पर्वत, १८ चैत– पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाई बर्षिया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भीरबाट लडेर मृत्यु भएका ‘अपहरणकारी’ को पहिचान खुलेको छ । बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानियबासीले देखेपछि भाग्ने क्रममा भीरबाट खस्दा मृत्यु हुनेमा बागलुङ्ग नगरपालिका वडा नं १ रामरेखाका ३६ बर्षिय भुपेन्द्र रुचाल रहेको प्रहरीले जनाएको छ ।
कुश्मा नगरपालिका ४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे २ बर्षिय छोरी सुवानी परियारलाई नजिकै खोल्सामा मुख थुनेर राखेको र बच्चा रोइरहेको स्थानिय चिरञ्जीबी केसीले देखेका थिए । केसीले सोधखोज गर्न थालेपछि मृतक रुचालन भाग्न खोज्दा भीरबाट खसेका थिए ।
बालिका छाडेर भाग्ने क्रममा भीरबाट खसेका ती युवा भीरबाट २ सय मिटर तल पुगेका थिए प्रहरीले जनाएको छ । उनको भीरबाट उद्दार गरि पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पर्वतका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । भीर र वरपर खोजी गर्दा करिव १ घण्टा पछि चाक्लेडिल भीरको करिव २ सय मिटर तल रुचाल फेला परेका थिए । मृतकको सव पोष्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।