बागलुङ, १६ चैत– तारा एअरलाईन्सले परीक्षण र नियमित उडान भरेपछि नेपाल एअरलाईन्सले पनि बिहिबार बलेवामा पहिलो उडान भरेको छ । चालक दलका सदस्य सहित १८ जना यात्री नेपाल एअरलाईन्सको जहाजबाट बलेवामा अवतरण गरेका थिए । लामो समयदेखि अवरुद्ध बिमानस्थल संचालन गर्ने बागलुङ नगरपालिका र नागरिक उड्ययन प्राधिकरणको सहमतिपछि बिमान संचालनमा आएको हो । यसअघि भएको परीक्षण उडानमा नेपाल एअरलाईन्स आएको थिएन ।
बिहिबारदेखि मात्र उसले उडान भरेको हो । धेरै स्थानमा व्यस्तता हुनु परेकोले आफ्नो उडान ढिला भएको क्याप्टेन पेम्बा शेर्पाले बताए । शेर्पाले जहाज अवतरणपछि मैदान घुमेर आवस्यक सुझाव समेत दिएका छन् । उनले बिमानस्थलमा भएका ससाना खाल्डा पुर्न र मुसाले बनाएका प्वालहरु टाल्न सुझाव दिए । बिमानस्थलको प्रशासनिक, सुरक्षा लगायतका कामले समेत गति नलिएको यात्रीहरुको पनि गुनासो छ । आएका यात्रीलाई राख्ने, लगेजको सुरक्षा लगायतको काममा चासो दिनुपर्ने उनीहरुले सुझाव पनि दिए । साथै यात्रीहरुले जहाज कुन दिन आउने हो, टिकट पाउने स्थान कता हो भन्ने अन्यौल भएको समेत बताएका छन् ।
संचारमाध्यम मार्फत नगरपालिकाले जहाज आउने जाने समय र टिकट पाउने स्थानबारे जानकारी दिएमा धेरै यात्री बढ्ने उनीहरुको सुझाव छ । हाल काठमाण्डौदेखि बलेवा आउनका लागि यात्री प्रसस्त भएपनि बलेवाबाट काठमाण्डौका लागि यात्री संख्या पुगेको छैन । अपुग भएको सिट भार नगरपालिकाले व्यहोर्ने सहमति भएको छ ।
यस्तो सहमतिले यात्री नपुग हुने र नगरपालिकाको श्रोत बढी खर्च हुने अधिकांसको गुनासो छ । क्याप्टेन शेर्पाले दिएको सुझावमा स्थानीय प्रहरीले पनि सहमति जनाएको छ । बिमानस्थल वरपर कांडेतार लगाइएको छ । उक्त कांडेतारले मानिस छिर्न नसकेपनि पशुबस्तुहरु छिर्ने गरेका छन् । विशेषगरी कुकुर र जंगली जनावर छिर्ने, ढुंगा, थोत्रा चप्पल र जुत्ता फाल्ने प्रवृत्तिले समेत दुर्घटना निम्तने खतरा शेर्पाले औल्याए । साथै मुसाले खोलेका प्वालको नियमित अनुगमन गर्नुपर्ने उनले सुझाव दिए । ‘हामी ६५ केजीका मानिसले टेक्दा केही भएन भनेर छाड्न हुँदैन’ शेर्पाले भने, ‘जहाज सानो खाडलमा अड्कीयो भने दुर्घटना समेत हुन सक्छ ।’ शेर्पाले तारवार प्रभावकारी र नियमित धावनमार्ग अनुगमन गरिदिन आग्रह गरेका थिए ।
Previous Articleसुखौराको भित्रीवनमा खानेपानीको समस्या
Next Article १६ चैत २०७४, ढोरपाटन दैनिक