बागलुङ, २० चैत–पर्यटकीय रुपमा लामो समयदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा परिचित भएर पनि विकासका दृष्टिले ढोरपाटन र आसपासका क्षेत्र ओझेलमा परिरहेको सोमबार बुर्तिवाङमा आयोजित एक अन्तरक्रियामा जोड दिइएको छ । नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजनामा बुर्तिवाङमा भएको अन्तरक्रियामा शिकार आरक्षका रुपमा लामो समयदेखि परिचित यस क्षेत्रको विकास अपेक्षित रुपमा अघि बढन नसकेको वक्ताहरुले जोड दिएका हुन् । ढोरपाटन यस क्षेत्रको मात्र नभएर समग्र प्रदेश नं ४ र राष्ट्रकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास हुने सम्भावनायुक्त स्थल भएको प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले बताए ।
“सम्भावना भएर पनि ढोरपाटन र आसपासको अपेक्षित विकास हुन सकेको छैन,” उनले भने, “यहाँको विकासका लागि अधिकार सम्पन्न ढोरपाटन विकास समिति बनाउनु अपरिहार्य छ ।” विकास समितिमार्फत एक वर्षमा गुरुयोजना बनाएर अघि बढ्न सकियो भने यसले विकासमा फड्को मार्ने देखिन्छ । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सन्तोष पोखरेलले पोखरा र ढोरपाटनलाई पर्यटकीय रुपमा एकापसमा जोड्न सकिने बताउँदै यस क्षेत्रको विकासले समग्र प्रदेश नं ४ को पर्यटनमा टेवा पुग्ने धारणा राखे । ढोरपाटन र आसपासका क्षेत्रलाई पोखराको पर्यटनसँग जोड्ने उद्देश्यका साथ अवलोकन भ्रमण आयोजना गरिएको उनले बताए । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले ऐतिहासिक ढोरपाटनमा कसरी अधिकतम पर्यटक पठाउन सकिन्छ भन्नेतर्फ सरोकारवाला सबैको ध्यान पुग्नु आवश्यक भएकामा जोड दिए । उनले पोखरासँग ढोरपाटनबीच पर्यटकीय साझेदारीको खाँचो औँल्याउँदै सञ्चालनमा आउन नसकेको ढोरपाटन विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने उल्लेख गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले सन् १९८७ देखि सञ्चालनमा आएको नेपालको एकमात्र ढोरपाटन शिकार आरक्ष र आसपासको क्षेत्र अझै पनि पर्यटकीय रुपमा अपेक्षित विकास हुन नसकेको अवस्थामा सरोकारवाला सबैको ध्यान पुग्न सके यस क्षेत्रको आर्थिक विकासमा महत्वपुर्ण योगदान हुने बताए । –रासस
Previous Article२० चैत २०७४, धौलागिरी स्टार साप्ताहिक
Next Article शिकारमा रमाउँदै विदेशी