बागलुङ, १६ चैत –जिल्लाको काठेखोला गाउँपालिका २ भिमापोखरामा रहेको एक गाई फर्ममा शुक्रबार बिहान आगलागी भएको छ । बागलुङ पशु श्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको फार्ममा आगलागी भएको हो ।आगलागीबाट ७५ लाख बराबरको सम्पत्ती क्षती भएको सहकारीले जनाएको छ ।
बिहान ३ बजेको समयमा अचानक भएको आगलागीबाट गाई गोठ र गोठमा रहेका महत्वपूर्ण उपकरणहरु जलेर नष्ट भएको संस्थाका उपाध्यक्ष दिपक गौतमले जानकारी दिए । १ सय २५ वटा गाई रहेको फार्ममा आगलागी हुदाँ १० वटा गाई घाइते भएका छन् । गोठमा रहेको मिल्किङ मेसिन, कटिङ मेसिन, क्यानहरु, वर्षाको समयका लागि संकलन गरिएको घाँस लगायत जलेर नष्ट भएको गौतमले जानकारी दिए ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । करिब ९० रोपनी जग्गामा ४ करोडको लागतमा सञ्चालित फार्ममा १ सय २५ वटा गाई रहेका छन् । दैनिक १ हजार लिटर दुध विक्री गर्दै आइरहेको संस्थाले ८ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको छ ।
Previous Articleटेलिकमको ‘नमस्ते क्रेडिट’ शुरु
Next Article स्वर्गीय नेता खुमबहादुर खड्काको लोकप्रियता !