समय बितिसक्दासमेत भारतले कुनै पनि रकम उपलब्ध गराएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १० मंसिर ०७१ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका वेला प्रहरी एकेडेमी निर्माणसम्बन्धी परियोजना सम्झौतामा हस्ताक्षर भएको थियो । तर, लामो समय बितिसक्दासमेत प्रतिष्ठान निर्माण अगाडि बढ्न सकेको छैन । तत्कालीन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा समेत प्रतिष्ठान बनाउने विषय उठेको थियो ।
आर्थिक वर्ष ०७२/७३ मा तराई क्षेत्रको सडक स्तरोन्नतिका लागि ७ अर्ब ५९ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने वचनबद्धता भारतले जनाएको थियो । तर, उक्त परियोजनाअन्तर्गतको रकमसमेत अहिलेसम्म दिएको छैन ।
भारतभन्दा पछि प्रतिबद्धता जनाएको चीन सरकारले भने सम्झौताको दुई वर्षमै सशस्त्र प्रहरी बललाई अत्याधुनिक एकेडेमी बनाएर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । ११ पुस ०७२ मा उद्घाटन गरिएको एकेडेमी गत १६ असारमा हस्तान्तरण गरिएको थियो । काठमाडौंको मातातीर्थमा करिब तीन सय १८ रोपनी क्षेत्रफलमा रहको एकेडेमी निर्माणमा ३ अर्ब ६० करोड रुपैयाँ खर्च भएको थियो।
नयाँ पत्रिका
Previous Articleप्रधानमन्त्रीको भ्रमण: कार्यान्वयन होलान् त पुराना सन्धि !
Next Article भयावह अर्थतन्त्र र समृद्धिको सपना